• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति



काठमाडौँ: विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रको धीरनारायण मन्दिरअघिको गरुडनारायण मूर्ति ढल्यो । मूर्ति ढलेको नौ वर्षमा पनि संरचना अझै अलपत्र छन् । ठडिएको छैन ।

नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रस्थित हिटी पोखरी परिसरमा रहेको धीरनारायण मन्दिरलाई केही भएन । मन्दिरअघि पाँच फिट उचाइमा स्थापना गरिएको गरुडनारायण भने ढलेको साढे आठ वर्ष पूरा भयो । तर अझै यसलाई उठाउने कोही फेला परेको छैन । मन्दिर क्षेत्रमा रहेको गरुडनारायण मूर्ति पाँच फिटमाथिबाट खसेर भुइँमा ढलेकोे नौ वर्ष पूरा हुन लाग्दा पनि यसलाई उठाउने निकाय फेला परेको छैन ।

हिटी पोखरी संरक्षण समाजका अध्यक्ष तेजश्वी शम्शेर राणा तीनै तहका सरकारलाई अनुरोध गर्दा पनि सम्पदा जोगाउने सानो काम हुन नसकेको बताउनुहुन्छ । स्थानीय सरकारलाई पनि यो मूर्ति उठाउन पटकपटक अनुरोध गरेको वीरशम्शेरको सातौँ पुस्ताका सन्तति उहाँ बताउनुहुन्छ । गरुडनारायण मूर्तिसँगै रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको पाटी पनि भत्किएको थियो । पाटी पुनःनिर्माणको पनि अझै अत्तोपत्तो छैन ।

विसं १७९६ मा धीरशम्शेरले यहाँ नारायण मन्दिर स्थापना गरेको परिसरमा राखिएको शिलालेखमा उल्लेख छ । मन्दिर परिसरमै ठूलो घण्ट भने विसं १९३१ राखिएको थियो । कमलको फूल शैलीको यो मन्दिरमा विसं २०७७ देखि अर्जुन क्षत्रीले पूजा गर्दै आउनुभएको छ । उहाँ विसं २०७२ देखि मन्दिरको सेवामा लाग्नुभएको थियो । तत्कालीन पुजारी भोलाप्रसाद पन्तले गुठी संस्थानलाई पत्र लेखी क्षत्रीलाई पुजारी नियुक्त गर्न अनुरोध गर्नुभएको थियो ।

विसं २०७७ अघि मन्दिर क्षेत्रमा विकृति, विसङ्गतिका घटना बढ्न थालेपछि स्थानीयवासीले हिटी पोखरी संरक्षण समाजको गठन गरी यसको रेखदेख गर्दै आएका छन् । पुजारी क्षेत्री यो समाजको उपाध्यक्षका रुपमा पनि सक्रिय हुनुहुन्छ ।

समाजले खसेको गरुडनारायणको मूर्ति माथि राख्न सरोकार भएका गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकालाई अनुरोध गर्दै आएपनि कसैले काम गरेका छैनन् । काठमाडौँ महानगरपालिका वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ भने सम्पदा संरक्षणका लागि वडाले सक्दो सहयोग गर्दै आएको दावी गर्नुहुन्छ ।

करिब चार रोपनी क्षेत्रफलमा फैलिएको हिटी पोखरीमा अहिले पनि दुई वटा धाराबाट पानी आउने गरेको छ । पिउन योग्य पानी भएकाले यहाँ पानी लिन आउनेको पनि भीड लाग्ने गर्छ । सडकपेटीबाट पैदल हिँड्ने कति मानिस यहाँ पानी पिउन जाने गरेका छन् । नारायणहिटी दरबारको नामकरणमा यो हिटीको पनि नाम जोडिएको छ ।

धूमपान गर्नेको अखडा बन्दै सांस्कृतिक स्थल

दरबारमार्गको व्यस्त स्थलमा रहेको खुला ठाउँ भएकाले यहाँ वरपरका कार्यालयमा काम गर्नेहरु धूमपान गर्न आउने गरेका छन् । कानूनी व्यवस्था अनुसार सार्वजनिक स्थलमा बसेर धूमपान गर्न पाइँदैन । तर धीरनारायण मन्दिरसमेत रहेको हिटी पोखरी क्षेत्र भने धूमपान गर्नेको अखडा बन्दै गएको पुजारीसमेत रहनुभएका समाजका उपाध्यक्ष क्षत्रीले सुनाउनुभयो ।

धूमपान नगर्न अनुरोध गर्दा पनि नमान्ने गरेको उहाँले बताउनुभयो । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि महानगर क्षेत्रका सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने गरी सार्वजनिक सूचना जारी गरेको छ । यहाँ भने दिनभर नै धेरै समूह धूमपानकै लागि आउने गरेका छन् ।

विकृतिको अखडा बन्दै गएपछि मन्दिर क्षेत्रमा राखिएका सामान पनि हराउन थालेका छन् । स्थानीय योगेश मिश्र तीनै तहका सरकारले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको हिटी पोखरी क्षेत्रलाई वेवास्ता गर्दा समस्या बढेको बताउनुहुन्छ । नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमै पर्ने भएपनि नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले यस क्षेत्रको रेखदेखमा ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।

समितिका सूचना अधिकारी पुरुषोत्तम थापा राजा महेन्द्रको पालामा सडक बनेर हिटी पोखरी पारि परेपनि नारायणहिटी दरबार क्षेत्रकै भागका रुपमा रहेको स्वीकार गर्नुहुन्छ । दरबार सङ्ग्रहालयको सुरक्षाका लागि नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म राखिएको छ । यसको ध्यान हिटी पोखरी क्षेत्रमा नपरेको गुनासो स्थानीयवासीले गरेका छन् ।

गुल्मका प्रहरी निरीक्षक सविनकुमार सङ्ग्रौला नारायणहिटीको नारायणस्थान मन्दिरमा प्रहरीले सुरक्षाका लागि पहरा दिने गरेपनि हिटी पोखरी क्षेत्रमा भने प्रहरी कार्यालय दरबारमार्गले हेर्ने गरेको बताउनुहुन्छ । सिसी क्यामेरा जडान गरेर नारायण मन्दिर क्षेत्रबाटै हेर्न सकिने गरी व्यवस्थापन गर्न सुझाव दिएको उहाँले सुनाउनुभयो ।

हिटी पोखरीको किम्बदन्ती

राजा विक्रमादित्यका पालामा पानीको समस्या भएपछि यहाँ ढुङ्गेधारा बनाइयो । धारा बनाइसकेपछि पनि पानी झरेन । पानी नआउनुको कारणका बारेमा बुझ्न दरबारमा सभा बोलाइयो । तान्त्रिकले ३२ लक्षणले युक्त मानिसलाई बलि दिएपछिमात्र पानी झर्ने सुनाए ।

त्यसबेला ३२ लक्षणले युक्त राजा र राजकुमारमात्र भएको जानकारी तान्त्रिकले विक्रमादित्यलाई गराए । राजाले छोरालाई राति १२ बजे सेतो कपडा ओढेर सुतेको मानिसलाई छिनाल्न आदेश दिए । राजकुमारले राजाको आदेश पालना गर्दै राति १२ बजे हिटीमा गएर सेतो कपडा ओढेर सुतेका राजालाई छिनाले । धारामा पानी झर्न थाल्यो । टाउको उछिट्टिएर बज्रयोगिनीमा पुग्यो । जीउ हिटीको सानो कुण्डमा लडेको किम्बदन्ती यहाँका स्थानीयवासीले सुनाउने गरेका छन् । राजकुमार भने बाबुकै टाउको उनकै आदेशमा छिनाएको घटनाले दुःखी भए ।

पूर्णप्रसाद मिश्र/रासस