• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीको आवाजलाई नै नसुनि बजेट पारित भयो: सांसद खतिवडा ★   केदार कार्कीको रिट खारेज, मुख्यमन्त्रीमा हिक्मत कार्कीको निरन्तरता ★   बजेट शतप्रतिशत कार्यान्वयन गर्न सरकारले सामथ्र्य देखाउनुपर्छ: प्रमुख सचेतक बर्तौला ★   टेलिभिजन शोमा गरेको टिप्पणीलाई लिएर स्वस्तिमा र साम्राज्ञीले मागे जसितासँग माफी ★   अस्पताल भर्ना भएपछि पानी सङ्कटको विषयमा जारी भारतिय जलमन्त्रीको भोक हडताल समाप्त ★   आयकर ऐनको दफा ५७ लगानी प्रोत्साहनका लागि संशोधन गरिएको हो: अर्थमन्त्री पुन ★   बलिउड स्टारको पारिश्रमिक लगातार बढेपछि अनिल कपुरले दिए फ्रिमा काम गरेको उदाहरण ★   धनराजको घोषणा: मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्छु ★   गगनको टिप्पणी: म जादुगर हो भनेको जस्तो गरी यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ ★   नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो

यात्रा संस्मरण: सिक्लेसदेखि कोरीको थाप्लोसम्म -फोटो फिचर



काठमाडौँ: ‘पहिले यहाँका मानिस तँलाई तातो ढिँडो खाएर १२ बजेको घाममा पारिको उकालो चढ्नुपरोस् भनेर गाली दिन्थे रे’ मनबहादुर दाइले पुरानो कुरा सुनाएपछि मेरो सातोपुत्लो उड्यो । सिक्लेसमा भर्खरै तात्तातो खाना खाएका थियौँ र समयको घडी पनि १२ बजाउने तरखरमै थियो । मनमनमा त्यही गालीकै हालत हुने होकि भन्ने लाग्यो । आँखै अगाडि झरुवापाटाको उकालो याद आयो । कहिलेकाहीँ खाना खाँदाखाँदै हाम्रो घरमाथिको झरुवापाटाको उकालो हिँड्नुपथ्र्याे, असिनपसिन हुन्थ्यो । ऊ बेला आमाले औडाहा उठ्यो भन्नुभएजस्तै हुने हो कि भन्ने त्रासले छोयो ।

पहिलेपहिले सिक्लेसका बुढापाकाहरु कसैलाई गाली दिनुपर्यो भने तातो ढिँडो खाएर १२ बजेको घाममा ओरालो उकालो चढ्नुपरोस् भन्थे रे । सिक्लेस परको मत्क्युँ खोला तरेपछि आउँछ त्यो उकालो । धेरै भयो नहिँडेर काठमाडौँमै कुजिएर बसेको । सहरको प्राविधिक व्यस्ततामा भौतिक शरीर प्रायः चलमल नगर्दा पनि हुने । त्यसकारण कुजिएको छ शरीर । खाना खाएर हिँड्ने तयारीका लागि जुत्ताका तुना कस्दै थिएँ । सबै साथीहरु ठमठम हिँडेर पहाडको टुप्पोमा पुग्दासम्म पनि म फेदमै लत्रिएँ भने के होला ? अब खुट्टा दह्रो बनाउने समय छैन, मन चाहिँ बलियो बनाउन थालेँ ।

कास्की–१ का सांसद मनबहादुर गुरुङको यात्राभरिको नाम ‘माननीय’ ज्यू हो । हामीले भनेको सुनेर यात्राका अरु पर्यटकले पनि उहाँलाई माननीयज्यू नै भने । मलाई लाग्छ ‘टिन एजर’ सबैले यो शब्दको अर्थ बुझेका भने छैनन् । यो पुस्ताले राजनीतिमा खासै चासो दिन छोडिसकेको छ । उनीहरुको धेरै चासो अहिले विदेश र सामाजिक सञ्जालतिरै छ ।

सिक्लेसबाट सुरु भयो हाम्रो यात्रा । यात्राका ११ जनाको समूहले यहाँको स्थानीयता, भौगोलिक अवस्था, प्रकृति र पर्यावरणदेखि धेरै कुरा मनबहादुर दाइले हामीलाई ‘गाइड’ गर्नुभयो । सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयमा उहाँले हामीलाई जानकारी पनि गराउनुभयो । यात्रामा उहाँलाई पाउँदा हामी निकै लाभान्वित भयौँ ।

छ दशक अघि नै ‘सिक्लेस–तसा–कोरी रुट’ टोनी ह्यागनले पत्ता लगाएका रहेछन् । त्यसो त उनले नचिनाएको नेपाल र उनी नपुगेका यहाँका कुनाकाप्चा कमै होलान् । हामी ऐतिहासिक बाटो हिँड्दैछौँ भन्ने लाग्यो । त्यस्तै आधाघन्टा हिँडेपछि ओरालो सुरु भयो खोलासम्म । खोला तरेपछिको उकालोले हामीलाई लगभग भोलिपल्ट साँझसम्म नै पछ्याउने पक्कापक्की थियो ।

विस्तारै अघि बढ्यौँ ट्रेकिङका लागि । स्पोर्टस् जुत्ता कस्यौँ, हातमा लौरो । झोला बोक्न भने दुई जना भाइको प्रबन्ध गरेका थियौँ । वास्तवमा बँधुवा भैँसीका खुर पलाएझैँ पलाएको छ हामी सहरियाको पेट । खानपिन धेरै तर उठ्बस र हिँडडुल कम । त्यसैले सहरमा पुट्ट पेट ननिस्किएको मान्छे भेट्न मुस्किल पर्छ । ठूलो पेटलाई डाक्टर रोगको घर भनिरहेका छन्, थाहा छ । तर हामीहरु रोगको घरै बोकेर हिँड्ने धेरै छौँ । कम खान मान्दैनौँ अनि गाडी सुविधा पाए पनि कहिलेकाहीँ हिँड्नु पनि पर्छ भन्ने ठान्दैनौँ । आज पनि सिक्लेसको स्थानीय मासको दाल र स्थानीय चामलको स्वाद जिब्रोले छोड्न मानेन । सागको स्वादको त झन कुरै भएन । टन्न खाएरै उकालो ताक्ने तयारीमा छौँ । तात्तातो घाममा तातो भातसँगै उकालो ।

तल ओर्लिएर मत्क्युँ खोला तरेपछि सुरु भयो तसाको उकालो । अब साथीहरुले ज्यानमा भएका कपडा खोल्न मिल्ने जति खोल्न थाले । समय १२ बजेकै आसपास, खोलाको खोँचमा अनि चौतर्फी पहाडकै पर्खाल । हावा खेल्ने ठाउँ छैन । जति आँखा च्यातेर हेर्यो, माथिसम्मै देखिन्छ नाकमै ठोक्किन आउने उकालो । यो कोरी पहाडको फेद हो । अब यहाँबाट करिब चार हजार मिटरको उकालो यात्रा तय गर्नुछ । आजको बास हो तसा । तसासम्मै उकालो पुग्नुपर्नेछ । माननीयलाई सोधेँ–दाइ कतै तेर्पाएँ पनि छ कि यस्तै उकालो हो ? हाँस्नुभयो । लौ, उकालो सुरु भएकै छैन के को तेर्पाएँ खोजेको ? एक लर्कन उकालोपछि नसानसाबाट बग्न थाले पसिनाका खोला । अब एक हातमा ज्याकेट र अर्काे हातमा लौरो भयो । स्थानीय ङच खोलाबाट सिक्लेस हाइड्रोको पावर हाउसका लागि ल्याइएका पाइपको कहिले मुनि र कहिले माथि हुँदै उक्लियौँ । त्यस्तै साँझ साढे ५ बजेतिर पुग्यौँ तसा ।

तसामा बास

तसामा फोनबाटै होटल बुक गरेका थियौँ । त्यसैले बेलुका खाना र ओत पाइयो । सुत्न त उही हो सिङ्गल बेडका दुई खाटमा पाँच जना । सबै उत्तानो अटाउन गाह्रो, कोही कोल्टे पर्नुपर्ने । दालभात भने मिठै पाइयो । हामी त्यस्तै ४० जानजतिले रात बितायौँ । कोही टेन्ट त कोही छाप्रोमा । यहाँको होटल भनेको छाप्रो रहेछ । यसो ओत लाग्ने मेसोमात्र । धेरै त टेन्टमै रात बिताएका थिए आफैँले लगेको स्लिपिङ ब्यागमा । हामीले भने ओत पाएका थियौँ एउटा छाप्रोमा ।

ज्यान थाकेको थियो अनि ढिला भयो भने त्यही छाप्रो पनि नपाउने भएकाले साँझै त्यस्तै ७ बजेतिरै सुत्यौँ । सुतेदेखि नै एउटा कुराले बडो पिरोलिएको थियो भोलि बिहान चर्पी कसरी गर्ने भनेर । हामी त्यस्तै ४० जनाजति थियौँ तर चर्पी एउटै थियो । टसामा दुई वटा होटल रहेछन् अर्काेमा पनि हालत त्यस्तै । बिहान ३ः४५ बजेदेखि हामी उठ्न थाल्यौँ चर्पीका पिरले । बाहिर हिउँपर्ने तरखर छ, पानी जमेको छ । बल्लतल्ल ५ बजेसम्म काम सक्यौँ तर हिउँ पगालेको पानीले हात आफ्नै हो कि अर्काको छुट्याउन गाह्रो थियो । त्यहाँ सुतेका अरु निद्रामै थिए । कति त इन्तु न चिन्तु थिए हिजोको हिँडाइले । होटल नामको छाप्रोका वरपर, सिँढी, पिँडी, आँगन, बलेसी सबैतिरका टेन्टमा सुतिरहेका छन् ।

होटलवाला भाइलाई उठ्न र हाम्रो पैसा लिइदिन आग्रह ग-र्यौं । भित्रैबाट आवाज आयो “राति १ बजेमात्र सुतेको एकछिन सुत्न दिनुस् न ।” हुन पनि सिक्लेसबाट बाटो लागेका तर हिँड्न नसकेकाहरु राति ११-१२ बजेसम्म नै होटल छिर्दै थिए । तिनलाई पनि खाना पकाएर त खुवाउनै पर्यो । फेरि हामीले भन्यौँ, भाइ उठ्नु न हामी चाँडै हिँड्नुप¥यो के पैसा लिइदिनुस् । फेरि भित्रबाटै आवाज आयो “दाइहरु अहिल्यै नजानोस् के अँध्यारो छ, माथि जङ्गलमा भालुले आक्रमण गर्छ ।”

त्यस्तै ५ः३० जति बजेको थियो । हिमाल उदाउँदै थियो । घामले रङ्ग्याएर रातो हुन भने बाँकी नै छ । यसोमाथि तिर हेर्दा अँध्यारै छ । जङ्गल हो, होइन छुट्याउन गाह्रै छ । तर हामी ११ जना भएकाले भालुले केही गर्दैन र मोबाइलको टर्च बालेर पनि जान्छौँ भन्नैमै छौँ । भाइ उठेर पैसा लिइदिएपछि हामी आजको आन्तिम गन्तव्य कोरी पहाडका लागि बाटो लाग्यौँ ।

बिहान सबेरैको समय, सफा मौसम । अनि प्रायः जङ्गलको बीचबाट कोरिएको नागबेली बाटो । उकालोको त कुरै भएन नाकमै ठोक्किन आउलाजस्तै । एकछिन हिँडेपछि विस्तारै उज्यालो भयो । अब माथि पहाडको उकालो आँखाले ठम्याउन सक्ने भयो । पारिबाट भर्खरै उदाएको घामले हिमाललाई चुम्न थालेको थियो । हामी जतिजति माथि चढ्दै थियौँ त्यति रातो घाम हिमाल चुचुरोबाट विस्तारै तल ओर्लंदै थियो । घामले बडो शिल्पी कालीगढले जस्तै रातो पोत्दै थियो हिमालमा । पहिला माछापुच्छ्रे र त्यसपछि अन्नपूर्ण हिमशृङ्खलाका चुचुरासँगै विस्तारै रङ्गिँदै थिए हिमाल ।

अब घामका राता किरण रुखका कापबाट तँछाडमछाड गर्दै छिरेर सडकमा पोखिने तरखर गर्दै थिए । आँखाले यो दृश्यको बडो रोमाञ्चक स्वाद लिइरहेको थियो । कतै चिरबिर चरा न्याउलीजस्तै बोल्दै थिए, ढुकुरको जोडीका आवाज सुनिँदै थियो । सायद गएरातिको समीक्षासँगै आज साँझसम्मको योजनाको सञ्चार उनीहरु गर्दै थिए । हामी पनि त्यसैमा थियौँ । हिजोको सुताइको समीक्षा गर्दै थियौँ र आज आज कोरी पहाडको टुप्पोमा पुगिएला भन्ने अनुमान लगाउँदै थियौँ ।

लाग्थ्यो, हामी कतै धर्तीकै स्वर्गमा छौँ । त्यसो त स्वर्ग कस्तो हुन्छ कसलाई के थाहा ? स्वर्ग देख्ने यहाँ कोही छैन । यदि छ भने त्यो देखेको फर्किएको छैन, यहाँ हुनेले देखेकै छैन । यत्ति हो, वातावरण निकै रमणीय र अहिलेसम्म देख्नै नदेखेको । यसैगरी जारी रह्यो यात्रा । हिजोको हिँडाइले कैँडा लागेका खुट्टा विस्तारै तङ्गिँदै थिए । जति अगाडि बढ्यो नयाँनयाँ दृश्यले मन तान्दै थियो । अब सडक छेउछाउतिरै आइपुगे घामका पाइला । अघि आँखाले लिएको घामको रसस्वादन अब शरीरले पनि गर्न थाल्यो ।

यतिञ्जेल हामी त्यस्तै दुई हजार पाँच सय मिटरबाट माथिको उकालोमा थियौँ । बिहानको समय, सेक्दै छ सिरेटो । तर विस्तारै शरीरमा छाएका घामका किरणले न्यानो अनुभव हुँदैछ । देब्रेपट्टी लमतन्न हिमाल र यसको छेल पार्दै खेल्ने रुखको लुकामारी । बडो रोमाञ्चक देखिँदैछ । कहिले हिमालले रुख त कहिले रुखले हिमाललाई छेक्दै थियो । लाग्छ हिमाल नयाँ बेहुलीझैँ लजाएर रुखको छेलमा लुक्न जान्छ, तर हामीले हिमाल चुचुरो चियाउन छोडेका छैनौँ ।

खुट्टालाई थकाइ लाग्थ्यो तर हासेको हिमाल देख्दा मन भित्रैदेखि हाँस्थ्यो । बडो प्रफुल्ल हुन्थ्यो आङ । त्यसपछि त थाकेर पछि लत्रिएका खुट्टामा ऊर्जा भरिन्थ्यो अनि अघिअघि सथ्र्याैं । सबैलाई त्यस्तै भएको अनुभव सुनाउँथे यात्राका साथीहरु । मलाई लाग्छ आफ्नै घरआँगनबाट हिमाल हासेको देख्न पाउने विश्वका धेरै कम भाग्यमानीमा पर्छौं हामी नेपाली ।

 

यतिखेर मैले मेरो बाल्यकाल सम्झिएँ । म सुत्ने बार्दलीतिरै फर्किएर सधैँ हाँस्थ्यो माछापुच्छ्रे र धौलागिरि हिमाल । झुल्के घामसँगै उठाउँथ्यो मलाई पनि सुनको हिमालले । सबेरैको रातो घामले सबैभन्दा पहिला माछापुच्छ्रे हिमालको माछाको पुच्छरलाई चुम्थ्यो र विस्तारै धौलागिरि हुँदै अरु हिमशृङ्खलातर्फ सर्दै जान्थ्यो । त्यसपछि सबै हिमाललाई राताम्मे पाथ्र्याे । घाम र हिमालको यो लुकामारी आँखासम्मको मुन्टोमात्र सिरकबाट बाहिर निकालेर चियाउथेँ मैले । त्यसैले दिनभर यही हिमालजस्तै स्वर्णमयी बन्थे मेरो बाल्यकालका हरेक बिहानी । मलाई यही हरेक बिहानीले दिउँसो देखाउँथे र दिनभरका लागि ऊर्जा भर्थे ।

त्यहीे हिमालको साइनो आज गाँस्दै थिएँ म । किनकी नाक ठोक्किने उकालो काट्ने ऊर्जा आज यही हिमाल पस्किँदै छ । ती दिनजस्तै आज पनि हिमालले हाँसेर तान्दै छ र उसको फेदफेदबाटै शिरतिर सर्ने साहस दिएको छ । हिमाल छुने आशाले अघि बढ्दैछन् पाइला । माछापुच्छ«े र अन्नपूर्ण हिमशृङ्खलाको फेदबाट आफ्नो यात्रा तय गरिरहेका छौँ हामी । एकाध पाइला चालेपछि हिमालतर्फ फर्किहाल्छौँ र हेर्छाैं कतै हिमालको स्वरुप फेरियो कि भनेर ।

माननीय अघिअघि र त्यसपछि हुनुहुन्छ चन्द्र ढकाल दाइ । उहाँहरु हिँड्नेमा पर्नुहुन्छ, हामी पछ्याउनेमा । चन्द्र दाइको हिँडाइ देखेर अरुजस्तै म पनि छक्क पर्दैछु । काठमाडौँको व्यस्त जीवन, सुविधा आदि । यी सबका बाबजुद पनि उहाँले हिँड्ने अभ्यासलाई कसरी कायम राख्न सकेको ? मनबहादुर दाइ त यहीँको माननीय, सहरभन्दा गाउँबस्ती बढी चाहार्ने । तर चन्द्र दाइले उहाँलाई पछ्याउँदै हुनुहुन्छ । त्यसपछि गोकुलजी, रुद्रजी, दिवाकरजी र होमजी । भीमदाइ छवि जी र म पछाडि छौँ, उहाँहरुलाई पछ्याइरहेकै छौँ ।

प्रस्तावित अन्नपूर्ण सिक्लेस केबलकारको ‘अलाइन्मेन्ट’ पनि यही पदमार्गको माथिपट्टि पर्दाेरहेछ । यो हेर्ने र भित्रभित्रै ‘बिजनेस मोडल’ बनाउने काम पनि छ चन्द्र दाइको । यो काम भ्याएर पनि हिँड्न उछिन्नुभएको छ हामीलाई । तर प्रस्तावित बटम स्टेसनमा पुगेर केही मिनेट अवलोकनबाहेक यसपालि उहाँको पनि हिँड्ने नै छ योजना ।

यो टेकिङ त्यस्तै ६० वर्षअघि टोनी ह्यागनले नै हिँड्नुभएको रहेछ । सिक्लेस, मत्क्युँ, टँरा, रबरो, तसा, च्योबिने, चिगा, तिँजे, तासा हुँदै कोरी पहाड र यो हुँदै मनाङसम्मै । कोरी पहाडभन्दा पारिपट्टि अझै रमाइलो छ रे । त्यसपछि आउने मिजे, फुलुँ, ठूल्ने, थुर्पु, दूधपोखरी, नामुने भञ्ज्याङ अनि डाँफेखर्क हुँदै मनाङ पुगिने रहेछ । नामुने भञ्ज्याङ अहिलेको नक्साअनुसार कास्की, लमजुङ र मनाङको सिमानामा पर्दछ । डाँफेखर्क चाहिँ मनाङमै पर्छ । तर यसपालि भने हामी कोरीसम्म मात्रै पुग्यौँ ।

कोरीको थाप्लैमा हिमाल  

त्यस्तै दिउँसो ४ बजेतिर पुग्यौँ कोरी । बिहान साढे ५ बजेदेखिको हिँडाइ र पहाडसम्म पुग्ने नपुग्ने त्रासका बीच यहाँ पुग्दा सगरमाथामै पुगेको अनुभूति भयो । यस्तै भन्दैथिए साथीहरु । मलाई पनि माइला दाइको नमस्ते गेष्ट हाउस पुगेपछि युद्ध जितेकै अनुभव भयो । भोकप्यास त छँदैछ । बिहान बोकेको पानी सक्कियो, बाटोमा पानीको स्रोत छैन । प्याकप्याकी परेको ज्यानले अब आराम पाउने भयो । बिहान तसाबाट बाटो लागेकाहरु अब विस्तारै होटल प्रवेश गर्दैछन् । फोन त प्रायः लाग्दैन तर तसा कोरीका व्यवसायीको सम्पर्क भयो होला ठूलो डेक्चीमा भात र दाल पाकेको थियो । त्यो देखेर झन भोक जाग्यो, खान तयार भयौँ ।

अब झण्डै माइनस तापक्रममा आइपुगेका छौँ । थालमा मुछेको भात मुखसम्म लैजाँदै  कठ्याङ्ग्रिइहाल्ने, कस्तो अचम्म ! तात्तातौ भात खाने लाइनमा बस्यौँ । तरकारी त उही हो– न्युट्रेला । न्युट्रेलाले टारेको केही छाक भयो । मैले सोधेँ– किन हो जहाँ पनि यही तरकारी छ त भाइ ? हामी बसेको होटलका कुकले भने “हरियो परियो त कहाँ पाउनु दाइ ? बाटो छैन । न गाडी न घोडा–खच्चड । हेलीमा ल्याउनुपर्ने तरकारी किलोकै सयौँ रुपैयाँ भाडा पर्छ । हलुका र सस्तो यही पर्छ । केही बोरा ल्यायो राख्यो । सधैँ यही हो ।”

खाइसकेपछि अब सुत्ने समस्या । बेलैमा ओछ्याउन नओगटे पछि पाइँदैन । नत्र आज पनि तसाबाट बाटो लागेका कैयौँ मानिसले यही छाप्रो पनि भरिनेवाला छ । खाट त के ओत पाउनै गाह्रो छ । साँझको रातो हिमाल यसो हेर्यौँ र बिहान झुल्के घामको हिमाल हेर्ने आशामा सुत्यौँ । रातिसम्म त्यस्तै ५० जना पुगे होटलमा । सबैका हिँडाइ अनुभव अलिअलि सुन्दासुन्दै राति नै भएछ ।

स्लिपिङ ब्यागभित्र लुट्पुटिएका थियौँ । आज पनि उही साना दुई खाटमा पाँच जना । राति त्यस्तै १२ बजेतिर होटलको एकजना भाइ आएर भन्यो, “दाइहरु यसरी उत्तानो परेर सुतेर कहाँ हुन्छ ? यहाँ अरु दुई जना अटाउनु छ, सुत्न नपाएर मान्छे बाहिर बसिराछन् ।” कस्तो रमाइलो ? निकै हास्यौँ । भाइको आसयले कोल्टे परेर सुत्नु भन्यो । उसको व्यवस्थापन अनुसार हामी सबैजना कोल्टे परेर सुते त्यहाँ उसले थप दुई जना अटाउन सक्थ्यो । चन्द्र दाइले पनि सुन्नुभएछ, स्लिपिङ ब्यागभित्रैबाट हास्नुभयो । मलाई भने दुई पटक हासो उठ्यो । पहिलो उसको व्यवस्थापन सुनेर अनि अर्काे कारण थियो त्यो भाइले अरबपतिलाई पनि आज कोल्टे पारेर सुताउने भयो ।

सुत्न त्यस्तै भए पनि बडो रोमाञ्चक रह्यो राति । हाम्रो टिमका ११ जना एउटै केठामा सुतेका थियौँ । भूइँ र सबैतिर स्लिपिङ ब्यागमा मानिसहरु पल्टिएका छन् । राति चर्पी लागे बाहिर निस्कने बाटो छैन । तर यतिका धेरै मानिस एउटै हलमा सुत्दा पनि मोजा, सास, शरीर केही गन्हाएको थाहा छैन । सायद चिसोकै करामत होला ।

एकाबिहानै सुनको हिमालले सबैलाई स्वागत गरेपछि भने रातिको सबै गाह्रोसाँगुरो सबैले बिर्सिए । होटलवाला उठेकै थिएनन् । हिउँ जमेको पानीले मुख धुन सकिने कुरा भएन । तातोपानी खानमात्र दिन्छ, मुख धुन दिँदैन । रातो हिमालसँग वार्तालाप सुरुभयो । सबै झुम्मिन थाल्यौँ । विभिन्न कोणका तस्बिर लिन सबैका मोबाइल व्यस्त थिए । कोही अझ माथि पहाड चढ्दै र कोही होटल वरपरको चौरबाट हिमाललाई मोबाइलमा कैद गर्न थाले । माछापुच्छ«े, अन्नपूर्ण हिमशृङ्खलाका विभिन्न हिमाल र लमजुङ हिमाल यहाँबाट आकर्षक र नजिक देखिने । लमजुङ हिमालको नामकरण त्यस्तै २०३० सालतिर हर्क गुरुङले गर्नुभएको रे ।

तिहारको टीका लगाएर त्यसैदिन काठमाडौँबाट बाटो लागेका हामी त्यस दिन पोखरा बास बस्यौँ । त्यसको भोलिपल्ट सिक्लेसहुँदै तसा र पर्सिपल्ट कोरि पहाड पुग्यौँ । कोरि पहाड करिब तीन हजार नौ सय मिटर उचाइ हो । वास्तवमा हिमाल फेदैमा पुग्ने यो अत्यन्त छोटो र सजिलो रुट रहेछ । तर अब यहाँ बन्ने केबुलकारपछि कोरीमा स्तरीय होटल भयो भने यहाँबाट यो रुट भएर मनाङसम्म पुग्न सक्छन् । अहिले यहाँ होटल छैनन् अनि कोरी बास बसेर मनाङ पुग्नसक्ने अवस्था पनि छैन ।

पोखराबाट ३५ किलोमिटर सिक्लेस अहिले पनि मोटरमा जान सकिन्छ । भोलि त प्रस्तावित अन्नपूर्ण सिक्लेस केबलकार (६.५ किमी) कोरी पहाडसम्मै पुग्दा भने हिमालको फेदैमा पुगिन्छ । यति छोटो बाटोबाट हिमाल पुग्ने सायदै अर्काे कुनै रुट भेटिएला नेपालमा । त्यसपछि कोरी त छँदैछ, कोरीपारिको पर्यटनमा पनि थप टेवा पुग्नेछ । मानिसहरु भोलि यही बाटो मनाङ जान सहज हुनेछ । टोनी ह्यागनले आफ्नो संस्मरणमा यो रुटलाई एक अलौकिक नेपाल भनेर व्याख्या गरेको भए पनि बीचमा पर्यटकीय पूर्वाधार र विशेष गरी बस्ने होटलको अभावमा यो रुट त्यति प्रचलनमा आउन सकेन ।

अहिले कोरी र तसामा लाग्ने भिड पनि आन्तरिक पर्यटकहरुको हो । व्यवस्थित होटल नभएकाले विदेशी पर्यटक यहाँ जान चाहेर पनि सकेका छैनन् । तसा हुँदै कोरी पुगेर बास बस्ने अनि फर्किंदा अर्काे रुट भएर क्याफुचे ताल हेर्दै फर्किने गर्दा ट्रेकिङको खास आनन्द आउँछ । तर त्यसका लागि कोरीमै पर्यटकीय पूर्वाधारहरु बन्नु आवश्यक छ । कोरीमा होटल बन्न सक्यो भने यो नयाँ रुटमा जान स्वदेशी र विदेशी पर्यटक लालायित हुनेछन् ।

रासस