१५ भाद्र २०८३, सोमबार
,
Latest
सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा रु १५ लाख सहयोग हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा टिम्मुर खेती विस्तार



अ+ अ-

गलेश्वर । म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानले टिम्मुर खेती गर्न थालेका छन् ।

जिल्लाको बेनी नगरपालिकाको वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा व्यवसायीकरुपमा टिम्मुर खेती गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

अन्य अन्नबाली छोडेर खेतबारी, निजी तथा सामुदायिक वनमा समेत टिम्मुर खेती गर्न थालिएको कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । एक दशकअघिसम्म त्यत्तिकै खेर गइरहेको टिम्मुरको पछिल्लो समय स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि यहाँका कृषक टिम्मुर खेतीमा आकर्षित भएका उहाँले बताउनुभयो ।

सापकोटाका अनुसार म्याग्दीका किसानले एकल तथा सामूहिकरुपमा हरेक वर्ष टिम्मुर खेती विस्तार गरिरहेका छन् । बेनी नगरपालिकाका साथै मङ्गला, मालिका, धौलागिरि गाउँपालिकामा टिम्मुर खेती विस्तार भएको उहाँको भनाइ थियो ।

कृषकलाई उपयोगी हुने पुस्तकसमेत बजारमा ल्याउनुभएका सापकोटाले जिल्लामा वार्षिक करिब तीन हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको जानकारी दिनुभयो । आधुनिक औजारको प्रयोगले उत्पादन बढ्नुका साथै समय पनि व्यवस्थापन भएको उहाँको भनाइ थियो ।

जिल्लामा २० समूह गठन गरी टिम्मुर खेती विस्तार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । टिम्मुरविज्ञ सापकोटाले सामुदायिक वनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर बिक्री गर्ने गरेका बताउनुभयो । करीब एक सय ५० घरधुरीले टिम्मुर खेती गरिरहेका उहाँले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा धेरै टिम्मुर उत्पादन हुने गाउँको रुपमा चिनिएको तोरिपानीका कृषक यतिबेला टिम्मुर टिपेर सुकाउन व्यस्त छन् । असोज र कात्तिकमा टिम्मुरको फल टिप्ने गरिन्छ । म्याग्दीका गाउँमा फलेको टिम्मुर स्वादिलो हुने भएकाले पनि व्यापारी गाउँमै पुग्ने गरेका बेनी नगरपालिका–३ मुसुङका अगुवा कृषक लालबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार गाउँबाटै प्रतिकिलो रू एक हजार छ सयदेखि रू दुई हजारसम्ममा बिक्री हुने गरेको छ ।

उहाँले नर्सरी स्थापना गरेर टिम्मुरका बिरुवा उमारी बिक्रीसमेत गर्दै आउनुभएको छ । डिभिजन वन कार्यालय, उद्योग वाणिज्य सङ्घलगायत सङ्घसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट रू २५ मा प्रतिबिरुवा बिक्री हुने गरेको घर्तीले जानकारी दिनुभयो ।

टिम्मुर खेतीलाई प्रोत्साहन गर्न जिल्लास्थित उद्योग सङ्घले विभिन्न किसिमका औजारसहित तालिममा सहयोग गरिरहेको छ । ‘एक गाउँ एक उत्पादन’अन्तर्गत तोरीपानीसहित विभिन्न गाउँमा १९ हजार पाँच सय बिरुवासहित प्राविधिक सहयोग गरिएको सङ्घले जनाएको छ ।

तोरीपानी गाउँबाट वार्षिक छ हजारको हाराहारीमा बिरुवा जिल्ला बाहिर बिक्री हुने गरेको छ । एक कृषकले छ केजीदेखि माथि टिम्मुर उत्पादन गर्दै आइरहेका छन् ।

जिल्लामा कृषकले पहिलोपटक टिम्मुर प्रशोधन गर्ने औजार ल्याएका सापकोटाले बताउनुभयो । तोरिपानीका निलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिम्मुर सुकाउने, प्रशोधन गर्ने, तौलने, मसला बनाउने औजार खरिद गरेका जनाउँदै त्यसका लागि वन कार्यालयले रू १० लाख अनुदान दिएको उहाँले बताउनुभयो ।

प्रशोधन औजारको प्रयोगसँगै मसला बनाई बजारमा बिक्री गर्न, मिसावट रोक्न, गाउँकै ब्राण्डलाई स्थापित गर्नलगायत बजारीकरणमा सहज भएको कृषक समूहले जनाएको छ । जिल्लामा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि वार्षिक तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ । रासस