• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन ★   झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु ★   डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता ★   सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु ★   भरतपुर महानगरपालिकाद्वारा सन्दीप लामिछानेलाई सम्मान ★   पोखरा महानगरपालिकामा अख्तियारको छापा ★   एमाले सचिवालय बैठक जारी – फोटोफिचर ★   उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो ★   प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लामिछाने प्रधानमन्त्री कार्यालयमा ★   सहकारी छानविन विशेष समितिको निर्णय:राजनीतिक दलहरुसँग सहकारी समस्या समाधानका लिखित सुझाव माग गर्ने

जनतामा ठूलो छटपटी र आक्रोश छ: महामन्त्री थापा



झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उहाँले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रुपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताउनुभयो ।

“जनतामा ठूलो छटपटी छ, आक्रोश छ”, उहाँले भन्नुभयो, “जुन दल सत्तामा पुगे पनि, जुन नेता पुगे पनि आफुलाई बदलेका छन्, देश र जनतालाई केही पनि गरेनन् भन्ने आम आक्रोश बढिरहेको छ, यो निराशा कुराले होइन, काम र परिणामले चिरेर कांग्रेसले नै सही नेतृत्व गर्नसक्छ भन्ने सावित गर्नुपर्ने बेला आएको छ ।”

महामन्त्री थापाले नीतिगत भ्रष्टाचार र काण्डै काण्डले सत्तामा पुगेका बदनाम भइरहेका हुँदा कांग्रेसकै कोही नेताले पनि भ्रष्टाचार गरेको रहेछ भने त्यस्तो पापको भारी पार्टीले नबोक्ने स्पष्ट पार्नुभयो ।

प्रमुख दलका नेताहरुले एउटाले अर्कोको भ्रष्टाचारको पोल खोल्छु भनेर तर्साउने गरेको समेत उहाँको आरोप थियो । उहाँले नेपाली कांग्रेसलाई रुपान्तरण गर्नका लागि विसं २०८२ मा पार्टीको महाधिवेशन गर्नुपर्ने र चुनावमा उम्मेदवार छान्न आफ्नै तहका क्रियाशील सदस्यले मतदान गर्ने परिपाटी बसाउनुपर्ने बताउनुभयो ।

आफु वरिपरि डुलिरहने र नजिकमा बसेर चाकरी गर्नेलाई मात्रै चुनावमा उम्मेदवारको टिकट दिने पुरानो प्रणालीले कांग्रेसका सदस्य तथा मतदातामा निराशा बढेको महामन्त्री थापाले आरोप थियो । “माथिबाट टिकट पठाएर उम्मेदवार बनाउने प्रथा अब बन्द हुनुपर्छ”, उहाँले भन्नुभयो, “पार्टीभित्र सबै क्रियाशील सदस्य भएकाले कोही ठूलो र कोही सानो भन्ने हुँदैन ।”

महामन्त्री थापाले २३ प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको स्वर्णिम कालमा मुलुकको समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ आशा जगाउने कुनै कार्य सरकारमा पुगेकाबाट नभएको गुनासो गर्नुभयो ।

पुराना र नयाँ राजनीतिक दलहरु मुलुकको भविष्य तथा जनताको समस्यामा चिन्तित हुन छाडेर २०८४ मा हुने चुनाव कसरी जित्ने भनेर बहकिन थालेको टिप्पणी गर्नुभयो । रासस