• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

माडीमा चक्रशिला स्थापना



भरतपुर (चितवन) । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ ।

बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा नगरपालिका–१ सहश्रधारास्थित कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतोले बताउनुभयो ।

उक्त शिला मङ्सिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा अनावरण गरिएको चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले बताउनुभयो । उहाँले पर्वतबाट रथयात्रामार्फत चक्रशिला माडी ल्याइएको बताउनुभयो ।

शालिग्राम शिला पाइने नेपालकै दुईमध्येका एक स्थानका रूपमा परिचित माडीको धार्मिक विकास तथा पर्यटनमा थप टेवा पुग्ने स्थानीय पुजारी केदारनाथ सापकोटाले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी नदी र माडीको मगुई खोलामा शालिग्राम पाइन्छ । उहाँले चक्रशिला स्थापनापछि हेर्न आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको बताउनुभयो ।

स्थानीय कृष्णबहादुर रानाभाटले देश–विदेशमा रहेका माडीवासीको सहयोगमा चक्रशिला स्थापना गरिएको बताउनुभयो । उहाँले यस क्षेत्रलाई चक्रतीर्थ धामका रूपमा विकास गर्न लागिएको भन्दै क्रमश: अन्य संरचना निर्माण हुने जानकारी दिनुभयो । उहाँले माडीका धार्मिक क्षेत्रलाई समेटेर एकीकृत विकास गर्नुपर्ने बताउनुभयो । माडीमा एक दर्जन बढी धार्मिक क्षेत्र रहेका छन् । पछिल्लो समय माडीमा राम मन्दिरसमेत स्थापना भएपछि धार्मिक पर्यटक बढेका छन् । रासस