७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘घरबेटीलाई घरको माया लागेजस्तै देशको माया राजालाई जति अरुलाई लाग्दैन ’



अ+ अ-

भक्तपुर। दिनरात नभनी माटो, ढुंगा, इँटा, बालुवा, काठ थुपारेर रगतपसीना बगाई बनाएको सानो झुपडी नै किन नहोस् त्यसको माया जसरी त्यो घर बनाउने घरधनीलाई हुन्छ, त्यसैगरि आफ्ना पुर्खाले छरिएर रहेका ससाना देशहरुलाई एकिकरण गरि सिंगो बनाएको ‘नेपाल’ को माया राजालाई बढी हुन्छ नै ।

दु:ख गरेर बनाएको घरमा भाडामा बस्नेले घरको भित्तामा अन्धाधुन्द किला ठोक्दा, फोहोर गर्दा या विर्गादा जसरी घरधनीको मन कुँढिन्छ, त्यसरी नै जनताको माग सम्वोधन गरी उनीहरुलाई खुसी र सुखी राख्ने जिम्मा दिएका राजनैतिक दलले आफ्नै दुनो सोझ्याउन थालेपछि आफ्ना पुर्खाले आर्जेको देशको भविष्य र जनताप्रति राजालाई चिन्ता हुनु अस्वभाविक होइन् । किनकी हामीलाई भन्दा देशको माया राजालाई बढी नै हुन्छ ।

मुलुकको पछिल्लो अवस्था यस्तै देखिएको छ । राजाले शासन सत्ता (घरको साँचो) जिम्मा दिएका राजनैतिक दलका नेताहरु घरभाडामा बसे जसरी आफु बसेको घर अर्थात मुलुकमाथि नै गद्धारी गरिरहेका छन् । न उनीहरुलाई जनताको चासो र चिन्ता छ, न देशकै माया । छ त केवल उनीहरुको व्यक्तिगत स्वार्थ मात्रै ।

मुलुकमा केही अप्ठेरो परिस्थिति आइपर्यो भने विदेशतिर कुलेलम ठोक्न उनीहरु एउटा पाइला उचालेर बसिसकेको देखिन्छ ।
श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहले विक्रम सम्वत् १८२५ मा काठमाण्डौ उपत्यका लगायत छरिएर रहेका बाइसे चौबिसे राज्यलाई एकिकरण गरी सिंगो नेपाल बनाएपछि मात्रैै नेपाल र नेपालीको पहिचान बनेको हो । हामीलाई नेपाली र हाम्रो देश नेपाल भनेर गर्व गर्ने ठाउँ बनाउने कार्यको श्रेय राजा र उनीहरुका वंशजले पाउने कि नपाउने ?

राजाको स्वार्थ केवल आफ्ना पुर्खाले बनाएको घररुपि देशलाई कसरी जोगाउने र जनताको हीत र संरक्षण गर्ने भन्ने मात्रै हुन्छ । त्यसमा अरु कुनै स्वार्थ जोडिएको हुँदैन । हामीजस्ता सर्वसाधारण जनताले बुझ्नुपर्ने सत्य कुरा यती मात्रै हो । देशलाई सबैभन्दा बढी माया गर्ने राजा नै हुन्छन किनकी देश र जनता रहेमा मात्र आफु राजा रहने हो ।

राजकाज चलाउँदा आफुबाट कुनै कमी कमजोरी भए या जनताको माग सम्वोधन हुन सकेन भने विगतमा पनि राजाहरु जनताको घरदैलोमा पुगेर जनताका समस्या बुझ्ने र त्यसलाई तत्काल सम्वोधन गर्ने गरेका इतिहास हामीसम्म साक्षी छ ।

पछिल्लो समय गणतन्त्रको नाउँमा घरैपिच्छे छोटे राजाहरुको उत्पत्ति भएको छ । यस अवधिमा एकदुईवटा राम्रा काम भएतापनि जनताको पक्षमा बोलिने साझा थलो संसदमा आरक्षण र समानुपातिक सीट भागवण्डा र आर्थिक चलखेलका कारण वदनाम हुन पुगेको छ ।

२०६२/०६३ सालको जनआन्दोलनपछि विना रक्तपात तत्कालिन श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले जनचाहना अनुसार भन्दै २०६५ सालमा २ सय ४० (विसं:२०६५—१८२५) वर्षदेखिका आफ्ना पुर्खादेखिको विरासत सजिलैसंग जनताको हातमा सुम्पेर नारायणहिटी राजदरवारबाट खुसीसाथ विदा भएको सबैले देखेकै हो । उहाँँको त्यो त्यागको अहिलेसम्म कसैले मुल्यांकन गर्न सकेको छैन । त्यसैले त नेपाली काँग्रेसका स्वच्छ नेता चन्द्र भण्डारी भन्छन—‘मुलुकमा गणतन्त्र आउनुमा सबैभन्दा ठुलो देन राजा ज्ञानेन्द्रको छ’ भनेर ।

अर्काको घरमा भाडामा बसेको व्यक्तिले त सजिलैसंग घर छोड्न नसक्ने समयमा यति सजिलैसंग राजा ज्ञानेन्द्रले शासनसत्ता छोड्नसक्नु भनेको सानो त्याग हुँदै होइन् ।

आफ्नो प्रत्यक्ष शासनकालमा केही कमी कमजोरी भएका कारण जनता आफुप्रति रुष्ट भएर र राजनैतिक दलप्रति बढी आश्वस्त भएको हुनसक्ने अनुमान गरेर नै राजा ज्ञानेन्द्रले २०६५ साल जेठ १५मा गणतन्त्रको नाउँमा शासनसत्ताको बागडोर जनतालाई सुम्पिनुभएको हो ।

यसको मतलव यो हैन कि दलहरु जनताप्रति अनुत्तरदायी र गैरजिम्मेवार बन्नु भनेको । राजाको प्रत्यक्ष शासनमा देश विग्रियो भनेर केही जनतालाई उचालि ल्याएको भनिएको गणतन्त्रबाट जनतालाई न केही राहत भयो । फाइदा भयो त तिनै राजनैतिक दलका स्वार्थी नेता र तिनीहरुका आसेपासेलाई । राजनैतिक दलमा आवद्ध नभएका सर्वसाधारण जनता भने सँधै पिल्सिन वाध्य भए । र, परिवार पाल्नको लागि उनीहरु विदेश पलायन हुन वाध्य भए ।

देशको विकासको साथै जनतालाई मुलुकमै रोजगारी सिर्जना गरि शान्तिपुर्ण रुपमा आफ्नै परिवारसंग हाँसीखुसी साथ बाँच्न पाउने वातावरण बनाउन केही समयको लागि आफ्नो शासन सत्ताको वागडोर राजाले राजनैतिक दलको पोल्टामा हालिदिँदा यतिखेर देश छिन्नभिन्न हुनपुग्यो ।

यतिखेर जनता असुरक्षित र पीडित छन् । हरेक क्षेत्रमा वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ । महंगी र वेरोजगारी बढेको छ । शैक्षिक जनशक्ति विदेश पलायन हुने क्रम बढीरहेको छ । अनुशासहिनता बढेको छ । अपराध र दण्डहीनताले सीमा नाघेको छ । पुँजी चलायमान हुन सकेको छैन । देश आर्थिक संकटको मारमा परेको छ ।

देश बनाउने ठेक्का लिएका राजनैतिक दलका नेताहरु आफ्नो दुनो सोझ्याउँदै सात पुस्तालाई पुग्नेगरि सम्पत्ति जोड्दैछन् । तैपनि उनीहरुको बुद्धिको घैंटोमा घाम लाग्न सकेको छैन ।

ती नेताहरुमा यो आँट अझैपनि छैन कि ९० प्रतिशतभन्दा बढी जनता सयौं छोटे राजाहरु भन्दा एकजना तर सर्वमान्य अनि धर्मसंस्कृति र परम्पराको प्रतीक राजाको पक्षमा छन भनेर । त्यसैले दिनहूँ जनआवाज राजाको पक्षमा हुँदा पनि जनमत संग्रह गर्नसक्ने आँट देखाउन सकेका छैनन । त्यसैले अब जनता एकजुट भएर देशमा एकजना मात्रै राजा राखि मुलुक जोगाउन अघि बढ्न जरुरी भईसकेको छ ।