• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

नौमती बाजा बजाउँदै महिला समूह



रेसुङ्गा । गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ ।

महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उहाँले बताउनुभयो । “महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “हामी बाजा बजाएर अगाडि बढेका छौँ ।” उहाँ आजभोलि नौमती बाजाको समूहमा बाजा बजाउँदै जिल्ला सदरमुकाम पनि पुग्न थाल्नुभएको छ ।

सोही ठाउँका वसन्ता जिसीले पुरुष विदेश गएर गाउँमा कम रहेकामा आफूहरूले बाजा बजाउन सिकेको बताउनुभयो । “गाउँमा वृद्धवृद्धामात्र हुनुहुन्छ, उहाँहरूले बाजा बजाउन सक्नुहुँदैन”, उहाँले भन्नुभयो, “ पुरुष कम हुन थालेपछि हाम्रै समूह बनाएर बाजा बजाउन थालेका हौँ ।” गाउँमा बाजा बजाउने प्रचलन रहेकामा यसलाई लोप हुन नदिन महिलाले सीप सिकेको उहाँले बताउनुभयो ।

उहाँहरूमत्र होइन, नौमती बाजाको सबै समूह नै महिलाको छ । विगतदेखि हालसम्म पुरुषले मात्र बजाइरहेको बाजामा समूहमा सबै महिला हुँदा यसलाई अचम्मको रूपमा हेरिएको छ । मदाने महिला नौमती बाजा समूह नामले परिचित यस समूहमा पुर्कोटदहका वसन्ता जिसी, सुस्मिता घर्ती, माया परियार, रिमा विक, पवित्रा विक, सीता विक, असिम विक, जुना नेपाली, रञ्जु नेपाली, रमा विक र सिर्जना विक गरी ११ जना रहनुभएको छ । अहिले यो समूहलाई जिल्लाका विभिन्न ठाउँमा बाजा बजाउन भ्याइनभ्याई छ ।

विवाह, व्रतबन्ध, विभिन्न मेलापर्व तथा उत्सवमा बजाइने नौमती बाजा मुख्य बाजा हो । पश्चिमेली संस्कृतिको प्रभाव र युवा पुस्ताले चासो नदिँदा नौमती बाजा लोप हुने स्थितिमा छ । तर गुल्मीको मदाने गाउँपलिका–६ पुर्कोटदहका महिला यसको संरक्षणमा जुट्नुभएको छ ।

बाजा बजाउने चलन पहिलेदेखि चलिआए पनि ग्रामीण भेगमा यो व्यावसायिक बन्न सकेको थिएन । तर मदाने गाउँपालिकाका यी महिलाले यसलाई व्यावसायिक बनाउनुभएको छ । यतिबेला मदाने गाउँपालिकाको यो समूह बाजा बजाउन गाउँपालिका, छिमेकी पालिका र जिल्ला सदरमुकाम तम्घाससम्म पुग्दै आएको छ । मदाने महिला नौमती बाजा समूहका अध्यक्ष जिसीले आफूहरूलाई एक दिन बाजा बजाएबापत रु २५ हजारदेखि ३५ हजारसम्म दिने गरेको बताउनुभयो ।

मदाने गाउँपालिकाले नौमती बाजाको संरक्षणका लागि महिलालाई सीप सिकाएको थियो । सीपसँगै गाउँपालिकाले व्यावसायिक बनाउनका लागि नौमती बाजा वितरण पनि गरेको थियो ।

मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बाजाको संरक्षण, महिलालाई सीप, बाजा बजाउने पेसालाई व्यावसायिक र गाउँपालिकाको पहिचानका लागि यो कदम अगाडि बढाएको बताउनुभयो । “हामीले महिलालाई अगाडि बढाउन सीप सिकाएका हौँ”, उहाँले भन्नुभयो, “अहिले महिलाले बजाइरहेको बाजा व्यावसायिक र पहिचान बन्यो, खुसी लागेको छ ।” परम्परागत संस्कृतिको संरक्षण गर्नका लागि नौमती बाजाको जगेर्ना गरेको उहाँको भनाइ छ । उहाँले यस आर्थिक वर्ष पनि गाउँपालिकाले बजेट विनियोजन गरेर अगाडि बढेको बताउनुभयो ।

महिलाले खुसीका साथ आफैँ लागेर बाजा बजाउने पेसालाई व्यावसायिक बनाएकामा संस्कृति संरक्षणमा टेवा पुगेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताउनुभयो । “मदानेले महिलालाई नौमती बाजाको सीप सिकाएर पहिचान बनायो”, उहाँले भन्नुभयो, “अन्य पालिकाले पनि आफ्ना छुट्टै खाले पहिचान बनाउन आवश्यक छ ।” रुचिअनुसारका पेसामा अगाडि बढ्नु आफैँमा सकारात्मक भएको उहाँको भनाइ छ । रासस