७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय

अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय
अ+ अ-

गलकोट । नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।

अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दसैँ मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने जमराबिनै दसैँ मनाउँदै आएका छन् । उनीहरूले घरमा जमरा नराखेको वर्षौँ भएको बताएका छन् ।

जमरा राख्दा अनिष्ट हुने भन्दै पुस्तौँदेखि घटस्थापनामा जमरा नराख्ने गरेको माझी समुदायका स्थानीय देउकुमारी माझीले बताउनुभयो । “जमरा राख्दा अनिष्ट भएपछि राख्न छाडिएको हो भन्ने गर्छन् पाका पुरानाहरू”, माझीले भन्नुभयो, “घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको र त्यसपछि जमरा नराखी दसैँ मनाउन थालिएको भन्ने सुनिन्छ, अहिले दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा लिएर टीकासँगै लगाइन्छ ।”

माझीका अनुसार दसैँको दिन टीका, जमरा त लगाउँछन् तर जमरा भने मागेर वा मन्दिरमा पुगेर ल्याउने चलन छ । घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । यसलाई माझी समुदायले आफ्नो परम्पराको रूपमा लिँदै आएका छन् ।

तीन पुस्ताअघिसम्म जमरा राखे पनि त्यसपछि ठूलै अनिष्ट घटना भएपछि जमरा राख्न छाडिएको सोमबहादुर माझीले बताउनुभयो । खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ ।

“जुन वर्ष जमरा राख्यो, त्यो वर्ष घरकी कन्याको मृत्यु भएको भन्ने छ, जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको सुनिन्छ”, सोमबहादुरले भन्नुभयो । दसैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन् । माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि जमरा राख्न नहुने मान्यता स्थापित भइसकेको छ ।

पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ–१ रामरेखाका माझी समुदायले अहिले भने आफ्नो पेसा सङ्कटमा परेको बताउँछन् । दुई वर्षदेखि नदीबाट बालुवा निकाल्न नपाएको बताउँदै रोजीरोटीका लागिसमेत समस्या भएको दु:खेसो उनीहरूको छ ।

न्यून आयस्तर भएका सीमान्तकृत माझी समुदाय आश्रित भएको कालीगण्डकी नदीमा बालुवा निकाल्न नपाएपछि उनीहरू अन्य समुदायको घरमा पुगेर ज्याला मजदुरी गर्न बाध्य भएका छन् । रासस