८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा खेल्दै

दाजुभाइको दीर्घायुको कामनामा सामाचकेवा खेल्दै
अ अ+ अ-

‘गामके अधिकारी तोहे बरका भैया हो,
भैया हात दश पोखरी खुनाइ दिय,
चम्पा फूल लगाइ दिय
सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’

(अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनाई दिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु) यी लगायतका गीत गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबैले सबैको दाजुभाइका लागि दिदीबहिनीहरुले दीर्घायुको कामना गर्ने पर्व तराई मधेसमा प्रत्येक साँझ अहिले खेलिदैछ ।

सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्व खरनाको दिनदेखि सामाचकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् । मिथिल्लाञ्चल क्षेत्रमा बसोबास गर्ने मैथिली भाषी र थारू समुदायले यो पर्वलाई विशेष धुमधामका साथ मनाउने गरेकाले यहाँका गाउँहरू अहिले गीतमय बनेको छ । यो पर्वमा चेलिबेटीले गीतको माध्यमबाट दाजुभाइको दीर्घायुको कामना र आशिक दिने गर्छन् ।

यो बेलामा गाउँमा एक किसिमको सिनेमा प्रदर्शन भएको जस्तो लाग्छ । दसैं, तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रूपमा मनाइन्छ । साँझपख समाचकेवाका लागि महिलाले निकै उत्साहका गीत गाउने गर्छन् । जनकपुरधाम–२ की नितु मिश्र भन्नुहुन्छ, “मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामा चकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निक्कै महत्वपूर्ण हो ।” मिश्रले यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यस पर्वलाई मनाउने गरेको बताउनुहुन्छ । उहाँले सामाचकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास रहेको बताउनुभयो ।

समाचकेवा पर्व सुरु भएपछि यहाँका दिदीबहिनीहरूले समुदायमा रहेका फटाहा र कुरौटे प्रवृत्तिका मानिसको प्रतीक ’चुगला’ र कुचोको मसाल बनाई गाउँ/टोल घुमाउँदै सार्वजनिक स्थलमा लग्छन् । त्यहाँ पहिले कुचोको मसालमा आगो बाल्ने र त्यसपछि त्यही मसालबाट चुगलाको जुँगामा आगो सल्काइ ढडाउने चलन छ । “कुरौटे र फटाहा प्रवृत्तिका व्यक्तिले समाजमा जरा गाड्न नपाओस् भन्ने सन्देश दिन र समाजमा दाजुभाइको सम्बन्ध सधैं सुमधुर बनाइराख्न चुगलाको जुँगा ढडाउने गरिन्छ” क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाकी अनिता यादवले भन्नुहुन्छ ।

सामा भनेको दिदीबहिनी तथा चकवा भनेको दाजुभाइलाई बुझाउने गरेको यादवले बताउनुभयो । यो पर्वमा माटोको समाचकेवाको भाँडो बनाइ पर्व अवधिभर दिदीबहिनीले पुज्ने गर्छन् । दाजुभाइ र दिदीबहिनीको प्रतीकको रूपमा माटोको समाचकेवा बनाई प्रचलित चलनअनुरूप पुजिने गरेको समाजशास्त्री नागेन्द्र दुबेले बताउनुभयो । दुबेका अनुसार कार्तिक पूर्णिमामा चलिबेटीले दाजुभाइलाई मीठो परिकार खुवाएर चिरायुको कामना सहित आशीर्वाद दिने र भोलिपल्ट विधिवत रूपमा अन्त्य गरिन्छ ।

सामाचकेवा पर्वका लागि बजारमा थरिथरिका माटाका मूर्तिहरू बिक्री गरेको भेटिन्छ । फुर्सदिला चेलीहरूले समाचकेवामा प्रयोग हुने मूर्तिहरू आफैं बनाउँछन् भने केहीले बजारबाट खरिद गरेर ल्याउने गर्छन् । पञ्चमीदेखि दश दिनसम्म सामा चकेवा खेलेर दिदीबहिनीले एघारांै दिनमा बिहानै सामा चकेवालाई पुन: बनाउने रङ्गरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामा चकेवालाई दही चिउरा खुवाएर सोही सामाचकेवाबाट दाजुभाइको फार भराउने तथा दाजुभाइबाट सामाचकेवा फुटाउन लगाएर सामाचकेवालाई बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् । दिदीबहिनीले दाजुभाइलाई आशीष दिँदै यस्तो गीत गाउँछन् –

‘जीवऽ जीव’ जीवऽकी मोर भैया जीव’
कि तोर भैया जीव
जैसन धोवियाके पाठ तैसन भैयाक पीठ
जैसन करडिक थम्ह तैसन भैयाक जाँघ’

अर्थात्, मेरो दाजुभाइ वर्षौं वर्षसम्म बाँचुन्, धोबीले लुगा धुने धाटजस्तै पिठ्यूँ र करडिकको बोटजस्तै तिघ्रा बलियो होस् ।

संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामाचकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउनुहुन्छ । कापडीका अनुसार दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामाचकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सामा चकेवा पर्वको बेला सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोही अनुरुप यस पर्वमा टाढा टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् ।

यसरी सुरु भयो सामा चकेवा पर्व

पद्म पुराणमा उल्लेख भए अनुसार श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन् । तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झूटा कुराहरु लगाइदिन्छ । त्यसपछि कृष्णले आफ्ना छोरी श्यामाको सतित्वमाथि शंका गरी चरी बन्ने सराप दिन्छन् । चारुबक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रूपमा वृन्दावनमा बस्न थाल्दछन् ।

यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुन: मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन् । श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिनुका साथै सबैले चुगलाको मुख झोस्नेछन् भनि दिएको सरापबाट रिसाएर चूडकले वृन्दावनमै आगो लगाइदिन्छ ।

आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ । यसपछि भगवान् विष्णु साम्वाप्रति खुसी भई श्यामा र चारुबक्यलाई पुन: मनुष्य बनाइदिन्छन् । यसरी सोही दिनदेखि सामाचकेवाको पर्व प्रचलित भएको मान्यता रहिआएको छ । सामा–चकेवा पर्वमा श्यामा र चारुबक्यको चरा रूपमै पूजा गर्ने गरिन्छ । भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चकेवा नाम प्रचलित हुन गएको हो । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ । रासस