• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

पहिराले मध्यपहाडी लोकमार्ग ठप्प



फाईल फोटो

ढोरपाटन । निरन्तर वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–१ पाखुतेमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

मङ्गलबार साँझदेखि अवरुद्ध भएको उक्त खण्ड अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । भारी वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको उहाँले बताउनुभयो । निरन्तर वर्षा भइरहेकाले वर्षा रोकिएपछि मात्रै सडक खुलाउन सकिने केसीको भनाइ थियो ।

लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमदेखि बागलुङ, पोखरा, काठमाडौँ लगायतका स्थानमा जाने यातायातका साधन ठप्प भएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारी पनि सडकमै रोकिएका छन् ।

प्रहरी नायब उपरीक्षक केसीले भन्नुभयो, “अहिले पनि भारी वर्षा भइरहेको छ । हिजोदेखि ठप्प भएको सडक अहिलेसम्म खुलाउन सकिएको छैन । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । वर्षा रोकिने बित्तिकै सडक खुलाउने प्रयास गर्नेछौँ । ठूलो पहिरो खसेकाले तत्कालै खुलाउन सकिने अवस्था छैन ।”

पहिराले कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको केसीको भनाइ छ । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा लेदोसहितको पहिराले सडक पूर्ण रुपमा ठप्प भएको छ । करिडोर अवरुद्ध हुँदा बागलुङको दक्षिणी क्षेत्र यातायातबाट विच्छेद भएको छ । रासस