५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

कटुवाल प्रथामा प्रविधिको प्रयोग

कटुवाल प्रथामा प्रविधिको प्रयोग
अ+ अ-

ढोरपाटन । बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रुपमा थियो ।

गाउँलेको भेलाले दुई/दुई वर्षमा गाउँमा नयाँ कटुवाल बनाउने प्रचलन अहिले पनि छ । विज्ञानको युगमा पनि पुरानै संस्कार, परम्परा र प्रथालाई अङ्गाल्नु कतिपयले गलत भन्दै आएका छन् भने कतिपयले नेपाली समाजको पहिचानका रुपमा लिएका छन् । खासगरी कटुवाल दलित, जनताति तथा न्यून वर्गका व्यक्तिलाई बनाइँदै आएको पाइन्छ ।

बेरोजगार तथा सामान्य परिवारको व्यक्ति कुटुवाल हुँदा उसको आयआर्जनमा केही टेवा पुग्ने गरेको छ । कटुवाल प्रथालाई पछिल्लो समय विभिन्न जातजाति र समुदायका मानिसले अन्त्य गर्नुपर्ने माग राख्दै आएका छन् ।

विषेशगरी कटुवालले गाउँमा हुने सार्वजनिक कार्यक्रम, सामाजिक कामलगायत कार्यको सूचना गाउँलेलाई घर–घर गएर दिने काम गर्दछन् भने अग्लो डाँडामा गएर हाँको हालेर (चर्को स्वरमा कुर्लिनु) जानकारी दिनुपर्छ । पहिले मोबाइल फोनको पहुँच गाउँलेसम्म नपुग्दा कुटुवालले टाढा–टाढा पुगेर सूचना दिने गर्दथे भने अहिले हरेकको हातहातमा मोबाइल पुगेपछि फोन गरेरै सूचना दिने काम गरिन्छ ।

बागलुङको निसीखोला गाउँपालिका–४ बडाचौरमा केही महिना अगाडि स्थानीय नरबहादुर विकलाई गाउँलेले नयाँ कटुवाल बनाए । सामान्य परिवारका विकलाई गाउँलेले कटुवालमा चुनेपछि उहाँको आयआर्जनमा सहयोग पुग्ने स्थानीय बताउँछन् । एक सय चार घर परिवार रहेको बडाचौरमा कुटुवाल विकले सबैलाई सार्वजनिक कार्यक्रमको सूचना दिनुपर्ने हुन्छ । उहाँले सूचना दिएबापत हरेक बाली भित्र्याउने बेलामा गाउँलेले एक पाथी अन्न र चाडपर्वमा एक माना चामल दिने गर्छन् । वर्तमान अवस्थामा पहिलेको जस्तो जटिल काम गर्न नपर्ने कटुवाल विकको भनाइ छ ।

उहाँले भन्नुभयो, “अहिले त धेरै सजिलो बनाएको छ मोबाइलले, हामीले जान्दा खेरी हाम्रा अग्रज कटुवाल बनेर काम गर्नुभएको देख्दा निकै गाह्रो लाग्थ्यो, उतिबेला कसैको हातमा मोबाइल थिएन, ठूलो कार्यक्रम, पूजाआजा हुँदा सबैको घरमा गएर जानकारी दिनुपथ्र्यो, डाँडामा गएर हाँको हाल्नु पथ्र्यो, अहिले मोबाइलमा रु एक सयको रिचार्ज गर्‍यो भने सबैलाई घरबाटै फोन गरेर सूचना दिन सकिन्छ, नजिक–नजिकमा घरमै पुगेर जानकारी गराए पनि भयो ।”

कटुवाल बडाचौर मात्रै होइन झिम्पा, ओखरेनी, निसी, भल्कोट, थापागाउँलगायत निसीखोलाका सबै गाउँमा कटुवाल छन् । जिल्लाको तमानखोला गाउँपालिका–३ तमान गाउँमा पनि प्रचलन अझै कायमै छ । ठूलो गाउँ, नजिक–नजिक घर भएको हुँदा सूचना आदानप्रदान गर्न र सामाजिक काम गर्न सहज भएको हुँदा कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन् ।

अहिले स्थानीय रूपलाल बुढा मगरले कटुवालको काम गरिराख्नुभएको छ । बुढा मगरले पाँच वर्षदेखि कटुवालको काम गर्दै आउनुभएको छ । गाउँलेले आफूलाई विश्वास गरेर कटुवाल बनाएको हुँदा जिम्मेवार भएर काम गरिरहेको बुढा मगर बताउनुहुन्छ ।

हरेक चार/चार वर्षमा नयाँ कटुवाल बनाउने गाउँलेको नीति रहे अहिलेसम्म आफू नै कटुवालको काम गरिरहेको उहाँको भनाइ छ । तमान गाउँमा तीन सय ७४ घरधुरी छन् । सबै घरका व्यक्तिलाई एकै ठाउँबाट हाँको हालेर सूचना पुर्‍याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिलेलगायतका ठाउँमा पुगेर सूचना दिने गरेको उहाँले बताउनुभयो । गाउँमा एक जना मुखियासमेत हुनुहुन्छ । मुखियाले दिएको आदेशअनुसार आफूले गाउँलेलाई सूचना दिने गर्दै आएको उहाँको भनाइ छ ।

रूपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रम हुँदा गाउँलेलाई यसैगरी सूचना पुर्‍याउने काम गर्दै आउनुभएको छ । पहिले–पहिले गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमको सूचना दिन घरमै पुग्नु परे पनि अहिले फोन गरेरै सूचना दिने गरेको उहाँको भनाइ छ । परम्परादेखि चल्दै आएको गाउँको परम्परालाई आफूले पनि निरन्तरता दिएको उहाँ बताउनुहुन्छ । गाउँलाई सूचना दिनु राम्रो काम भएको भन्दै सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकामा आफू खुसी रहेको उहाँको भनाइ छ ।

“यो प्रथा हामीले सुरुवात गरेका होइनौँ, यो त हाम्रा पुर्खाले सुरुवात गरेको प्रचलन हो, यसलाई हामीहरुले चटक्कै छाड्न त भएननी, बाउ, बाजेको पालामा अहिलेको जस्तो मोबाइल, रेडियो, टेलिभिजनको जमाना थिएनन्, सूचना पाउने र दिने कुनै माध्यम नहुँदा उहाँहरुले यो प्रथाको सुरुवात गर्नुभएको रहेछ”, कटुवाल बुढा मगरले भन्नुभयो, “अहिले त धेरै विकास भयो, सबैले मोबाइल चलाउँछन्, घरघरमा टिभी हेर्छन्, रेडियो सुन्छन्, पहिलेको जस्तो टाढा–टाढा पुगेर सूचना दिने काम अहिले गर्नु परेको छैन, गाउँका सबैको नम्बर राख्यो, काम पर्दा फोन गरेर सूचना दिए हुन्छ ।”

उहाँले वर्षभरी सूचना प्रवाह गरेबापत एक घरबाट रु दुई सय पाउनुहुन्छ । तमान गाउँबाट रूपलालले वार्षिक रु ७४ हजार आठ सय प्राप्त गर्नुहुन्छ । दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरू कामसमेत गर्न सकिने उहाँको भनाइ छ । रुपलालको कार्यकाल सकिएको हुँदा गाउँलेले अब नयाँ कटुवाल बनाउने छन् ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले समाजमा परम्परादेखि चल्दै आएका संस्कार संस्कृति र परम्परा एकै पटक हटाउँदा समस्या हुने हुँदा विस्तारै हट्दै जाने बताउनुभयो । दशकौँ अगाडिदेखि चल्दै आएका कुप्रथाको अन्त्य भएको भन्दै कटुवालले समाजमा सकारात्मक सन्देश दिइराखेको हुँदा अहिलेसम्म निरन्तरता पाएको अध्यक्ष बुढा मगरको भनाइ छ ।

उहाँले भन्नुभयो, “हामीले समाजमा रहेका कुप्रथालाई प्रोहोत्सान दिने संरक्षण गर्ने कुरा त भएन, तमानखोलामा त्यस्ता प्रथा पनि छैनन्, अहिलेसम्म रहेको यही कटुवाल प्रथा हो, यसले समाजलाई नकरात्मकभन्दा सकरात्मक प्रभाव पारेको छ, सूचना प्रवाह गर्ने विषय गलत होइन, यो यहाँ मात्रै होइन, बागलुङका अधिकांश गाउँमा प्रचलनमै छ, सूचना प्रविधिको विकास भएको छ, अब बिस्तारै यसको अन्त्य होला ।” रासस