२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

मुस्लिम समुदायमा छोरीहरू ५ कक्षामाथि पढ्नै मुस्किल

मुस्लिम समुदायमा छोरीहरू ५ कक्षामाथि पढ्नै मुस्किल
अ अ+ अ-

टीकापुर । कैलालीमा मुस्लिम समुदायका छोरीहरुले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ । छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा बाधा पुगेको छ । जानकी गाउँपालिका–५ पथरैयामा मुस्लिम समुदायको बसोबास छ । पथरैयामा मुस्लिम समुदाय विगत ८० वर्षदेखि बसिरहेका छन् । बस्तीकै बीचमा विसं २०४८ मा स्थापना भएको बाल विद्या मन्दिर आधारभूत विद्यालय छ तर त्यो बस्तीबाट मुस्लिम समुदायकी बालिका शकिना खातुन जागाले मात्रै कक्षा ७ उत्तीर्ण गर्नुभएको छ ।

शकिनाको विवाह भइसकेको छ । आँगनकै विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने भए पनि यहाँका मुस्लिम बालिका भने ५ कक्षाभन्दा माथि पार गर्न सकेका छैनन् । किशोरावस्था प्रवेश गरेकी छोरीलाई विद्यालय पोशाक लगाउन परिवारको स्वीकृतिको अभाव हुने तथा बालविवाह गरिदिने कारणले ५ कक्षासम्म पढेका छोरीहरुले शिक्षालाई निरन्तरता दिन नसकेको बताएका छन् ।

समुदायले छोरीका लागि शिक्षा अनिवार्य नठानेकै कारण छोरीहरुले आँगनमै भएको विद्यालयमा समेत पढाइ पूरा नगरेको स्थानीयवासीको भनाइ छ । सानै उमेरमा बालविवाह गरेकी कुरेसा खातुनले शिक्षा आर्जन गर्ने इच्छा भएर पनि पूरा गर्न पाउनुभएन । बालविवाह गरेकी कुरेसालाई हाल शारीरिक समस्या छ । “मैले सानै उमेरमा विवाह गरेका कारण शारिरीक र मानसिक समस्या भोग्नुपर्यो”, कुरेसाले भन्नुभयो, “मैलेजस्तै आफ्ना छोरीले पनि यस्तो समस्या भोग्न नपरोस् भनी सम्झाउने गरेकी छु । यहाँ गरिबीका कारण छोरी पढाउनुभन्दा छिट्टै विवाह गरिदिने चलन छ ।”

घरायसी कामको बोझका कारण कक्षा ५ पढ्दापढ्दै विद्यालय छाडेकी जेहरा वालुम आजभोलि विद्यालय छाडेकामा पछुतो मान्नुहुन्छ । उहाँलाई पढ्ने इच्छा हुँदाहुँदै पनि अभिभावकको विरुद्धमा जान सक्नुभएन । “हाम्रो समाजमा छोरी ठूली भए विद्यालय पोशाक सर्ट, स्कट र पाइन्ट लगाउन अप्ठ्यारो मान्ने चलन छ । त्यसैले पनि छोरीलाई अलि ठूली भए घरकै काम सिकाउने गरिन्छ”, जेहरा भन्नुहुन्छ, “हाम्रो चलनका कारण मजस्ता धेरै छोरीको शिक्षा पूरा हुन सक्दैन । चाहना भएका, पढाइमा अब्बल छोरी पनि घरमै थन्किन बाध्य छन् ।”

शिक्षक मोहम्मद नवी जागाले मुस्लिम समुदायका मान्यताका कारण छोरीको शिक्षामा बाधा पुगिरहेको बताउनुभयो । “छोरीले छोटा लुगा लगाउन हुँदैन, विद्यालयको पोशाक छोटो पहिरन हुन्छ, छोरीले त्यो पहिरन लगाउनका लागि अनुमति पाउँदैनन्”, उहाँले भन्नुभयो, “बन्द वातावरणमा राखिएका छोरीहरुसमेत खुल्न सकेका छैनन् । उनीहरु लजालु स्वभावका छन् । उनीहरु आफ्नै विवेक प्रयोग गरेर विद्यालयलाई निरन्तरता दिन सकिरहेका छैनन् ।”

सामाजिक अगुवा साहिदअली जागा अशिक्षा र अभिभावकको कमजोरीका कारण छोरीहरुले पढाइ छाड्ने गरेको बताउनुभयो । “शिक्षामा छोरीको पहुँच बढाउन र बालविवाह रोक्न अभिभावक जिम्मेवार बनेको देखिँदैन”, उहाँले भन्नुभयो, “निगरानी गर्न र अनिवार्य छोरी पढाउनुपर्छ भन्ने खालको नीति ल्याउन जरुरी छ । जसरी सरकारले बालविवाह गर्नेलाई कारवाही गर्ने कानून ल्याएको छ, त्यसैगरी छोरी नपढाउने अभिभावकलाई पनि कारवाही गर्ने कानूनी व्यवस्था हुनुपर्छ ।”

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले चलनका नाममा छोरीलाई शिक्षा आर्जन गर्नबाट वञ्चित गराइनु गलत भएको बताउनुभयो । “पहिरन र चलनका नाममा छोरीमाथि भइरहेको लैङ्गिक विभेदले बालविवाहलाई प्रश्रय दिएको छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “हामी छोरीको शिक्षामा गम्भीर छौँ, हामीले विद्यालय भर्ना कार्यक्रम, घरदैलो कार्यक्रमजस्ता काम गर्ने गरेका छौँ । यसरी पढाइ छाडेका छोरीको शिक्षामा सघाउन पालिकाले विशेष कार्यक्रम ल्याउनेछ ।”

गाउँपालिका अध्यक्ष चौधरीले पालिकाले विद्यालयमा आकर्षण बढाउन समुदायको मागअनुसार पोशाक वितरण, पाठ्यपुस्तक वितरणलगायतका कार्यक्रम सञ्चालन गरेर पनि विद्यार्थीलाई प्रोत्साहन गरिरहेकाले अभिभावकलाई छोरीको शिक्षाप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो ।