२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

खोरमा हुर्किँदै गरेकी १५ महिने पुष्पा

खोरमा हुर्किँदै गरेकी १५ महिने पुष्पा
अ अ+ अ-

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रबाट उद्धार गरेर ल्याइएको ‘पुष्पा’ मानिसको अभिभावकत्वमा हुर्किँदै आएकी छिन् । पुष्पालाई साढे १४ महिनाअघि चितवन राष्ट्रिय निकुञ्जमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को तमासपुर क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो ।

माउसँग बिछोडिएकी दुर्लभ एकसिङ्गे गैँडाको बच्चा (केटी) पुष्पालाई गत वर्षको माघ ३ गते उद्धार गरिँदा उनी जम्मा १२ दिनकी थिइन् । चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)लगायतको टोलीले उनलाई तमासपुर क्षेत्रको दलदलबाट उद्धार गरेको थियो । दलदलबाट उद्धार गरेर माउसँग भेट हुने आशमा पुष्पालाई दुई दिन सोही ठाउँको सुरक्षित स्थानमा राखिएको भए पनि माउ लिन नआएपछि पुष्पालाई माघ ५ गते सौराहा लिएर आइयो ।

पुस महिनामा जन्मिएकी र केटी भएकाले उनको नाम पुष्पा राखिएको हेरचाहमा खटिएका राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक लालबहादुर महताराले बताउनुभयो । “उद्धार गर्दा १२ दिनकी पुष्पा अहिले करिब १५ महिनाको पुगेकी छिन्”, महताराले भन्नुभयो, “शुरुदेखि नै मैलेमात्रै हेरचाह गरेको भएर होला अरुसँग खेल्न र चर्न जान मान्दिनन् ।” उद्धार गर्ने बेलामा पुष्पाको टाउको मात्रै बाहिर निस्किएको थियो भने बाँकी शरीर पूरै दलदलभित्रै फसेको महताराको भनाइ छ ।

पुष्पाको प्राकृतिक घर चितवन राष्ट्रिय निकुञ्ज भए पनि उनी अहिले घरपालुवाजस्तै भएकी छिन् । पन्ध्र महिने चञ्चले पुष्पा अहिले एनटिएनसीको परिसरभित्रै खेल्ने तथा वरिपरि उम्रिएका हरिया घाँसपात खाएर आफ्नो पेट भर्ने गर्छिन् । “यहाँ वरिपरि चरेको आहारले मात्रै पुष्पाको पेट भरिँदैन”, महताराले भन्नुभयो, “पुष्पालाई दैनिकरूपमा अलिपर लगेर चराउने गरेको छु, यसका साथै उनलाई एक किलो कुँडो तथा अन्य खाना पनि पकाएर खुवाउने गरेको छु ।”

खोरमा रात बिताउने पुष्पा बिहानै खोरबाट बाहिर निस्किएर चर्न थाल्छिन् । “केही बेर चरेपछि उनलाई पानी खुवाउन तथा एकछिन हिँडडुल गराउन बिहान ११ बजेतिर नजिकैको ढुङ्ग्रेखोलामा लिएर जान्छु”, महताराले भन्नुभयो, “ढुङ्ग्रेखोलामा पानी खाएर त्यहाँ वरिपरि चरेपछि दिउँसो ३ बजेतिर फेरि एनटिएनसीमा लिएर आउँछु ।” पुष्पालाई शुरुआती अवस्थामा दूध, सक्खर खुवाउनुपरेको भए पनि अहिले कुँडो र बन्दाजस्ता आहार खुवाउने गरिएको महताराको भनाइ छ ।
 
“पुष्पाले घाँस खान शुरु गर्नु अगाडिसम्म उनलाई दैनिक २० लिटरसम्म दूध खुवाउने गरिन्थ्यो”, महताराले भन्नुभयो, “सात महिनाको हुँदासम्म दूधका साथै पौष्टिकतत्व ल्याक्टोजिन खुवाएर पालिएको हो ।” पुष्पाको खानपानका लागि अहिले दैनिक रु ७०० खर्च हुने महताराले बताउनुभयो । उनको हेरचाह र पालनपोषणमा अहिलेसम्म रु तीन लाख ५० हजार खर्च भइसकेको उहाँ बताउनुहुन्छ ।

पुष्पालाई केही महिना पहिलो जङ्गल लगेर छाड्ने कुरा उठेको भए पनि अझै एक वर्ष एनटिएनसीमै राखिने भएको छ । पुष्पाले आफूलाई हिङ्स्रक जनावरबाट बचाउन सक्ने भएपछि मात्रै उनलाई प्राकृतिक बासस्थानमा लगेर छाड्ने तयारी भएको महताराले जानकारी दिनुभयो । “पुष्पाको खाग उम्रिएको छैन, त्यसैले उनले आफूलाई अरुको आक्रमणबाट जोगाउन सक्दिनन्”, महताराले भन्नुभयो, “पुष्पाले आफूलाई आक्रमणबाट जोगाउन सक्ने भएपछि मात्रै निकुञ्जमा लगेर छाड्ने कुरा भएको छ ।” 

पुष्पा एनटिएनसीको परिसरमै मान्छेहरुसँग घुलमिल भएर बस्न रुचाउँछिन् । पुष्पाकै कारण यहाँको रौनकसमेत बढेको छ । मान्छेहरु टाँसिएर सेल्फी खिच्दा पनि पुष्पाले केही गर्दिनन् । झर्को लागेको बेला भने रिसाएर मान्छेलाई धकेल्ने गरेको महताराले बताउनुभयो । 

पछिल्लो समय पुष्पासँग सेल्फी खिच्न मान्छे आउने गरेको भन्दै महताराले जनावरलाई माया गर्नुपर्ने भए पनि उनीहरुसँग सेल्फी खिच्ने, जिस्काउनेजस्ता काम गर्न नहुने बताउनुहुन्छ । पुष्पा बढ्दै गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसर साँघुरो बन्न थालेको छ । “पुष्पालाई अहिलेको अवस्थामा दौडन, खेल्न र चर्न करिब एक किलोमिटरभन्दा बढीको वृत्ताकार क्षेत्रफल आवश्यक पर्छ”,  महताराले भन्नुभयो, “अहिले यहाँ ३०० मिटरको वृत्ताकार क्षेत्रमात्र छ ।” 

“बच्चाकै उमेरको भएकाले मानिससँग खेल्न खोज्ने पुष्पाको बानी छ, उनी अलि चकचके हुनुका साथै मेरो पछिपछि दौडिन्छिन्”, महताराले भन्नुभयो, “खानेकुरा पनि मैले दिए मात्र खाने बानी परेको छ ।” सामान्य अवस्थामा कुनै पनि जीवजन्तुले मान्छेलाई आक्रमण गर्न नआउने भन्दै उहाँले वन्यजन्तुलाई जिस्काउन वा हिर्काउन नहुने बताउनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा बाबुराम लामिछानेले पुष्पालाई अबको एक वर्षपछि मात्रै जङ्गलमा लगेर छाड्ने योजना रहेको बताउनुभयो । अहिले पुष्पा सानै भएकाले अन्य जनावरको आक्रमणबाट आफूलाई सुरक्षित राख्न नसक्ने हुँदा उनलाई आफूहरुकै संरक्षणमा राखिने लामिछानेले बताउनुभयो । खासगरी साना वन्यजन्तु बाघको आक्रमणबाट पर्ने बढी खतरा हुने भएकाले पनि पुष्पालाई तत्कालै जङ्गलमा लगेर छाड्न नसकिने उहाँको भनाइ छ ।

“प्राकृतिक संरक्षण कोषका पशु चिकित्सकबाट पुष्पाको नियमित स्वास्थ्य परीक्षण हुँदै आएको छ”, लामिछानेले भन्नुभयो, “अहिलेसम्म पुष्पाको स्वास्थ्य अवस्था एकदमै राम्रो भएको हामीले पाएका छौँ ।” कोषले टुहुरा वन्यजन्तुको उद्धार तथा संरक्षण गर्दै पुनः जङ्गलमा नै लगेर छाड्ने गरेको लामिछानेको भनाइ छ ।