• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

सरकारले संघीय निजामती सेवा ऐन संसदमा पेश नगरेकोमा सत्तारुढ दलका सांसदको आक्रोश



file photo

काठमाडौँ । सत्तारुढ दलका सांसदहरुले संघीय निजामती सेवा ऐन अझै संसदमा नल्याएकोमा सरकारको आलोचना गरेका छन् ।

सत्तारुढ नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सो विधेयक तत्काल संसदमा पेश गरी कानून निर्माण गर्न ढिलाई नगर्न सरकारलाई दबाब समेत दिनुभयो । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै काँग्रेस सांसद बडूले प्रहरी समायोजनसम्बन्धि ऐन किन कार्यान्वयनमा नल्याएको भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो । उहाँले राष्ट्रिय सुरक्षा नीति निर्माण गर्न पनि ढिलाई नगर्न सरकारसँग माग गर्नुभयो ।

सांसद बडूले भन्नुभयो, ‘यो संघीय निजामती सेवा ऐन लामो समयदेखि प्रतिक्षा भइराखेको छ । मन्त्रीजी यहाँ आउनुभएको छ । उहाँले कति हेरिसक्नुभएको छ ? थाहा छैन । यसमा धेरै लामो बहस भएर फर्केर फेरि समितिमा आएको हो यो । त्यसकारण यसलाई छिटो यहाँ ल्याऊ । मन्त्रीपरिषद्बाट यो छिटो आओस् । यसको धेरै आवश्यक्ता भइसकेको छ फेरि । यो प्रहरीको समायोजन र समन्वय र कार्य सम्पादन ऐनहरु यसै कारण कार्यान्वयन भइराखेको छैन । त्यसमा सरकारले संशोधन खोजिराखको हो कि अथवा लागू किन नगरिराखेको हो ? यसलाई पनि हेर्नुपर्ने अवस्था मैले देखिराखेको छु । राष्ट्रिय सुरक्षा नीति केही अध्ययन भएर प्रतिवेदनहरु मन्त्रालयहरुमै छन । त्यसमा पनि सल्लाह गर्न आवश्यक छ ।’

नेकपा (एकीकृत समाजवादी)का सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून बनाउने काममा ध्यान नदिएको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले केवल कुर्सीमा बस्नका लागि मात्रै संघीयता ल्याएजस्तो गरेर सरकारले आफ्नो गतिविधिलाई अघि बढाएको आरोप समेत लगाउनु भयो ।

सांसद पाण्डेले भन्नुभयो, ‘न संघीय निजामती सेवा ऐन ल्याउन सक्यो, न प्रहरीलाई समायोजन गर्नसक्यो ? न शिक्षा ऐन ल्याउन सक्यो ? केबल कुर्सीमा पुग्न लागि मात्रै संघीयता भन्ने अर्थ लागेको छ । यसबारेमा पनि हामी सबैले गम्भिरतापूर्वक ध्यान दिन आवश्यक छ ।’

सांसद पाण्डेले संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, प्रहरी समायोजनसम्बन्धि ऐन निर्माण र कार्यान्वयन गर्न सरकारले ढिलाई गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।