• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

समय अगावै फुल्दै लालीगुराँस, लोप हुँदै पैयुँ



भेरीगङ्गा । समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद लागेसँगै पैयुँ फूल्न थाल्छ । यसको रस माहुरीका लागि प्रमुख आहारा हो ।

पैयुँ फूल्न थालेपछि पहाडी क्षेत्रमा गहुँखेती गर्न थालिन्छ । विभिन्न धार्मिक गतिविधिमा पैयुँका हाँगा प्रयोग गर्ने गरिन्छ । तर पछिल्लो समय पैयुँ हराउँदै गएको छ । गुराँस फूल्ने समयमा परिवर्तन आउन थालेको पाइएको छ ।

दैलेखको गुराँस गाउँपालिका–७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष हुनुभयो । उहाँले थाहा पाउने बेलादेखि नै घर वरपर पैयुँका बिरुवा प्रसस्त थिए । जब पैयुँ फुल्न थाल्थे त्यतिबेला वन ढकमक्क देखिन्थ्यो । तर केही वर्षदेखि पैयुँका बिरुवा हराउँदै गएको खड्का बताउनुहुन्छ । “पहिला त पैयुँ वनैभरी थियो”, उहाँ भन्नुहुन्छ, “कात्तिक लाग्न थालेपछि फुलेर ढक्कमक्क हुन्थ्यो, पछिल्लो समय त यो बिरुवा हराउँदै गएको छ ।”

खड्का भन्नुहुन्छ, “विवाह गर्दा, पूजाआजा गर्दा पैयुँ चाहिन्छ, कूल पूजा गर्दासमेत मौलो पैयुँकै हाल्नुपर्ने हुन्छ । तर अहिले यो पाउन छाडेको छ ।”

गुराँस– ८ का जगत विसी पनि पैयुँ लोप हुन थालेको देखेर अचम्मित बन्नुभएको छ । “यो बिरुवा एकैपटक सबै ठाउँमा हराउँदै गएको छ, यसको कारण के होला ?”, उहाँ प्रश्न गर्दै भन्नुहुन्छ, “यो हराउनु सामान्य कुरा होइन ।”

पैयुँ नेपालको रैथाने वनस्पति हो । गुराँस–८ का महेश केसी पैयुँ हराउँदा यसले समग्र पर्यावरणमा असर पार्न सक्ने बताउनुहुन्छ । यसको संरक्षणमा सबैले चासो दिनुपर्ने उहाँको सुझाव छ । यही क्षेत्रमा लालिगुराँस प्रसस्त पाइन्छ । स्थानीयवासीका अनुसार गुराँस पहिला फागुनदेखि फुल्न थाल्थ्यो । तर अहिले पुस महिनादेखि नै फूल्न थालेको छ । गुराँस गाउँपालिकाको कालिका माविमा वातावरण विषय अध्यापन गराउँदै आउनुभएका शिक्षक लोकबहादुर खड्का लालिगुराँस फूल्ने समयमा परिवर्तन आएको बताउनुहुन्छ ।

“पहिला लालिगुराँस फूल्न थालेपछि वसन्त ऋतुको आगमन भयो भनेर बुझ्ने गरिथ्यो । यो फागुनदेखि फूल्न थाल्थ्यो । तर अहिले त पुसदेखि नै फुल्न सुरु गर्छ ।” शिक्षक खड्का पहाडी क्षेत्रमा पाइने अन्य बिरुवा पनि फूल्ने समयमा परिवर्तन आएको पाइएको बताउनुहुन्छ ।

पैयुँलगायत वनस्पति हराउँदै जानु र फूल फुल्ने समयमासमेत परिवर्तन हुनुको कारण जलवायु परिवर्तनको असर भएको मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान सङ्कायमा अध्यापन गराउँदैआउनुभएका प्रध्यापक डा पुष्पराज आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले विश्वमै तापमानमा वृिद्ध भइरहेको छ । जलवायु परिवर्तनको असर हरेक क्षेत्रमा परिरहेको छ । तापमान वृद्धीको असर फूल फूल्ने बिरुवामा अधिक पाइएको छ ।” पैयुँ हराउँदै गएको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको उहाँको भनाइ छ ।

रामप्रसाद गौतम ३० वर्षदेखि कृषि र वनको क्षेत्रमा काम गर्दै आउनुभएको छ । उहाँले काठमाडौँमा नेपाल कृषि बीउबिजन केन्द्र स्थापना गरेर विभिन्न प्रजातिका बिरुवाको बीउ तथा बेर्ना वितरण गर्दै आउनुभएको छ । पैयुँ नेपालका पहाडी क्षेत्रका वनमा आफै उम्रिने बिरुवा भए पनि गौतमले आफ्नो संस्थाबाट यो बिरुवाका बीउ र बेर्ना उत्पादन गरी वितरण गर्दै आउनुभएको छ । “ पैयुँ लोप हुन थालेपछि यसको संरक्षणका लागि बीउ उत्पादन गर्न थालिएको हो”, उहाँले भन्नुभयो ।

कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता रेणुका न्यौपाने केही बिरुवाको संरक्षणका लागि काम भइरहेको बताउनुहुन्छ । “पैयुँ लोप हुँदै गएको विषयमा त खोज अनुसन्धान भएको छैन”, उहाँले भन्नुभयो । आगामी आर्थिक वर्षदेखि यस विषयमा प्रदेश सरकारले कार्यक्रम ल्याउने प्रवक्ता न्यौपानेले बताउनुभयो । रासस