५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष

डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष
अ+ अ-

मलेखु । धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उहाँको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन ।

आँगनको ढिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र विद्युत्का क्षेत्रमा विकास हुँदैछ । डोको बेचेरै जीविकोपार्जन गरिरहनुभएका चेपाङको खिया लागेका जस्ताको छानो फर्ने सपना भने अझै अधुरै छ ।

“पहिला डोको, भकारी जतिपनि बिक्थ्यो । बोकेरै बजार लगेर रू १० मा बेच्दा पनि छोराछोरी पाल्न पुग्थ्यो”, चेपाङले भन्नुभयो, “अहिले बजारमा डोको बिक्न छोड्योे ।” चौकीभञ्ज्याङ र आसपासका सबैको पुख्र्यौली पेसा डोको, डालो र भकारी बुन्ने भए पनि प्लास्टिकका सामग्रीले बजार भरिएसँगै निगालो र बाँसबाट बुनेका डोको घरमै थन्किएर बसेका उहाँले बताउनुभयो ।

चेपाङ कतिले पुख्र्यौली पेसा छाडेर विकल्प पनि खोजिसकेका भन्दै उमेरले ७० वर्ष नाघिसकेकाले पुख्यौली पेसा छाडेर कहीँ जान सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँका अनुसार डोको बिक्न छोडेपछि आम्दानीको स्रोत टुटेको छ ।

डोको बुन्ने पेसाबाटै बालबच्चा हुर्काउनुभएका चेपाङलाई अहिले जीवन धान्नै मुस्किल भएको छ । “हाम्रो मात्र होइन गाउँमा सबैको मुख्य काम भनेकै डोको बुन्ने र बजारमा लगेर बिक्री गर्ने थियो । अहिले डोको, डालो र भकारी बुनेर घरखर्च चल्न छोड्यो, अरु पेसा गर्न उमेरले दिँदैन”, उहाँले भन्नुभयो, “अहिले डोको नै बिक्दैन । म बुढो मान्छे बजारसम्म पुर्‍याउन पनि सक्दिन । किन्न व्यापारी गाउँ आउदैनन् । पुख्र्यौली पेसा भनेर मात्रै गरिरहेका हौँं । डोको बुनेर दुई छाकको जोहो गर्नै मुस्किल छ ।”

विसं २०३५ तिर डोको बुनेर बिक्री गर्दा रू दशसम्म आम्दानी हुने गरेको अनुभव चेपाङले सुनाउनुभयो । “त्यस समयमा रू दुईमा एक पाथी नून, रू छ मा एक लिटर खाने तेल पाइन्थ्यो । दैनिक १०र१२ वटा बेच्दा मनग्य आम्दानी हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले बजारमा डोको बिक्री हुदैन । डोको बुन्ने, थुपार्ने र व्यापारी कुर्ने काम मात्र भइरहेको छ ।” उहाँका अनुसार पहिला बजारको पनि कुनै समस्या थिएन ।

उहाँकी श्रीमती तिलकुमारी चेपाङले पनि डोको र भकारी बोकेर अन्नपात साटेको अनुभव सुनाउनुभयो । “त्यतिबेला एउटा डोको साट्दा एक पाथी अन्न आउँथ्यो । पछि डेढ दुई सयमा बिक्न थाल्यो । त्यति हुँदा घरखर्च चलाउन सजिलो थियो”, तिलकुमारीले भन्नुभयो, “अचेल त किन्ने मान्छे नै आउँदैनन् । भोलिपर्सी कतै माग भइहाल्यो भने बेचौला भन्ने झिनो आशा छ ।”

डोकोको आकार हेरेर रू तीन सयदेखि रू पाँच सयसम्म र खाङ्ग्रेको रू एक हजारसम्म बिक्री हुनुपर्ने नेवारबाँसका ४० वर्षीय रामबहादुर प्रजाले बताउनुभयो । निकै सस्तो मूल्यमा दिँदा पनि डोको बिक्री हुन छाडेको उहाँको भनाइ थियो । “गाउँदेखि पृथ्वी राजमार्ग पुग्न चार घण्टा पैदल हिँड्नुपर्छ । छदेखि बढीमा १० वटासम्म बोकेर लान सकिन्छ । बिक्री गर्न गजुरी, घाटबेँशी, मलेखु, आदमघाटसम्म लैजाने गरेका छौँ”, उहाँले भन्नुभयो ।

प्रविधिको विकाससँगै डोको बुन्नेको पेसा नै सङ्कटमा परेको जीतबहादुर चेपाङले बताउनुभयो । पछिल्लो समय डोकोको प्रयोगमा नै कमी आएको उहाँको भनाइ थियो । “गाउँमा बाँस र निगालो प्रशस्त पाइन्छ । सबैले डोको बुन्न पनि जानेका छन्”, उहाँले भन्नुभयो, “अहिले गाउँमा सडक आइपुगेका छन् । मानिसले बोक्ने भारी सवारीले बोक्छन् । डोकोको प्रयोगको सट्टा अन्य प्लाष्टिकका सामग्रीको प्रयोग गर्ने धेरै छन् । यसले हाम्रो पुख्र्यौली पेसा सङ्कटमा पर्दै गएको हो ।”

चौकी भञ्ज्याङ नेवारबासमा ९२ घर परिवार छन् । उनीहरुको मूख्य पुख्र्यौली पेसा डोको बुनाइ हो । तर पछिल्लो समय डोको बिक्न छाडेपछि उनीहरुले विकल्प खोज्न थालेका छन् । रासस