११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

सतीघाटको सामयिक विकासमा जोड

सतीघाटको सामयिक विकासमा जोड
अ अ+ अ-

डुम्रे । नेपाली भाषा एकीकरणका नायक आदिकवि भानुभक्त आचार्यसँग सम्बन्धित कयौँं विषयवस्तु तथा क्षेत्र खोज अनुसन्धान गर्नुपर्ने अवस्थामा छन् । नेपाली भाषाका कवि, लेखक, तथा दार्शनिकका रुपमा पहिचान बनाएका आदिकवि आचार्यलाई नेपाली साहित्यको जग बसाल्ने व्यक्तित्त्वका रुपमा चिनिन्छ । भानुभक्तसँग सम्बन्धित कैयौंँ विषय हालसम्म पनि खोज तथा अनुसन्धान हुन सकेका छैनन् ।

आचार्यको जन्मस्थल, बाल्यकाल, युवा तथा वृद्धअवस्थाका धेरै विषयमा हालसम्म कुनै खोजी नभएकाले खोज तथा अनुसन्धान गर्नुपर्ने देखिएको हो । उहाँको अन्त्येष्टिका विषयमा पनि खोजी गर्नुपर्ने भानुभक्त जन्मस्थल विकास समितिले जनाएको छ ।

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित धर्मशाला (शिखर कटेरी) मा विसं १८७१ असार २९ गते जन्मनुभएको थियो । राष्ट्रिय विभूित आचार्यको बाल्यकाल, युवा र वृद्धावस्थालगायत विषयमा खोज तथा अनुसन्धान गर्नुपर्ने समितिका निर्देशक शङ्कर रानाभाटले बताउनुभयो । जन्मस्थलका बारेमा प्रचारप्रसार र प्रवद्र्धन भए पनि अन्य विषय भने प्रचारप्रसारको कमीले ओझेलमा परेका भन्दै अनुसन्धान गर्नुपर्ने उहाँको भनाइ थियो ।

“भानुभक्तको विसं १९२५ असोज ७ गते देहावसन भयो । देहावसनको मिति लेखिएको शिलापत्र पाइन्छ । उहाँको निधनपश्चात् पार्थिव शरीरको अन्त्येष्टि (समाधि) कहाँ गरियो ? भन्ने विषयमा कतिपय साहित्यकारहरु नै जानकार नहुन सक्छन्”, रानाभाटले भन्नुभयो, “जन्मस्थलको विकास, संरक्षण र प्रवद्र्धन भए पनि समाधिस्थलको प्रचारप्रसार नहुँदा गुमनाम जस्तै छ । यस विषयमा गहन अनुसन्धान हुनु आवश्यक छ ।” आचार्यका बारेमा उहाँका सन्ततिका साथै सरकारी पक्षबाट विशेष अनुसन्धान गरिनुपर्ने उहाँको भनाइ थियो ।

भानुभक्तको जन्मस्थल र उहाँसँग जोडिएका अन्य विषयका बारेमा जति प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन नसकेको रानाभाटले बताउनुभयो । “अधिकांश व्यक्तिलाई भानुभक्तको जन्मस्थलका बारेमा जानकारी भए पनि उहाँसँग सम्बन्धित अन्य विषय तथा महत्त्वपूर्ण स्थानका बारेमा हालसम्म अनविज्ञ छन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय विभूति भानुभक्तको अन्त्येष्टिको विषयमा कतैबाट पनि खोजी भएको छैन । यस्ता विषयको गहन अनुसन्धान गरी प्रचारप्रसार गर्नु जरुरी छ ।”

मस्र्याङ्दी करिडोर (हिमालबाट आएको कर्मदा नदी)अन्तर्गत तनहुँको भानु नगरपालिका–१ सतीघाट (गाईथुने)मा भानुभक्तको पार्थिव शरीरको अन्त्येष्टि गरिएको थियो । ऐतिहासिक एवं धार्मिक रुपमा परिचित सतीघाटको बारेमा अधिकांश मानिस अनविज्ञ छन् । भानुभक्तसँग सम्बन्धित स्थानको संरक्षण र संवद्र्धनमा स्थानीयवासीले चासो नदिँदा विशेष महत्त्व राख्ने यस्ता क्षेत्र ओझेलमा परेका हुन् ।

तत्कालिन समयमा नेपालका सनातनी ब्राह्मणले आफ्नो अन्त्यावस्था तीर्थस्थलमा बिताउने अभिलाषा राख्दथे । सोही अनुरुप भानुभक्तलाई पनि अन्त्यावस्थामा मस्र्याङ्दी नदीको सतीघाट (गाईथुने)मा लगी जलाश्रयमा राखिएको शिलापत्र उल्लेख छ । यो घाट चुँदीबँेसीबाट करिब दुई कोस पूर्वमा पर्दछ । यस ठाउँ डुम्रेबाट भन्सार हुँदै लमजुङतर्फ जाने मुख्य राजमार्गको नजिकै पर्दछ ।

सतीघाटमा दुई वटा घाट रहेको भानुभक्त जन्मस्थल विकास समितिका निर्देशक रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार दुई घाटमध्ये माथिल्लो मन्दिर रहेको स्थानमा भानुभक्तको अन्त्येष्टि गरिएको थियो ।

रानाभाटले भन्नुभयो, “माथिल्लो घाटमा तत्कालिन समयमा समाजमा ख्यातिप्राप्त व्यक्तित्त्वको अन्त्येष्टि गरिन्थ्यो । त्यस समयमा यस स्थानबाहेक अन्य स्थानमा लगेर अन्त्येष्टि गर्ने प्रचलन थिएन । त्यसैले माथिल्लो घाटमा नै उहाँको अन्त्येष्टि गरिएको हो ।” बाटो तथा सवारीसाधनको अभावलगायत कारण अन्यत्र लैजाने चलन नरहेको उहाँले बताउनुभयो ।

आचार्यसँग सम्बन्धित केही पुस्तकमा सतीघाटका बारेमा उल्लेख भए पनि यसको विकास र प्रवद्र्धन हुन नसकेको रानाभाटले बताउनुभयो । “एक जना लोहनी थरका व्यक्तिको पाँच वटी श्रीमती एकैसाथ सति गएपछि यस घाटको नाम सतीघाट भएको कथन रहेको छ”, उहाँले भन्नुभयो ।

भानुुभक्तका पनाती हरिनाथ आचार्यले भानुभक्तको अन्त्येष्टि गरिएको स्थान सतीघाट नै भएको दाबी गर्नुभयो । भानुभक्तका सन्ततिबाट नै उहाँको अन्त्येष्टि सतीघाटमा भएको सुन्दै आएको हरिनाथले बताउनुभयो । “पहिलेदेखि नै सतीघाटको प्रवद्र्धन गर्न सकिएको छैन । राष्ट्रिय विभूति आदिकविको समाधिस्थलको प्रचारप्रचार गरी यस स्थानलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय विभूतिको सम्मानसँगै उहाँसँग जोडिएका महत्त्वपूर्ण विषय र स्थानका बारेमा अनुसन्धान गरी ऐतिहासिक एवं धार्मिक पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धन गर्नुपर्छ । यसले यस क्षेत्र सदैव जिवन्त रहन्छ ।”

भारतमा गान्धीको समाधिस्थललाई विकास र प्रवद्र्धन गर्दै धार्मिक पर्यटनसँग जोडेर आयसँग जोडिएको हरिनाथले उदाहरण दिँदै भनुभक्तको समाधिस्थललाई पनि धार्मिक पर्यटनसँग जोड्न सके आयआर्जनका हुने बताउनुभयो ।

भानुभक्तको नामबाट नामकरण भएको नगरपालिकाले समाधिस्थलको संरक्षण, प्रवद्र्धन र विकासलाई प्राथमिकतामा राखेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । “जन्म, वाल्यावस्था र वृद्धावस्थाका साथै उहाँसँग सम्बन्धित विभिन्न विषयका बारेमा विभिन्न पुस्तक तथा शिलापत्रमा उल्लेख भएका छन् । समाधिस्थलको प्रचारप्रसार नहुँदा चर्चामा पर्न सकेको छैन”, उहाँले भन्नुभयो, “यसको संरक्षण गरी प्रचारप्रसारसँगै विकास गर्न आवश्यक छ । नगरपालिका यो काममा लागिपरेको छ ।”

धार्मिक तथा ऐतिहासिक क्षेत्र सतीघाट
सतीघाटलाई भानुभक्तको समाधिस्थलका रुपमा मात्रै नभएर धार्मिक तथा ऐतिहासिक क्षेत्रका रुपमासमेत लिने गरिएको छ । डुम्रे भन्सारमा सामान ढुवानीसँगै मुख्य आवतजावतको स्थलका रुपमा पनि सतीघाट परिचित रहेको नगर प्रमुख त्रिपाठीले जानकारी दिनुभयो । डुम्रे बजार मुख्य व्यापारिक केन्द्र हुँदा आवश्यक सामग्री ल्याएर बिक्री वितरणका लागि यही बाटोमार्फत डुङ्गा, काठको फेरीको प्रयोग गरी मस्र्याङ्दी नदी हुँदै गोर्खा, नुवाकोट, काठमाडौंँ पुग्ने गरिएको उहाँको भनाइ थियो । उहाँका अनुसार यस क्षेत्रमा भन्सार रहेकाले यहीँबाट कर लिने प्रचलन थियो ।

सतीघाट परापूर्वकालदेखि नै धार्मिक एवं ऐतिहासिक रुपमा महत्त्वपूर्ण रहेको नगर प्रमुख त्रिपाठीले बताउनुभयो । विशेषगरी बुटवलबाट बन्दीपुर हुँदै आएका कपडा तथा खाद्यान्न सामग्री गोर्खा, नुवाकोट हुँदै काठमाडौंँ लगिने गरिएको उहाँले जानकारी दिनुभयो ।

धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको यस स्थानको विकास र संरक्षणका लागि गुरुयोजना निर्माण गर्ने तयारी गरिएको त्रिपाठीले जानकारी दिनुभयो । भानुभक्तसँग सम्बन्धित भएकाले जनस्तरबाट नै सहयोग र सहकार्य हुनुपर्ने उहाँको भनाइ थियो ।

सतीघाट संरक्षण समिति वा संवद्र्धन समिति निर्माण गरी गुरु योजनामार्फत यस क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक योजना तयार गरिने नगर प्रमुख त्रिपाठीले जानकारी दिनुभयो । “पुराना धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि यहाँ पुल निर्माण गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

बाइसी/चौबिसी राज्यका बेलामा सेनाले पदयात्रा गर्ने मुख्य नाका नै सतीघात क्षेत्र रहेको उल्लेख छ । बाइसी/चौबिसी राज्यका बेलामा सेनासहित पृथ्वीनारायण शाहले यही बाटो प्रयोग गरेको इतिहासमा उल्लेख गरिएको छ । राज्य एकीकरणको समयमा कालु पाण्डेलगायतका सेना सतीघाट (मस्र्याङ्दी नदी) पार गरी आवतजावत गर्ने मुख्य बाटोका रुपमा यही मार्गलाई प्रयोग गर्ने गरेका स्थानीय बताउँछन् । तनहुँसुरका राजा, गोर्खाली राजा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने मुख्य नाका पनि यही भएकाले यस क्षेत्र विशेष महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् । रासस