२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेतमै सुक्यो धान, चिन्तामा किसान



अ+ अ-

बेदकोट । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गर्नुभएको थियो । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही बोट रातो–पहेँलो भएका छन् ।

साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउनुहुन्छ । “बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन”, उहाँले भन्नुभयो, “आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि सबै बाली सखाप छ ।”

पुनर्वास –५ उद्रीकै मोहन रानाको तीन बिघा जमिनको धानबाली खेतमै नष्ट भएको छ । उहाँले पाँच बिघा जमिनमा धानखेती गर्नुभएको थियो । साउन तेस्रो साता दोदा नदीमा आएको बाढी बस्तीसम्मै पुगेर डुबान भएको थियो । डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुक्न थालेको हो ।

“बाढी पसेको दुई/तीन दिनपछि पानी घट्यो, त्यसपछि धान सुक्न थाल्यो”, उहाँले भन्नुभयो, “तीन बिघाको पूरै सुकिसक्यो ।” उहाँका अनुसार पानी जमेको ठाउँमा दुई/तीन दिनसम्म गन्ध आइरहेको थियो भने पानी पनि कालो थियो । कृषि गरेर वर्षभरि खानलाई जोहो गर्ने किसान धानबाली खेतमै सुकेपछि चिन्तित छन् ।

“धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको थियो”, किसान रामकिसन चौधरीले भन्नुभयो, “अब के खाने ? कसरी बालबच्चा पाल्ने ? समस्या छ ।” डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको उहाँले बताउनुभयो ।

“रोपाइँमा लागेको खर्चसमेत उठाउन गाह्रो छ”, उहाँले भन्नुभयो, “अरुबेला पनि बाढी आउथ्यो, तर यस्तो क्षति गरेको थिएन्, यसपटक एक्कासी धान कसरी सुक्यो थाहा भएन ।” पुनर्वास नगरपालिकाको सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ ।

खेत नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान सुकेको किसानको भनाइ छ । सुगर मिलले सिमरी नाला छेउमै डस्ट राखेको र त्यसबाटै केमिकल नालामा मिसिएर खेतमा पुगेको रमेश रानाले बताउनुभयो ।

“सुगर मिलबाट केमिकल बगेर खेतमा पुग्यो, त्यसपछि धान र उखु सुकेको हो”, उहाँले भन्नुभयो, “यो ठाउँ जहिल्यै बाढी लाग्ने र डुबान हुने हो, अहिलेसम्म यसरी धान र उखु कहिल्यै सुकेको थिएन ।”

कृषि ज्ञानकेन्द्र कञ्चनपुरले क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाएको छ । “परीक्षण रिपोर्ट आएको छैन, धान क्षतिको विवरण सङ्कलन भइरहेको छ”, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भन्नुभयो, “दुई सय हेक्टरभन्दा बढी जमिनमा क्षति पुगेको अनुमान छ ।” रासस