१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

पच्चीस हजारभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

पच्चीस हजारभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
अ अ+ अ-

काठमाडौँ : यहाँ आयोजना भएको ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ मा करिब २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा भएको प्रदर्शनीको उपभोक्ताले नेपालका नवप्रकाशन, विदेशी चर्चित तथा धार्मिक पुस्तक रुचिकासाथ खरिद गरेको पाइयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य एवं प्रदर्शनी आयोजक समितिका संयोजक राजेन्द्र तिवारीले इतिहासमै पहिलोपटक व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको पुस्तक प्रदर्शनी आयोजना गरिएको प्रतिक्रिया दिनुभयो । नेपालसहित विश्वका १५ देशका प्रकाशक, उत्पादक र व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा हरेक दिन पाँच हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो मुख्य चाहना भनेको पठन संस्कृतिको विकास कसरी गर्न सकिन्छ । पाठकहरूले चाहेको समयमा चाहेको पाठ्यपुस्तक कसरी उपलब्ध गर्न सक्छन् त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनी मुख्य उद्देश्य राखेर मेलाको आयोजना गरिएको हो ।”

प्रदर्शनीका क्रममा हरेक दिन पठक संस्कृतिसम्बन्धी गोष्ठी गरिएको छ । जहाँ सरकारी अधिकारी, व्यवसायी, राजनीतिक दलका नेता एवं सरोकारवालालाई आमन्त्रण गरेर पठन संस्कृतिको प्रवर्द्धनमा तपाईँको भूमिका के भनी बहस र अन्तक्र्रिया चलाइएको थियो ।

आयोजकले सरकार आफैँले पठन संस्कृतिको विकास गर्न पूर्वाधार बनाएर अघि बढ्नुपर्नेमा त्यो नदेखिएको बताउँदै सबैभन्दा पहिला पठन संस्कृतिको विकास गर्न प्रकाशक र लेखकहरूको संरक्षण गर्न ठोस नीतिको आवश्यकता औँल्याउनुभयो । प्रदशनीमा प्रकाशनगृहहरूले सकिने जति छुट दिनुपर्नेमा त्यो नपाइएको उपभोक्ताको गुनासो पनि सुनियो ।

यसैबीच प्रदर्शनीको अवलोकनका क्रममा भेटिनुभएका नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्माले पठन संस्कृतिलाई संरक्षण गर्दै यसलाई थप विकसित गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । “प्रविधिको विकास जतिसुकै भए पनि पठन संस्कृति भनेको पुस्तकसँगै जोडिन्छ”, उहाँले भन्नुभयो, “पठन संस्कृतिसँग जोडिएको प्रदर्शनीले त्यसलाई बल पुर्याएको छ । विभिन्न भाषामा प्रकाशित भएको पुस्तक र रचनालाई अन्य भाषामा पनि अनुवाद गरी प्रकाशित गर्न सकिने अवसर प्रदर्शनीले निर्माण गरेको छ ।”

यस्ता प्रदर्शनीलाई नियमितरूपमा आयोजना गर्न र राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उहाँले पठन संस्कृतिको विकास र विस्तारका लागि प्रत्येक पालिकामा पुस्तकालय स्थापना गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

साङ्ग्रिला बुक्सका प्रतिनिधि युवराज घिमिरेले ‘ऐठन’लगायतका नवप्रकाशन सबैभन्दा बढी उपभोक्तामा चासो देखिएको र सबै पुस्तकमा लगभग २० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । विद्यार्थी पुस्तक भण्डारका प्रतिनिधि समिर आचार्यका अनुसार ‘निर्णयसिन्धु’, ‘धर्मसिन्धु’ र ‘हिम्मतखण्ड’ अन्यको तुलनामा बढी बिक्री भएको प्रतिक्रिया दिनुभयो ।

प्रदर्शनीको अन्तिम दिन आज आकर्षणका रूपमा मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल रहनुभएको थियो । उहाँ आफ्नो नवप्रकाशन ‘जीवन्त सम्बन्ध’ नामक कृति खरिदका लागि आएका उपभोक्तालाई आफ्नो हस्ताक्षर दिन भ्याइनभ्याई अवस्थामा देखिनुभयो । पुस्तक खरिद गर्नेहरू डा अनिलसँग तस्वीर खिचाउन तछाडमछाड गरिरहेका थिए । प्रदर्शनीकक्षको उत्तरपूर्वी क्षेत्रमा रहेको चिनियाँ प्रकाशनका स्टल निकै व्यवस्थित आकर्षक देखिन्थे । जहाँ उपभोक्ता पुस्तक रुचिका साथ अवलोकन गर्न र तस्वीर लिन व्यस्त देखिन्थे ।

बिएण्डडी एजुकेसन च्यासल ललितपुरका सञ्चालक कुमारप्रसाद घिमिरेले डा भेषबहादुर थापाको हालै प्रकाशित कृति ‘राष्ट्र–परराष्ट्र’को खोजी गर्ने उपभोक्ता बढी रहेको बताउनुभयो । प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, चीन, भारत, बङ्गलादेशलगायत संयुक्त राज्य अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० स्टल रहेको महासङ्घका अध्यक्ष सञ्जय चौधरीले बताउनुभयो । प्रदर्शनी अवलोकनका लागि राजनीतिज्ञ, प्राध्यापक, बुद्धिजीवी, लेखक, वकिल, पत्रकार, शिक्षक, विद्यार्थी र अभिभावकको पाँचै दिन बाक्लो उपस्थिति थियो ।रासस