३ मंसिर २०८१, सोमबार
,
Latest
पूर्वसभामुख ढुंगानाको आज अन्त्येष्टि गरिँदै, मन्त्रिपरिषद् बैठक बस्दै रवि लामिछानेविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी, पोखराबाट ल्याउने तयारी कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना पूर्वराष्ट्रपति भण्डारीद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन शुरु गर्ने रास्वपाको घोषणा स्थानीय तहका ४२ पदका लागि चार सय सात जनाको मनोनयन दर्ता चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल ३ वर्षपछि पनि उत्तिकै फायर ‘पुष्पाराज’, पार्ट २ को धमाकेदार ट्रेलर सार्वजनिक (भिडियोसहित) मुलुकको अर्थतन्त्रका वाह्य सूचकहरु सकारात्मक छन्ः अर्थमन्त्री पौडेल विराटनगर किङ्सको ब्राण्ड एम्बासडरमा अभिनेता दयाहाङ राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीप सिकेर आत्मनिर्भर बन्दै भोजपुरका महिला



अ+ अ-

भोजपुर । सीपमुलक तालिम लिएसँगै भोजपुरका महिला आत्मनिर्भर बन्न थालेका छन् । रामप्रसादराई गाउँपालिका– ८ खोक्सिकले आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिएसँगै उनीहरु स्वरोजगार बनेका हुन् । वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी भएर सीपमूलक तालिम लिएसँगै अहिले सिलाई कटाइको काम गर्दै आएको स्थानीयवासी चन्द्रकला राईले बताउनुभयो । आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ । सिलाइकटाइ व्यवसायबाट घर खर्चको जोह गर्न सहजता भएको उहाँले बताउनुभयो ।

“वडामा नै सीप पाएपछि अहिले यही व्यवसाय सञ्चालन गरेकी छु”उहाँले भन्नुभयो,“हामी जस्ता गृहणी महिलालाई अन्य ठाउँमा गएर सीप लिन समस्या हुन्छ । आफ्नै ठाउँमा वडाको पहलमा सीप पाएसँगै यही सिलाइकटाइ व्यवसाय गर्दै आएकी छु । यसले मलाई आत्मनिर्भर बनाएको छ ।”सीप लिएपछि आत्मनिर्भर बन्नमा सहजता थपेको स्थानीयवासी रेनु राईले बताउनुभयो । स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको उहाँको भनाइ छ । सीप नहुँदा व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज भएको उहाँले बताउनुभयो ।“सीप नुहँदा कुनै पनि काम गर्न सकेकी थिइन”उहाँले भन्नुभयो,“घर धन्दा र खेतबारीको काम गरेर नै दिन बित्थ्यो ।

वडाले तालिमसँगै सिलाइकटाइको लागि मेसिन दिएपछि आफैँ स्वरोजगार बनेकी छु ।अहिले यही कामले घरखर्च जोह गर्न सहजता भएको छ ।” वडा कार्यालयले सीप लिन इच्छुक २५ जना महिलालाई आवश्यक तालिमसँगै सिलाइकटाइको लागि मेसिन दिएको हो । वडाले यहाँका महिला तथा युवालाई स्वरोजगार बनाउनको लागि रोजगारीलाई तेस्रो प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो ।

स्थानीयलाई स्वरोजगार बनाएर कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने योजनाका साथ काम गरिरहेको उहाँको भनाइ छ ।“वडाले रोजगारलाई तेस्रो प्राथमिकतामा राखेर काम गरिरहेको छ”वडाध्यक्ष राईले भन्नुुभयो, “स्थानीयवासीको क्षमता वृद्धिसँगै आवश्यक सीप दिँदै आएका छौँ । गतवर्ष सिलाइकटाइको तालिम लिएका महिला दिदीबहिनीलाई मेसिन पनि वितरण गरेका छौँ । धेरै दिदीबहिनी अहिले व्यवसायमा जोडिनुभएको छ ।” युवालाई स्वरोजगार बनाउन १५ जनालाई हाउस वायरिङको तालिम दिएको वडाध्यक्ष राईले बताउनुभयो ।

तालिम लिएका युवा पनि अहिले व्यावसायिक बन्दै गएको उहाँको भनाइ छ । गाउँमा नै विद्युत् विस्तारको काम भइरहेकोले उनीहरुले त्यही काम गरेर आम्दानी लिन थालेको अध्यक्ष राईले जानकारी दिनुभयो ।“आयआर्जनसँग जोडिन सीप अपरिहार्य छ ।”उहाँले भन्नुभयो,“सीप लिएका युवालाई गाउँघरमा नै काम भ्याइनभ्याइ छ । सीपको कारण स्थानीयवासीले केही आम्दानी गरिरहेका छन् ।

तालिम लिएकालाई व्यवसायमा लाग्न प्रोत्साहन गर्दै आएका छौँ ।” भावी दिनमा पनि सीपमूलक तालिमलाई निरन्तरता दिइने उहाँको भनाइ छ । वडामा आउने बजेटले मात्र धेरै काम गर्न सम्भव नभएकाले विभिन्न निकायसँगको समन्वय तथा सहकार्यमा काम गरिरहेको वडाध्यक्ष राईको भनाइ छ । आफ्नो वडा भौगोलिक रुपमा विकट भए पनि उर्वरभूमि भएकाले कृषिको विकासमा पनि योजना बनाएर काम गरिरहेको उहाँको भनाइ छ ।

वडाले तालिम दिएसँगै किसान व्यावसायिक तरकारी खेतीमा लागेको वडाध्यक्ष राईले बताउनुभयो । “वडामा त्यति धेरै विकास बजेट त आउँदैन” उहाँले भन्नुभयो, “बजेटको सीमा सीमित भए पनि त्यसलाई अधिकतम उपयोग गर्ने कोसिस गरिरहेका छौँ । हामीले स्थानीयवासीको दैनिक जीवनमा परिवर्तन ल्याउने खालका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । यो वडालाई नमुना वडा बनाउने मेरो लक्ष्य छ ।” रासस