१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति
अ अ+ अ-

काठमाडौँ: विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रको धीरनारायण मन्दिरअघिको गरुडनारायण मूर्ति ढल्यो । मूर्ति ढलेको नौ वर्षमा पनि संरचना अझै अलपत्र छन् । ठडिएको छैन ।

नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रस्थित हिटी पोखरी परिसरमा रहेको धीरनारायण मन्दिरलाई केही भएन । मन्दिरअघि पाँच फिट उचाइमा स्थापना गरिएको गरुडनारायण भने ढलेको साढे आठ वर्ष पूरा भयो । तर अझै यसलाई उठाउने कोही फेला परेको छैन । मन्दिर क्षेत्रमा रहेको गरुडनारायण मूर्ति पाँच फिटमाथिबाट खसेर भुइँमा ढलेकोे नौ वर्ष पूरा हुन लाग्दा पनि यसलाई उठाउने निकाय फेला परेको छैन ।

हिटी पोखरी संरक्षण समाजका अध्यक्ष तेजश्वी शम्शेर राणा तीनै तहका सरकारलाई अनुरोध गर्दा पनि सम्पदा जोगाउने सानो काम हुन नसकेको बताउनुहुन्छ । स्थानीय सरकारलाई पनि यो मूर्ति उठाउन पटकपटक अनुरोध गरेको वीरशम्शेरको सातौँ पुस्ताका सन्तति उहाँ बताउनुहुन्छ । गरुडनारायण मूर्तिसँगै रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको पाटी पनि भत्किएको थियो । पाटी पुनःनिर्माणको पनि अझै अत्तोपत्तो छैन ।

विसं १७९६ मा धीरशम्शेरले यहाँ नारायण मन्दिर स्थापना गरेको परिसरमा राखिएको शिलालेखमा उल्लेख छ । मन्दिर परिसरमै ठूलो घण्ट भने विसं १९३१ राखिएको थियो । कमलको फूल शैलीको यो मन्दिरमा विसं २०७७ देखि अर्जुन क्षत्रीले पूजा गर्दै आउनुभएको छ । उहाँ विसं २०७२ देखि मन्दिरको सेवामा लाग्नुभएको थियो । तत्कालीन पुजारी भोलाप्रसाद पन्तले गुठी संस्थानलाई पत्र लेखी क्षत्रीलाई पुजारी नियुक्त गर्न अनुरोध गर्नुभएको थियो ।

विसं २०७७ अघि मन्दिर क्षेत्रमा विकृति, विसङ्गतिका घटना बढ्न थालेपछि स्थानीयवासीले हिटी पोखरी संरक्षण समाजको गठन गरी यसको रेखदेख गर्दै आएका छन् । पुजारी क्षेत्री यो समाजको उपाध्यक्षका रुपमा पनि सक्रिय हुनुहुन्छ ।

समाजले खसेको गरुडनारायणको मूर्ति माथि राख्न सरोकार भएका गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकालाई अनुरोध गर्दै आएपनि कसैले काम गरेका छैनन् । काठमाडौँ महानगरपालिका वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठ भने सम्पदा संरक्षणका लागि वडाले सक्दो सहयोग गर्दै आएको दावी गर्नुहुन्छ ।

करिब चार रोपनी क्षेत्रफलमा फैलिएको हिटी पोखरीमा अहिले पनि दुई वटा धाराबाट पानी आउने गरेको छ । पिउन योग्य पानी भएकाले यहाँ पानी लिन आउनेको पनि भीड लाग्ने गर्छ । सडकपेटीबाट पैदल हिँड्ने कति मानिस यहाँ पानी पिउन जाने गरेका छन् । नारायणहिटी दरबारको नामकरणमा यो हिटीको पनि नाम जोडिएको छ ।

धूमपान गर्नेको अखडा बन्दै सांस्कृतिक स्थल

दरबारमार्गको व्यस्त स्थलमा रहेको खुला ठाउँ भएकाले यहाँ वरपरका कार्यालयमा काम गर्नेहरु धूमपान गर्न आउने गरेका छन् । कानूनी व्यवस्था अनुसार सार्वजनिक स्थलमा बसेर धूमपान गर्न पाइँदैन । तर धीरनारायण मन्दिरसमेत रहेको हिटी पोखरी क्षेत्र भने धूमपान गर्नेको अखडा बन्दै गएको पुजारीसमेत रहनुभएका समाजका उपाध्यक्ष क्षत्रीले सुनाउनुभयो ।

धूमपान नगर्न अनुरोध गर्दा पनि नमान्ने गरेको उहाँले बताउनुभयो । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि महानगर क्षेत्रका सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने गरी सार्वजनिक सूचना जारी गरेको छ । यहाँ भने दिनभर नै धेरै समूह धूमपानकै लागि आउने गरेका छन् ।

विकृतिको अखडा बन्दै गएपछि मन्दिर क्षेत्रमा राखिएका सामान पनि हराउन थालेका छन् । स्थानीय योगेश मिश्र तीनै तहका सरकारले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको हिटी पोखरी क्षेत्रलाई वेवास्ता गर्दा समस्या बढेको बताउनुहुन्छ । नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमै पर्ने भएपनि नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले यस क्षेत्रको रेखदेखमा ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।

समितिका सूचना अधिकारी पुरुषोत्तम थापा राजा महेन्द्रको पालामा सडक बनेर हिटी पोखरी पारि परेपनि नारायणहिटी दरबार क्षेत्रकै भागका रुपमा रहेको स्वीकार गर्नुहुन्छ । दरबार सङ्ग्रहालयको सुरक्षाका लागि नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म राखिएको छ । यसको ध्यान हिटी पोखरी क्षेत्रमा नपरेको गुनासो स्थानीयवासीले गरेका छन् ।

गुल्मका प्रहरी निरीक्षक सविनकुमार सङ्ग्रौला नारायणहिटीको नारायणस्थान मन्दिरमा प्रहरीले सुरक्षाका लागि पहरा दिने गरेपनि हिटी पोखरी क्षेत्रमा भने प्रहरी कार्यालय दरबारमार्गले हेर्ने गरेको बताउनुहुन्छ । सिसी क्यामेरा जडान गरेर नारायण मन्दिर क्षेत्रबाटै हेर्न सकिने गरी व्यवस्थापन गर्न सुझाव दिएको उहाँले सुनाउनुभयो ।

हिटी पोखरीको किम्बदन्ती

राजा विक्रमादित्यका पालामा पानीको समस्या भएपछि यहाँ ढुङ्गेधारा बनाइयो । धारा बनाइसकेपछि पनि पानी झरेन । पानी नआउनुको कारणका बारेमा बुझ्न दरबारमा सभा बोलाइयो । तान्त्रिकले ३२ लक्षणले युक्त मानिसलाई बलि दिएपछिमात्र पानी झर्ने सुनाए ।

त्यसबेला ३२ लक्षणले युक्त राजा र राजकुमारमात्र भएको जानकारी तान्त्रिकले विक्रमादित्यलाई गराए । राजाले छोरालाई राति १२ बजे सेतो कपडा ओढेर सुतेको मानिसलाई छिनाल्न आदेश दिए । राजकुमारले राजाको आदेश पालना गर्दै राति १२ बजे हिटीमा गएर सेतो कपडा ओढेर सुतेका राजालाई छिनाले । धारामा पानी झर्न थाल्यो । टाउको उछिट्टिएर बज्रयोगिनीमा पुग्यो । जीउ हिटीको सानो कुण्डमा लडेको किम्बदन्ती यहाँका स्थानीयवासीले सुनाउने गरेका छन् । राजकुमार भने बाबुकै टाउको उनकै आदेशमा छिनाएको घटनाले दुःखी भए ।

पूर्णप्रसाद मिश्र/रासस