८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सजाइयो छठीघाट, छठी माताको शक्तिप्रति व्रतालुको अगाध आस्था

सजाइयो छठीघाट, छठी माताको शक्तिप्रति व्रतालुको अगाध आस्था
अ अ+ अ-

रौतहट । “आजभन्दा करिब ४५ वर्ष अगाडिको छठ मनाउन छठीघाट जाँदा मेरो छोरा सानै थियो । रातिको समयमा बाबुले छठीमाइको मन्दिरमा अञ्जानबस पिसाव फेरिदिएछ ।” छठी माताप्रति आफूहरुको आस्था, माताको शक्ति र पर्वको महत्वबारे रौतहटको बौधिमाई नगरपालिका–९, सरमजुवा निवासी ७१ वर्षीय मुरलीधरप्रसाद चौधरीसँग अनगिन्ति अनुभव र घटना जोडिएका छन् ।

पुराना राजनीतिक कार्यकर्तासमेत रहनुभएका उहाँले रासससँग भन्नुभयो, “बाबुले त्यस्तो गरेपछि मैले तत्काल दुई हात जोडेर छठी मातालाई प्रणाम गर्दै आगामी वर्षको छठमा म आफैँ यसको सजाय भोग्छु, मेरो छोरालाई केही नहोस् भनेर प्रार्थना गरेँ । सङ्कल्पअनुसार अर्को वर्षको छठ पर्वमा घरबाट करिब आधा घन्टाको पैदल यात्रा लाग्ने छठघाटसम्म दण्ड भोगेको थिएँ । माताको कृपाले मेरो बाबुलाई केही भएन ।” चौधरीले उक्त दूरीको बाटोमा पूरै शरीरले नाप्दै ९लम्पसार पर्दै० पुगेर छठीमातासँग क्षमा माग्नुभएको थियो ।

तराई–मधेसको महत्पूवर्ण चाड छठ पर्वका अवसरमा केही वर्षअघिसम्म अहिलेको जस्तो पाण्डाल बनाउने, सङ्गीत बजाउने र सजाउनेजस्ता कार्य नभए पनि परम्परादेखि नै श्रद्धा र भक्तिपूर्वक छठ मनाउँदै आइएको उहाँले बताउनुभयो । अहिले सजावटसहित व्यवस्थितरुपमा छठ मनाइनु र तराई–मधेसका हिन्दू धर्मावलम्बीका साथै अन्य भूगोल तथा धर्मका मानिसले छठप्रति आस्था प्रदर्शन गरेको देख्न पाउँदा खुसी लागेको चौधरीको भनाइ थियोे ।

पछिल्ला समयमा छठ पर्वलाई उत्सवकैरुपमा मनाउने गरिन्छ । पर्वका लागि साउन्ड सिस्टमसहित नाचगान र भीडभाड हुने भएकाले सुरक्षा व्यवस्थापन पनि चुनौतीपूर्ण देखिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले छठ पर्वका बेलामा जिल्लाको बढी भीडभाड हुने स्थानहरु राजपुर, गौर, इस्नाथ, वृन्दावन, चपुर, गढीमाई, देवाही गोनाही, दुर्गा भगवतीलगायत स्थानमा सुरक्षाका लागि आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । पर्वका अवसरमा चोरी र लुटपाट हुनसक्ने भएकाले गस्ती परिचालनसँगै आफू पनि समय समयमा कतिपय स्थानमा पुग्ने गरेको उहाँले बताउनुभयो ।

केही दिनअघि बङ्कुर बजारस्थित दुई मोबाइल पसलमा चोरी भएपछि प्रहरी र स्थानीय तहले सुरक्षा व्यवस्थालाई थप चासो दिएका छन् । छठ घाटका लागि जिल्लाको १६ वटा नगरपालिका र दुई गाउँपालिका गरी करिब तीन सय घाट बनिसकेको छ । यहाँका गौरस्थित पोखरीका साथै लालबकैया, बागमती, भकुवा खोला, अणुवा खोला, भरओखर पोखरी, इनारवारी पोखरीमा घाटको सजावट भइसकेको छ भने व्रतालु तथा भक्तजन पूजा सामग्रीसहित छठ घाटतर्फ जान थालेका छन् ।

बौधिमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवले पालिकाबाट छठको ठूलो महत्व रहेको र यसलाई स्थानीयवासीले उत्सवका रुपमा लिने गरेकाले हरेक छठ घाटमा सरसफाईका साथै शौचालयका साथै सुरक्षा प्रबन्धका लागि पनि सुरक्षा निकायसँग समन्वय भइरहेको बताउनुभयो । यही नगरपालिकाका पूर्वप्रमुख राजीव रञ्जन यादवले आफ्नो व्यक्तिगत पहलमा पनि केही छठ घाटमा टेन्ट र सजावटका लागि सहयोग गर्नुभएको उहाँको भनाइ थियोे ।

बौधिमाई नगरपालिका–८ का पूर्ववडा सदस्य प्रेमादेवी ठाकुरले आफ्ना श्रीमान् र छोराछोरीको सुस्वास्थ्य र दीर्घायुका लागि विगत दुई दशकदेखि व्रत लिँदै आएकीले छठी माताले आफूहरुलाई कल्याण गरेको अनुभव सुनाउनुभयो । दुई दशकअघि आफ्नो सासू बितेपछि ठाकुरले व्रतको जिम्मेवारी सम्हाल्दै आउनुभएको हो ।

हरेक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म पृथ्वीका सबै प्राणी र वनस्पतीलाई समानरुपमा शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै सूर्य देवता र छठी देवीको पूजा अर्चना गर्ने गरिन्छ । यस पर्वमा नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिइन्छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकाङ्क्षाबमोजिम फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दु:ख र कष्ट अन्त्य हुने जनविश्वास रहेको छ ।

छठ पर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवद्र्धनमा मद्दत पुग्ने र यसबाट राष्ट्रिय एकता थप सुदृढ हुने अपेक्षा गरिएको छ । तराई–मधेसको महत्वपूर्ण चाड छठ पर्वको तयारीमा स्थानीयवासी व्यस्त हुँदा समाजमा चोरी र आपराधिक गतिविधि गर्नेले मौका छोप्ने भएकाले सुरक्षा व्यवस्था चुस्त तुल्याइएको छ । रौतहटको बङ्कुल बजारस्थित दुई मोबाइल पसमा गए राति रु २० लाखभन्दा बढी सामानको चोरी भएको थियो ।

सो घटनामा संलग्न व्यक्ति हालसम्म पत्ता लागेका छैनन् । भारतको घोडासहान सिमानासँग जोडिएको उक्त बजारमा बिहार प्रान्तमा जाँड रक्सी निषेध गरिएकाले मदिरा सेवनका लागिसमेत भारतबाट मानिस नेपाल आउने–जाने गर्दछन् । खुला सिमानाका कारण चोरी र आपराधिक क्रियाकलाप हुने गरेको र यस क्षेत्रमा खटाइएका प्रहरी जनशक्ति र उनीहरुका लागि स्रोतसाधन अपर्याप्त रहेको सुरक्षाकर्मीको भनाइ थियो । रासस