• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’ ★   महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह ★   राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेट ★   पोखरामा सडक भासिँदा आवागमनमा समस्या ★   चलचित्र ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक, पोस्टरमा वर्षा बनिन् केन्द्र ★   झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही ★   भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध ★   भारी बर्षाको कारण विराटनगरमा ५ सय बढी घर डुबानमा ★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते

एक सय ९२ जनालाई राप्ती र नारायणी नदीमा माछा मार्न अनुमति



चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि एक सय ९२ जनाले अनुमति पाएका छन् । परम्परागतरूपमा माछा मार्दै आएका उनीहरूको अनुमतिपत्र निकुञ्जले नवीकरण गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अनुमतिपत्र लिनेमा बोटे, माझी, मुसहर, कुमाल, थारू समुदायका रहेका छन् । उहाँले भन्नुभयो, “अनुमति लिनेको सङ्ख्या दुई सय पुग्ने देखिन्छ ।” गत वर्षहरूमा पनि सोही हाराहारीले अनुमति लिएर माछा मार्दै आएका थिए ।

नदी किनारमा बसोबास गरेर नदीमा आश्रित उनीहरूको हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्ने गरिन्छ । निकुञ्जले नदीमा माछा मार्न खुलाएसँगै अनुमतिपत्र नवीकरण गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वैशाखदेखि असारसम्म नदीमा माछा मार्न रोक लगाइएको थियो । साउनबाट माछा मार्न खुला गरेसँगै नवीकरण सुरु गरिएको हो ।”

निकुञ्जले नदीमा आश्रित भएर बसोबास गर्दै आएकाहरूका लागि वैकल्पिक व्यवसायतर्फसमेत केन्द्रित गराउँदै लगेको छ । उहाँका अनुसार निकुञ्जले जगत्पुर क्षेत्रका पाँच युवालाई अटोरिक्सा, नदीमा आश्रित तर आफ्नो जग्गा भएकाहरूलाई माछापालनका लागि सहयोग र सिलाइकटाइ तालिम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम विगत २० वर्षदेखि सञ्चालन हुँदै आएको उहाँको भनाइ छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको सक्रियतामा नदी किनारमा बसोबास गर्दै आएका एवं नदीमा आश्रितलाई अन्य व्यवसायतर्फ समेत केन्द्रित गराउन थालेको उहाँले बताउनुभयो । रासस