१ पुष २०८२, मंगलवार
,
Latest
प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छः प्रदीप पौडेल एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा नेपाली साङ्गीतिक उत्सव



अ+ अ-

न्युयोर्क । नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आइतबार आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ कलाकारहरुले प्रस्तुति दिनुभएको थियो । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्य, गायक एवं सङ्गीतकार कालिप्रसाद बाँस्कोटा, गायिका प्रविसा अधिकारी, दोहोरीगीत प्रस्तोता कृष्ण कँडेल तथा गायक विमल डाँगी र निशा विश्वकर्माको प्रस्तुतिले यहाँ भेला भएका नेपाली भाषी दर्शकलाई निकै मनोरञ्जन दिएको थियो ।

सोही समारोहमा नेपाली गीतमा ह्यारिसवर्ग, ल्यान्क्यास्टर र स्क्रान्टन सहरका इन्ट्रा सङ्गीत एवं नृत्य विद्यालयका बालबालिका र किशोरकिशोरीको प्रस्तुति एवं ती सहरका स्थानीय नेपाली कलाकारका सांस्कृतिक प्रस्तुति निकै रोचक थिए ।

त्यसैगरी गायक केशव पौडेल, मुस्कान मगर, जीवन गुरुङ तथा मोडल एवं नृत्य प्रशिक्षक शङ्कर विसी, पार्वती राई र रुपेस उप्रतीको साङ्गीतिक प्रस्तुतिले पनि यहाँ उपस्थित रहेका नेपाली भाषीलाई थप मनोरञ्जन दिएको थियो ।

कार्यक्रममा पेन्सिलभेनिया राज्यका सांसदहरु प्याटी किम, डेभिड मेड्सेन र जस्टिन फ्लेमिङ्ग एवं यहाँका स्थानीय सङ्घसंस्थाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको उद्घाटन गर्दै इन्ट्रा–फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारभरकै नेपाली जातिलाई कला र संस्कृतिका माध्यमबाट एकसूत्रमा बाँध्न सकिने र सांस्कृतिक एकताको अभियान नै चलाएर नेपालीहरुको मनलाई जोड्न सकिने भएकाले समयसमयमा यस्ता कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

सो फाउण्डेसनका निर्देशक ओम गुरुङले नेपाली भाषा, संस्कृति मानेका कारण नै भुटानबाट लखेटिएर आफ्नो पितृभूमि नेपाल पुग्दा शरणार्थी बन्न बाध्य हुनुपरेकाले अमेरिका आएर पनि आफ्नो नेपाली जातीय पहिचानलाई अघि बढाइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष डा अर्जुन बञ्जाडे र भुटानिज कम्युनिटी इन ह्यारिसवर्गका अध्यक्ष तिलक निरौलालेले संस्कृतिका माध्यमबाट अमेरिकामा नेपाली पहिचानलाई जीवन्त राख्न गरिएको प्रयासको प्रशंसा गर्नुभयो ।

नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट सुरु भएको सो सांगितीक कार्यक्रममा स्थानीय कलाकारहरुले लोक तथा आधुनिक गीत, टप्पा र साकेला नृत्यसमेत प्रस्तुत गरेर नेपालको पहिचानलाई अमेरिकी नेपालीबीच प्रस्तुत गरेका थिए । रासस