२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता आवास कार्यक्रम: भोजपुरका विपन्न परिवार नयाँ घर



अ+ अ-

भोजपुर । जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ । आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौंदेखि त्रिपालमा बस्दै आएका विपन्न परिवारको घर निर्माण गरिएको हो ।

यहाँका गरिबीका कारण घर बनाउन नसकेका परिवारको पहिचान गरेर नयाँ घर निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको वडाध्यक्ष नभराज माङ्पाहाङले जानकारी दिनुभयो ।

एक परिवार बराबर रु तीन लाख ३६ हजार लगानीमा घर निर्माण भएको वडाध्यक्ष माङ्पाहाङको भनाइ छ । गरिब तथा विपन्न दलित परिवारको घर निर्माणले उनीहरूलाई सहजता भएको वडाध्यक्ष माङ्पाहाङले बताउनुभयो । निर्माण सम्पन्न भएपश्चात् सबै परिवारले भुक्तानीसमेत लिएको उहाँको भनाइ छ ।

“सरकारको जनता आवास कार्यक्रममार्फत हाम्रो वडाका १० दलित परिवारले नयाँ घर पाएका छन्”, वडाध्यक्ष माङ्पाहाङले भन्नुभयो, “घर बनाउने क्षमता नहुँदा वर्षौंदेखि कष्टकर जीवन बिताउँदै आएको अवस्था थियो । हामीले आर्थिक अवस्था कमजोर भएकाले घर निर्माणका लागि सिफारिस गरेको हौँ । घर निर्माण सम्पन्न गरेर सबै परिवार भुक्तानीसमेत पाएको अवस्था छ ।”

राज्यबाट आएको बजेटबाट आवश्यक मापदण्डअनुसारको घर निर्माण भएको उहाँको भनाइ छ । राज्यले पनि गास, बास र कपासलाई नागरिकको मौलिक हकमा राखेकाले सहज बसोबासका लागि वडाले पहल गरेको वडाध्यक्ष माङ्पाहाङले बताउनुभयो ।

“गरिबीका कारण धेरै परिवारको अवस्था दयनीय छ”, उहाँले भन्नुभयो, “खुला आकासमुनि दिनरात कटाउने अवस्थामा घर पाउँदा उहाँहरूको दैनिकी फेरिएको छ ।” सो रकमबाट अनिवार्यरूपमा शौचालय निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । शौचालय निर्माण नगर्ने परिवारले रु ३६ हजार नपाउने वडाध्यक्ष माङपाहाङले बताउनुभयो । हाल बनेको घरले सबै विपन्न परिवारलाई नसमेटिएकाले आगामी दिनमा पनि घर निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने वडाध्यक्ष माङ्पाहाङले जानकारी दिनुभयो ।

खुला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएको अवस्थामा घर पाउँदा दैनिकी फेरिएको स्थानीय फूलमाया विश्वकर्माले बताउनुभयो । घर बनेपछि धेरै सहजता भएको उहाँको भनाइ छ । “घर बनेसँगै अहिले दैनिकी नै फेरिएको छ”, उहाँले भन्नुभयो, “गरिबीका कारण जीवन निकै कष्टकर थियो । घर बनाएर बस्नसक्ने अवस्था थिएन । राम्रो आम्दानीको स्रोत नहुँदा दैनिक ज्यालादारी गर्नुपर्ने अवस्था छ । सरकारले घर बनाइदिएपछि जीवन गुजारा गर्न सहज बनेको छ । घर पाउँदा निकै खुसी लागेको छ ।”

घर नहुँदा चिसोका कारण दैनिकजसो बाल बच्चा बिरामी हुने गरेको भए पनि अब त्यस्तो समस्याको अन्त्य भएको विश्वकर्माले बताउनुभयो । त्योसँगै बालबालिकालाई पठनपाठनमा समेत सहजता भएको उहाँको भनाइ छ ।

“हिउँद तथा वर्षात्को समयमा बालबच्चालाई रोगबाट जोगाउन नै गाह्रो हुन्थ्यो”, खुसी हुँदै विश्वकर्माले भन्नुभयो, “ढिलै भए पनि राज्यले हाम्रो दु:ख देख्यो । मजस्ता धेरै दलित परिवारले घर पाएका छौँ । राज्य हाम्रो साहरा बन्यो ।”

कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताउनुभयो । टहरामा त्रिपाल हालेर वर्षौं कटाएको अवस्थामा घर पाउँदा हर्षित बनेको उहाँको भनाइ छ । “गरिबीका कारण घर बनाउन नसक्दा पुस्तौँबाट टहरामा त्रिपाल टागेर बसेका थियौँ”, उहाँले भन्नुभयो, “जीवन निकै कष्टकर बनेको थियो । वर्षात् तथा जाडोको समयमा जीवन धेरै नै कष्टकर थियो । घर बनेपछि हामीलाई सहज भएको छ ।” रासस