७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

किसानको उत्पादन बिक्री नभए सहकारीले किनी दिने

किसानको उत्पादन बिक्री नभए सहकारीले किनी दिने
अ+ अ-

ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यवसायिक तरकारी खेती गर्दै आएको वर्षौं भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो । दैनिक गाडीमा तरकारी बजार पठाउँदा भाडा पनि उठाउन समस्या थियो । उत्पादनले उचित मूल्य पाउन गाह्रो थियो । अब आशाजस्ता सयौँ किसानले उत्पादन गर्ने तरकारी तथा फलफूलले मूल्य पाउने भएको छ ।

नगरपालिका र गौमुखी कृषि विकास सहकारीको सहकार्यमा हटिया बजारमा हाटबजार तथा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । गलकोट क्षेत्रका अधिकांश नागरिक कृषि क्षेत्रमा आबद्ध भए पनि अहिलेसम्म हाटबजार सञ्चालन भएको थिएन । यही असोज २८ गते हाटबजार तथा तरकारी सङ्कलन केन्द्र स्थापना भएपछि कृषक हर्षित भएका छन् । एउटै गाउँमा दर्जनौँ कृषकले व्यावसायिक तरकारी खेती गर्दै आए पनि बजार र उचित मूल्य नपाउँदा समस्या भोग्दै आएको उहाँले बताउनुभयो ।

गाउँमा रासायनिक मल प्रयोग नगरी जैविक तरकारी र फलफूल उत्पादन गर्दै आएको उहाँको भनाइ छ । अब बजार तथा ग्रामीण क्षेत्रको उत्पादनले सहज रुपमा बजार पाउने श्रीषले विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूले मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहेको भन्दै बजार नपाउँदा कुहिएर नष्ट हुँदा लाखौँ रुपैयाँ नोक्सानी भोग्नुपरेको स्मरण गर्नुभयो ।

“नगरपालिका र सहकारीले हाम्रो लागि ठूलो काम गरेको छ, धेरै किसान बजार नपाए विचलित हुनुभएको थियो, कयौँ कृषि पेसा छाडेर विदेश पनि जानु भयो, अहिले गर्दै आउनुभएका कुनै पनि किसानले आफ्नो पेसा छाड्न पर्दैन कि भन्ने आशा गरेका छौँ”, श्रीषले भन्नुभयो, “हाम्रो मुख्य समस्या बजार र मूल्यको थियो, गाउँमा धेरै बिक्री गर्न सकिँदैन, बजारमै ल्याउनुपर्छ, बजारमा ल्याउँदा गाडीको भाडा नै नउठ्ने डर हुन्थ्यो, अब सहज हुने भयो ।”

गलकोट–१ का कृषक रवीन्द्रबहादुर बुढाथोकी अब आफूजस्ता किसान ठगिन नपर्ने बताउनुभयो । नगरपालिका र गौमुखी सहकारीले तरकारी तथा फलफूल बिक्रीका लागि मूल्य सूची बनाएको हुँदा उपभोक्ता तथा किसान कोही पनि ठगिन नपर्ने उहाँ बताउनुहुन्छ । गलकोट क्षेत्रमा लामो समयदेखि कृषि गर्दै आएका किसानले अब राज्य भएको अनुभूति गर्न पाउने बुढाथोकीको भनाइ छ ।

उहाँले भन्नुभयो, “अब कृषकले जति उत्पादन गरे पनि खेर नजाने भो, बिक्री हुँदैन कि भनेर चिन्ता गर्ने दिन गए, हामीले जति उत्पादन गरे पनि हाटबजारमा ल्याएर बेच्ने छौँ, बजार–बजारमा पनि गएर बिक्री गर्न पाइने छ, बिक्री नभएको तरकारी र फलफूल सहकारीले राख्ने र त्यसको मूल्य हामीहरुलाई उपलब्ध गराउने छ, अब हामीहरु उत्साहका साथ उत्पादनमा लाग्ने छौँ, पहिले नै यो काम भएको भए धेरै मान्छेहरु व्यावसायिक तरकारी खेतीमा लाग्ने थियौँ ।”

गौमुखी कृषि विकास सहकारी संस्थाका अध्यक्ष शिवकुमारी खत्रीले आफूहरुले विसं २०६४ देखि थालेको प्रयास अहिले सफल भएको बताउनुभयो । सहकारीमार्फत किसानको समस्या समाधान गर्न, उनीहरुलाई प्रविधिसँग जोड्न र आयआर्जनलाई बलियो बनाउनका लागि लामो समयदेखि काम गर्दै आएको अध्यक्ष खत्रीको भनाइ छ ।

अघिल्लो वर्षदेखि नगरपालिकासँग सहकार्यमा जग्गा व्यवस्थापन गरी हाटबजार र सङ्कलन केन्द्र निर्माणपछि सञ्चालन सुरु गरिएको बताउनुभयो । हाटबजार हप्तामा एक दिन सञ्चालन गर्ने र बिक्री नभए किसानको तरकारी तथा फलफूल प्रत्येक दिन आफूहरुले राखिदिने उहाँले बताउनुभयो । किसानको बिक्री नभएका वस्तु प्रशोधन गरी विभिन्न परिकार बनाउने अध्यक्ष खत्रीको भनाइ छ । प्रशोधनका लागि मेसिनसमेत खरिद गरिसकेको उहाँ बताउनुहुन्छ ।

“अब किसानका कुनै पनि उत्पादन नोक्सान हुने छैनन्, उहाँहरुले बेच्न सकेको बेच्नुहुन्छ, नसकेको हामीले राखेर उहाँहरुलाई रकम दिन्छौँ, उहाँहरुले बेच्ने मूल्यभन्दा प्रतिकिलो रु पाँच बढी रकम उपलब्ध गराउँछौँ”, अध्यक्ष खत्रीले भन्नुभयो, “कृषि गर्दै आएका कृषकहरु ठगिएको अवस्था थियो, जसले धेरै दु:ख गरेर उत्पादन गर्छ, त्यसले उचित मूल्य पाएको थिएन, उपभोक्ताले पनि महङ्गोमा उपयोग गर्नु पथ्र्यो, उहाँहरुले जति उत्पादन गर्नुहुन्छ, बिक्री भएन भनेर चिन्ता गर्नु पर्दैन, हामीहरुले उहाँको उत्पादन राख्छौँ, अब कृषकहरु उत्पादनमा लाग्नुपर्छ ।”

नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले किसानलाई व्यावसायिक बनाउनका लागि हाटबजार सञ्चालनमा ल्याइएका बताउनुभयो । यहाँका हरेक घरमा फलफूल तथा तरकारी उत्पादन हुने र बिक्री नहुँदा यतिकै खेर गइरहेको हुँदा नगरपालिकाभित्रका सबै नागरिकको आयआर्जनमा टेवा पुर्‍याउनका लागि नगरपालिकाले रु १० लाख विनियोजन गरी सहकारीसँग सहकार्यमा हाटबजार तथा तरकारी सङ्कलन केन्द्र सञ्चालन गरेको उहाँ बताउनुहुन्छ ।

हाटबजार सञ्चालनसँगै नगरपालिकाले किसानलाई उन्नत जातका बीउबिजन वितरण, आवश्यक अनुदान, तालिम तथा पराशर्म र प्राविधिक सहयोग गर्दै आएको प्रवक्ता भण्डारी बताउनुहुन्छ । हरेक किसानको तरकारीमा नगरपालिकाले प्रतिकिलो र तीन थप गरिदिने उहाँको भनाइ छ ।

हाटबजार र तरकारी सङ्कलन केन्द्रमा ११ कक्ष निर्माण गरिएको छ । यी कक्षमा पालिकाका ११ वटै वडाका किसानले उत्पादन गरेका वस्तु बिक्रीका लागि राखिने भण्डारीले बताउनुभयो । अब गाउँ–गाउँबाट सबै किसान बजारमा आउनु नपर्ने उहाँ बताउनुहुन्छ । गाउँमा उत्पादन भएको वस्तुलाई सङ्कलन गरी एकजना कर्मचारीमार्फत हाटबजारमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाएको भण्डारीको भनाइ छ । रासस