• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)

अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय



गलकोट । नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।

अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दसैँ मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने जमराबिनै दसैँ मनाउँदै आएका छन् । उनीहरूले घरमा जमरा नराखेको वर्षौँ भएको बताएका छन् ।

जमरा राख्दा अनिष्ट हुने भन्दै पुस्तौँदेखि घटस्थापनामा जमरा नराख्ने गरेको माझी समुदायका स्थानीय देउकुमारी माझीले बताउनुभयो । “जमरा राख्दा अनिष्ट भएपछि राख्न छाडिएको हो भन्ने गर्छन् पाका पुरानाहरू”, माझीले भन्नुभयो, “घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको र त्यसपछि जमरा नराखी दसैँ मनाउन थालिएको भन्ने सुनिन्छ, अहिले दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा लिएर टीकासँगै लगाइन्छ ।”

माझीका अनुसार दसैँको दिन टीका, जमरा त लगाउँछन् तर जमरा भने मागेर वा मन्दिरमा पुगेर ल्याउने चलन छ । घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । यसलाई माझी समुदायले आफ्नो परम्पराको रूपमा लिँदै आएका छन् ।

तीन पुस्ताअघिसम्म जमरा राखे पनि त्यसपछि ठूलै अनिष्ट घटना भएपछि जमरा राख्न छाडिएको सोमबहादुर माझीले बताउनुभयो । खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ ।

“जुन वर्ष जमरा राख्यो, त्यो वर्ष घरकी कन्याको मृत्यु भएको भन्ने छ, जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको सुनिन्छ”, सोमबहादुरले भन्नुभयो । दसैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन् । माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि जमरा राख्न नहुने मान्यता स्थापित भइसकेको छ ।

पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ–१ रामरेखाका माझी समुदायले अहिले भने आफ्नो पेसा सङ्कटमा परेको बताउँछन् । दुई वर्षदेखि नदीबाट बालुवा निकाल्न नपाएको बताउँदै रोजीरोटीका लागिसमेत समस्या भएको दु:खेसो उनीहरूको छ ।

न्यून आयस्तर भएका सीमान्तकृत माझी समुदाय आश्रित भएको कालीगण्डकी नदीमा बालुवा निकाल्न नपाएपछि उनीहरू अन्य समुदायको घरमा पुगेर ज्याला मजदुरी गर्न बाध्य भएका छन् । रासस