७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीले जारी गरे अन्तरपार्टी निर्देशन, यी हुन् ७ प्रदेशमा थपिएका सहइन्चार्ज



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्नुभएको छ । गत फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई कार्यान्वयन गर्न ओलीले २० पृष्ठको अन्तरपार्टी निर्देशन जारी गर्नुभएको हो ।

जसमा प्रदेशका सहइन्चार्ज थपिएको छ । प्रदेश १ को सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्‍क आङ्बोहाङ (लिम्बू) राजेन्द्र गौतमलाई बनाइएको छ । प्रदेश १ मा सबैभन्दा बढी सहइन्चार्ज बनाइएको हो । आङ्बोहाङ पूर्वमाओवादी पक्षबाट एमाले प्रवेश गर्नुभएको हो।

यस्तै प्रदेश २ को सहइन्चार्जको जिम्मेवारी कानुनमन्त्री लीला श्रेष्ठलाई दिइएको छ । सात प्रदेशमध्ये एकल व्यक्ति सहइन्चार्ज बन्‍ने अवसर श्रेष्ठले पाएका छन् । बागमती प्रदेशमा काशीनाथ अधिकारी, शेरबहादुर तामाङ र कृष्णगोपाल श्रेष्ठलाई सहइन्चार्ज बनाइएको छ । 

गण्डकी प्रदेशमा तीन जनालाई सहइन्चार्जको जिम्मेवारी तोकिएको छ । किरण गुरुङ, पदमा अर्याल र लिलबहादुर थापामगरलाई उक्त जिम्मेवारी दिइएको हो । थापामगर पूर्वमाओवादीका नेता हुनुहुन्छ । लुम्बिनी प्रदेशमा मणि थापा, दलबहादुर राना, वैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने ४ जनालाई सहइन्चार्ज बनाइएको छ । थापा र न्यौपाने पूर्वमाओवादी हुन्।

कर्णाली प्रदेशमा लक्ष्मी पोखरेल र गुलाबजङ्‍ग शाह लाई सहइन्चार्ज तोकिएको छ भने सुदूरपश्चिममा गणेश ठगुन्‍ना र नारदमुनी रानालाई सहइन्चार्ज बनाइएको छ ।