• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   संसदमा कांग्रेसको नाराबाजि कायमै ★   कस्तो छ कोलकाताको प्लेअफ आँकडा ? ★   प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग ★   कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न धनुषा अदालतको अनुमति ★   चितवनमा शल्यक्रियाबिना मुटुको प्वाल टालियो ★   म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती ★   थलीमा मृत भेटिएका नगरकोटीका छोरा फर्पिङमा घाइते अवस्थामा फेला ★   उपेन्द्र यादवको दुवै रिट पेशीमा ★   कार्यदलको बैठक निष्कर्षविहीन ★   सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई

पोखरामा महिनादिनमै उप्कियो कालोपत्र



गण्डकी । पोखरा महानगरपालिका–९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो ।

कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । स्थानीय बेलकुमारी रानाभाटले कालोपत्र भत्केपछि सवारी र पैदल यात्रुलाई आउजाउ गर्न असहज भएको बताउनुभयो । “एक महिना पनि कालोपत्र टिकेन, खाल्डाखुल्डी परेर पानी जमेको छ”, उहाँले भन्नुभयो, “यस्तो गुणस्तरहीन काम गर्नेलाई कारबाही गर्नुपर्छ ।”

रानाभाटले कालोपत्रको सतह नमिल्दा वर्षातको पानी घरभित्र छिर्ने गरेको सुनाउनुभयो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको रु दस लाख बजेटबाट ८० मिटर सडक कालोपत्र गरिएको थियो ।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सडक कालोपत्र गर्दा प्राविधिक अनुगमन नपुगेको बताउनुभयो । “वर्षाका बेला हतारहतार कालोपत्र गर्दा हुने नै यही हो, असारे विकासको प्रवृत्ति बेठिक छ”, उहाँले भन्नुभयो, “निर्माणमा लापरबाही भएको देखिन्छ, यसमा सम्बन्धित मन्त्रालयको ध्यान पुगोस् ।” उपभोक्ता समिति बनाएर सडक कालोपत्र गरिएको थियो । निर्माणको भुक्तानी पनि भइसकेको छ ।

पूर्वाधार विकास कार्यालय कास्कीका सूचना अधिकारी ई अनुप थापाले वर्षाका कारण कालोपत्र सेट हुन नसकेको बताउनुभयो । “निर्माणका क्रममा अनुगमन गर्दा लापरबाही भएको देखिएको थिएन, यो विषयमा उपभोक्ता समिति र निर्माण व्यवसायीलाई राखेर कुरा गर्छौँ”, उहाँले भन्नुभयो, “कमजोरी गरेको भेटिएका कारबाही प्रक्रिया अगाडि बढ्छ ।”

ई थापाले वर्षात कम भएपछि सडक मर्मतको काम गरिने बताउनुभयो । उहाँले आर्थिक वर्षको अन्त्यमा हुने विकास निर्माणका काममा गुणस्तरको समस्या देखिने गरेको उल्लेख गर्नुभयो । “समय कम हुन्छ, निर्माण व्यवसायीले पनि हतारहतार काम गर्छन्, प्रभावकारी अनुगमन पनि हुँदैन”, ई थापाले भन्नुभयो । रासस