११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
अ अ+ अ-

चितवन । भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ थपिएका छन् । प्राकृतिकरूपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न सो बर्थिङ युनिट थप गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार रु एक करोडको लागतमा निर्माण गरिएको नयाँ युनिट प्रसूति भवनको नजिकै थप गरिएको हो ।

प्रसूतिका लागि अस्पताल आएका तर कुनै खालको स्वास्थ्य जटिलता नभएका गर्भवती महिलालाई उक्त स्वीट्स रुममा राखिने छ । स्वीट्स रुममा पति वा नजिकको अभिभावक पनि सँगै रहने व्यवस्था गरिएको छ । प्रसूतिको समयमा अधिक पीडा हुने र उक्त समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकको अभ्यासलाई यहाँ प्रयोगमा ल्याउन लागिएको डा तिवारीले बताउनुभयो । अभिभावकसँगै प्रत्येक स्वीट्सरुममा जना नर्स रहने व्यवस्था गरिएको छ ।

डा तिवारीले भन्नुभयो,“यो गर्भवती महिलाले प्राकृतिक रुपमा बच्चालाई जन्मदिने ठाउँ हो ।” प्रसव पीडाको समयमा थप पीडा नहोस्, सहज होस् भन्नका लागि यो प्राकृतिक वातावरणको अवधारणा ल्याइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रसव पीडा पति वा अभिभावकलाई बाँड्न नपाउँदा महिलालाई थप पीडा महसुस हुन्छ । पतिले पनि सँगसँगै सहयोगसहितको सान्त्वना दिन सकोस् भन्नका लागि यो युनिट निर्माण गरिएको हो ।”

डा तिवारीका अनुसार प्रसूति सेवाका लागि भर्ना भएका गर्भवती महिलाको सम्पूर्ण परीक्षण गरी निरन्तर चिकित्सक आवश्यक नपर्ने अवस्थामा मात्रै स्वीट्स रुममा लगिने छ । स्वीट रुममा प्रसूति हुँदा आवश्यक पर्ने सम्पूर्ण सामान पहिले नै तयारी अवस्थामा रहने छन् । सुविधासम्पन्न र आधुनिक भएका कारण स्वास्थ्यका दृष्टिकोणले पनि यो अति महत्वपूर्ण हुन्छ । आमालाई पनि सहज हुने गरी सुविधा दिईएको छ ।

विगतमा बच्चाको मुटुको चाल, आमाको स्वास्थ्यको अवस्था हेरेर तुरुन्त शल्यक्रिया गर्नुपर्ने अथवा भ्याकुम लगाउनुपर्ने अवस्था छुट्याएर सम्बन्धित ठाउँमा लैजाने गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो “नौ महिनासम्म गर्भ परीक्षण गर्दा सामान्य भएका र अस्पताल भर्ना हुँदा बच्चा र आमाको अवस्था सामान्य भएकालाई यहाँ ल्याउँछौँ ।”

देशका ठूला अस्पतालमा यस्तो सुविधा लैजाने भन्ने नीतिअनुरुप पहिलोपटक यस अस्पतालमा सेवा सुरु गरिएको छ । अस्पतालमा प्रसूति सेवा लिनेको चाप बढी भएकाले शय्या सङ्ख्या बढाएर ६० पुर्‍याएको डा तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यसले पनि अझै शय्या पुगेको छैन । कतिपय क्याबिनमा बस्न खोज्छन् । त्यो पनि पर्याप्त छैन । प्रसूतिसम्बन्धी छुट्टै भवन आवश्यक छ ।”

अस्पतालका स्त्री तथा प्रसूति विभागका प्रमुख प्रा डा सुनिलमणि पोखरेलका अनुसार गत वर्ष अस्पतालमा ११ हजार आठ सय ९८ जना शिशु जन्मिएका थिए । तीमध्ये ४० प्रतिशत हाराहारी शल्यक्रियाबाट बच्चा झिकिएको हो । पोखरेलका अनुसार दैनिक ३० देखि ४० गर्भवती महिला प्रसूति सेवाका लागि अस्पताल आउने गर्दछन् । उनीहरु चितवनसहित छिमेकी दसभन्दा बढी जिल्लाबाट आउने गर्दछन् ।

अस्पतालमा पोखरेलको नेतृत्वमा १३ विशेषज्ञ चिकित्सक र ३० तालिम प्राप्त नर्स कार्यरत छन् । उनीहरु २५ वर्षसम्मको अनुभवी छन् । नयाँ बर्थिङ युनिटका लागि आठ नर्सलाई तालिम दिईएको छ । तीमध्ये दुईजना मिड वाईफरीमा स्नातक गरेका छन् भने छ जना ‘स्किल बर्थिङ एटेन्डेन्स’ को तालिम लिएका नर्स छन् ।

अस्पतालमा नवजात शिशुका लागि १६ शय्याको शिशु सघन उपचार कक्ष रहेका छन् । चार शय्याको कङ्गारु कियर रहेको छ । प्रसूतिका लागि दुई वटा शल्यक्रिया कक्ष छन् । अस्पतालका ३९ वटा क्याबिन अधिकांशमा प्रसूति गराएकाबाटै भरिने गरेको छ । पोखरेलले बर्थिङ युनिट थप भएसँगै प्राकृतिक रुपमा घरकै वातावरणमा बच्चा जन्माउन सकिने बताउनुभयो । राजधानी बाहिर सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पतालमा यो पर्दछ । रासस