१२ मंसिर २०८१, बुधबार
,
Latest
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली गुजरातका उर्भिलले तोडे पन्तको कीर्तिमान, टी–२० मा सबैभन्दा छिटो शतक बनाउने भारतीय सुन कारोबारमा सिण्डिकेट हटाउन सर्वोच्चको अन्तरिम आदेश ‘पुष्पा–२’ को सुटिङ पूरा फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो उद्योगहरूको बिजुली तत्काल नकाट्ने प्राधिकरण बोर्डको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलाकालिका मन्दिरमा भक्तजनको भीड-फोटो फिचर



अ+ अ-

चितवन । गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ ।

गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै जाने गरेका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । दिउँसोको समयमा उकालो चढ्न कठिन हुने भएकाले बिहानमा मन्दिरमा भीड हुने गरेकामा अहिले साँझसम्म नै भक्तजन जाने गरेका हुन् ।

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार नवदुर्गा सुरुभएसँगै भक्तजनको सङ्ख्या बढेको छ । शनिबार फूलपातीका दिन आठ हजार भक्तजनले दर्शन गरेको अनुमान गरिएको छ । आज पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

बिदाको दिन र पर्व विशेषमा दर्शनार्थीको सङ्ख्या बढ्ने गर्दछ । केबलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । मौलाकालिका केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार गत वैशाख महिनामा २५ हजारले केबलकार चढेका थिए । यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको उहाँले जानकारी दिनुभयो ।

करिब पाँच सय वर्ष पहिले तत्कालीन पाल्पा राज्यका सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो । मौलाकालिका मन्दिरमा दर्शन र पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।