३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अव्यवस्थित विकासले बर्खामा सकस

अव्यवस्थित विकासले बर्खामा सकस
अ+ अ-

ढोरपाटन । बागलुङमा हरेक वर्ष हिउँद लाग्नासाथ नयाँ–नयाँ ठाउँमा सडकको ‘ट्र्याक’ खुल्छन् । ट्र्याक खुलेका सडकमा वर्षौंसम्म गाडी गुड्दैनन् । बर्खा लाग्यो भने ती सडक भत्किएर बग्छन् । बस्तीमाथि रहेका सडकले त झन् सिङ्गो गाउँलाई नै जोखिममा पर्ने गर्दछन् । जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका ग्रामीण सडक बन्द भएको डेढ महिना बित्यो । असार पहिलो सातादेखि नै बन्द भएका सडक अहिलेसम्म बन्द नै छन् । वर्षाका कारण पहिराले अवरुद्ध बनेका सडक अब असोज लागेपछि मात्रै खुल्नेछन् ।

कतिपय सडक पहिराले त कतिपय खोलामा पानीको बहाव बढ्दा बन्द छन् । धेरैजसो अव्यवस्थित रुपमा निर्माण भएका संरचनाले नै अवरुद्ध गरेका छन् । ग्रामीण सडक त अवरुद्ध छँदै थिए, समय–समयमा शाखा सडकबाट आउने भेल र बाढीले राष्ट्रिय लोकमार्ग पनि अवरुद्ध हुँदै आएको छ । अव्यवस्थित र वातावरणीय प्रभाव मूल्याङ्कन बिना निर्माण भएका शाखा सडकले राष्ट्रिय राजमार्गसमेत क्षतविक्षत बन्दा सयौँ सवारी साधन र हजारौँ यात्रु बेला–बेला अलपत्र पर्दै आएका छन् । ग्रामीण सडक सञ्चालन नहुँदा जनजीवन नै कष्टकर हुँदै आएको छ ।

निसीखोला गाउँपालिका–४ ओखरेनीमा केही वर्ष अगाडि मोटरबाटो पुग्यो । मोटरबाटोले स्थानीयवासीलाई सहज त बनायो तर बर्खामा धेरैलाई उठिबाससमेत लगाएको छ । ओखरेनी गाउँमा पुगेको मोटरबाटोले सोही गाउँको विभिन्न टोल चिनारे गाउँ नै पहिराको उच्च जोखिममा परेको छ । हरेक वर्ष गाउँका दर्जन घर पहिराको जोखिममा पर्ने गरेका छन् । हिउँदमा जसोतसो गाडी चले पनि बर्खा लाग्नासाथ कच्ची भू–भागका कारण यातायात ठप्प हुन्छ । वातावरणीय प्रभाव मूल्याङ्कन बिना सडक निर्माण गर्दा गाउँ नै पहिराको जोखिममा परेको स्थानीयवासीको गुनासो थियो । गाउँमा पुगेको उक्त सडकबाट भलसहितको लेदोले मध्यपहाडी लोकमार्गको धरमशाला कालापैरामा दिनदिनै सडक अवरुद्ध गराउँदै आएको छ ।

पानी पर्नेबित्तिकै माथिदेखि भल आएर एकै छिनमा सडक पुरीदिँदा लोकमार्ग अवरुद्ध हुने गरेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले बताउनुभयो । बर्खा लागेदेखि थापागाउँ, बडाचौरलगायत गाउँका सडक बन्द रहेको उहाँको भनाइ थियो । अब नयाँ सडक निर्माण गर्न रोकेर पुरानालाई स्तरोन्नति गर्ने गरी योजना बनाइएको उहाँले बताउनुभयो । धेरै सडक निर्माण गर्दा बस्तीसँगै पर्यावरणमा असर पुग्ने भन्दै अब सडक दीर्घकालीन रुपमा चल्ने गरी निर्माण गरिने उहाँले उल्लेख गर्नुभयो ।

“स्थानीय तह अगाडि कुनै पनि गाउँमा सडक पुगेका थिएनन्, पालिकाले सबै ठाउँमा सडक पुर्‍याउने योजना बनाएको थियो, सोहीअनुसार धेरै गाउँमा सडक पुगे, अहिले मोटरबाटो नपुगेको कुनै पनि गाउँ छैन,” अध्यक्ष पौडेलले भन्नुभयो, “धेरै ठाउँमा सडकका कारण बस्ती विस्थापित हुने अवस्था आएको छ, हाम्रोमा त त्यो समस्या छैन अहिलेसम्म, हिउँदमा चल्ने, बर्खामा नचल्ने सडकलाई अब बाह्रै महिना सञ्चालनमा ल्याउने गरी काम थालेका छौँ ।”

जिल्लाको तमानखोला गाउँपालिकाका सबै ग्रामीण सडक असारदेखि नै ठप्प छन् । बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म चल्ने सडक नियमित चले पनि अन्य सडक बन्द छन् । बडिगाड, ढोरपाटन, गलकोटलगायत ठाउँका ग्रामीण सडक पनि बर्खामा चल्दैनन् । भौगोलिक अवस्था, सरोकारवालाको बेवास्ता तथा गाउँगाउँमा मनपरी सडक खन्ने प्रवृत्तिका कारण ग्रामीण र मुख्य सडक क्षतविक्षत हुँदै गएको स्थानीयवासी प्रेमबहादुर पुनले बताउनुभयो ।

पुराना सडकलाई बेवास्ता गर्ने र मनपरी नयाँ शाखा सडक खन्ने प्रवृत्तिका कारण बर्खामा सडक सञ्चालन हुन नसक्ने उहाँको भनाइ थियो । “काम परेर बजार जान पर्‍यो भने दुई/तीन ठाउँ गाडी परिवर्तन गर्नुपर्छ, गाउँतिर निकै समस्या हुन्छ, पानीका कारण ठाउँ–ठाउँमा सडक बिग्रिएको छ, यात्रा गर्न निकै गाह्रो,” स्थानीयवासी पुनले भन्नुभयो, “बर्खामा सबैभन्दा धेरै पहिरो सडकमै जाने गरेको छ, सडक खन्ने बेला नाप जाँच गरेर निर्माण गरेको भए, बर्खामा यस्तो समस्या आउने थिएन, हामी भुइँ मान्छेको कुरा कसैले सुन्दैनन् ।”

बागलुङमा निर्माण भएका कतिपय ग्रामीण सडक सरकारी मापदण्ड विपरीत वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै खनिएका छन् । यस्ता सडक प्राविधिक दृष्टिले जोखिमयुक्त मानिन्छन् । वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै सडक खन्ने होडबाजीका कारण पहिराको जोखिमका साथै गाउँ नै कुरूप हुँदै गएका छन् । सबैलाई पायक पर्ने एउटै सडक निर्माण गरी सोही सडकलाई फराकिलो बनाएमा मात्र समस्या केही समाधान हुने स्थानीयवासी तिलबहादु घर्तीले बताउनुभयो ।

उहाँले गाउँ–गाउँमा निर्माण भएका सडक निकै साँघुरा र दुर्घटना नित्याउने खालका भएको छ भन्नुभयोे । नयाँ सडक खोल्नका लागि सरोकारवाला निकायले चासो दिएको स्थानीयवासी घर्तीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “बाटो अलि फराकिलो बनाउनुपर्छ, गाउँ–गाउँमा पुगेर हेर्ने हो भने त्यहाँ बनेका सडकमा मोटरसाइकल पनि गुड्दैनन्, गाडी गुड्ने त कुरै भएन, हिउँदमा बाटो खन्छन्, बर्खामा बगाउँछ, विकास दीर्घकालीन हुन सकेको छैन, जहाँ पनि बाटो मात्रै खनेको देखिन्छ, अरू विकास कम भएको पाइन्छ ।” रासस