५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

बागलुङका ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या

बागलुङका ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या
अ+ अ-

ढोरपाटन । असार दोस्रो सातादेखि बन्द भएका बागलुङका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । बाढी, पहिरो र खहरेखोलाका कारण अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा बजारदेखि सामान ढुवानी गर्न समस्या भएको छ । सडक पूर्ण रुपमा अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या परेको छ ।

जिल्लाको निसीखोला, तमानखोला, बडिगाड र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत दर्जनौँ गाउँसम्म पुग्ने सडक ठप्प छन् । ठप्प सडक असोज लागे मात्रै खुल्ने भएका छन् । त्यसबेलासम्म मान्छेले नै बोकेर सामान ओसारपसार गर्नुपर्ने बाध्यता छ । करिब दुई महिनाअगाडि पहिरोले अवरुद्ध भएको सडक अहिलेसम्म सञ्चालनमा नआएको निसीखोला–१ का तुल्सीराम घर्तीले बताउनुभयो । गाउँको तल्लो क्षेत्रसम्म सडक सञ्चालनमा रहे पनि माथिल्लो क्षेत्र पूर्ण रुपमा ठप्प भएको बताउनुभयो ।

सडक अवरुद्ध हुँदा बुर्तिबाङ, देविस्थान लगायतका बजारबाट सामान ढुवानी गर्न नसकिएको घर्तीको भनाइ छ । केही दिनदेखि वर्षा रोकिएको हुँदा अब गाउँपालिकाले सडक खुलाउने विश्वास उहाँको छ । जेठमा जोहो गरेर राखेका खाद्यान्न सबै सकिन थालेको भन्दै स्थानीयवासीले बोकेरै बजारबाट सामान ल्याउन थालेको घर्ती बताउनुहुन्छ ।

“पहिले–पहिले यस्तो सडक थिएन, गाडी पनि गाउँमा जाँदैन्थे, अहिले सडक घरै अगाडि पुगेको छ, तर बर्खामा गाडी गुड्दैनन्, बर्खामा गाडी नगुड्दा यात्रा गर्न र बजारदेखि सामान ल्याउन निकै गाह्रो हुँदो रैछ”, घर्ती मगरले भन्नुभयो, “गाउँमा बल्ल मकै पाक्दैछ, नुन, चामल सबै बजारबाट ल्याउनुपर्ने, दुई महिनासम्म बजार जान पाइएको छैन, चाँडबाड पनि आउन लागे, अब बोकेरै भए पनि चाहिने सामान ल्याउनुपर्ने भयो, सडक खुल्न त अझै महिना दिन लाग्ला, त्यस बेलासम्म भोकै बस्न भएन, घरमा खानेकुरा सकिन थाल्यो ।”

जिल्लाको तमानखोला गाउँपालिकाका धेरै गाउँमा असार दोस्रो सातादेखि नै गाडी सञ्चालन हुन सकेका छैनन् । नर्जाखानी, पात्ले, भित्रिवन, खुङ्खानी, थास्पुरी लगायतका गाउँका बासिन्दाले घोडा खच्चड र मान्छेले नै बोकेर ल्याएका सामान उपभोग गर्दै आएका छन् । स्थानीयवासी मीनबहादुर सिर्पालीले गाउँमा पुग्न बोङ्गादोभान बजारदेखि चार स्थानमा खोला तर्नुपर्ने जनाउँदै अहिले पानीको बहाव बढ्दा समस्या भएको बताउनुभयो । एउटै खोलामा चार स्थानमा पुल आवश्यक पर्ने हुँदा अहिलेसम्म कुनै पनि ठाउँमा पुल नबन्दा समस्या भएको सिर्पाली बताउनुहुन्छ ।

“सडकले हिउँदमा त निकै सहज बनाइदिएको छ, तर बर्खामा भने समस्या बनाउँछ, बाटो बन्द भएपछि हिँडेर बजार आउनुपर्छ, हिँडेरै फर्किनुपर्छ, पहिले–पहिले धेरै ठूलो भारी बोकेर हिँड्दा पनि गाह्रो हुँदैन्थ्यो, अहिले गाडीले गर्दा बानी बिग्रिएर थोरै सामान बोक्न पनि गाह्रो पर्छ”, उहाँले भन्नुभयो, “अब बर्खा सकिन लाग्यो सडक खुलाउलान्, यो बर्खाको समय त निकै सास्ती खेप्नुपर्ने, कतिबेला कहाँ पहिरोले पुर्छ भन्ने डर, कति बेला बाढीले बगाउँछ भन्ने डर हुन्छ ।”

बर्खा कम हुँदै गएपछि खोलामा पानीको बहाव घट्दै गएको हुँदा अब केही समयमै सडक खुलाउने प्रयास गर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । लामो समयदेखि ग्रामीण सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएकाले भौगोलिक विकटताका कारण वर्षौंदेखि समस्या झेल्दै आएको उहाँको भनाइ छ । ग्रामीण सडकमा धेरै समस्या नभएको भन्दै खोलाका कारण यातायातका साधान सञ्चालन हुन नसकेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “दुई वर्ष अगाडिसम्म बुर्तिबाङदेखि गाउँपालिकाको केन्द्र बोङ्गादोभानसम्म पुग्न पनि दुई खोला पार गर्नुपथ्र्यो, खोलामा पुल नहुँदा यातायातका साधान ठप्प हुन्ने, अहिले त पुल बनेको छ, तर बोङ्गादोभानदेखि गाउँ–गाउँमा पुग्न, एउटै खोलाको पनि धेरै स्थानमा पुल बनाउनु पर्ने छ, पालिकाले एक्लै पुल बनाउन सक्ने क्षमता हुँदैन, माथिल्लो निकायसँग माग गरेका छौँ, बिस्तारै पुल पर्‍यो भने सिधा यातायात सञ्चालन हुने छ, नागरिकले अहिलेको जस्तो दु:ख पाउनुपर्ने छैन ।”

केही दिनयता वर्षा रोकिएको हुँदा खोलामा पानीको बहाव पनि कम हुँदै गएको जनाउँदै अब केही दिनमा सबै शाखा सडकहरु खुलाउने तयारी रहेको अध्यक्ष बुढा मगरले बताउनुभयो । वडा नम्बर २ को खोलेस्बाङ लगायत अन्य गाउँमा बाह्रै महिना सडक सञ्चालन नहुने उहाँको भनाइ छ । रासस