• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति

वर्षाका कारण क्षतिग्रस्त सडक चाँडो चालु गराउन मन्त्री ज्वालाको निर्देशन



फाईल फोटो

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिनुभएको छ ।

अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल सङ्कलन गर्न र पुन:निर्माण सुरु गर्न मातहतका निकायलाई उहाँले निर्देशन दिनुभएको हो ।

सोमबार अपराह्नदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको छ । देशभरका सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल सङ्कलन गर्न मन्त्री ज्वालाले निर्देशन दिनुभएको छ । अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ । ठाउँठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ । सडक भासिएपछि आवत–जावत पूर्णरुपमा बन्द भएको छ ।

मन्त्री ज्वालाले भीमदत्त सडकको तत्काल पुन:निर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिनुभयो । निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मूल गेट नजिकै पहिरो जाँदा बुटवल–पाल्पा सडक अवरुद्ध बनेको छ । अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धित क्षेत्रका निर्देशकलाई निर्देशन दिनुभएको छ ।

मकवानपुरको बागमती गाउँपालिका सिग्रेमा पहिरोमा परी सन्तमाया स्याङ्तानको निधन भएको थियो । बाढी र पहिराका कारण क्षतिग्रस्तमध्ये अहिले चार राष्ट्रिय राजमार्ग ठप्प रहेका सडक विभागले जनाएको छ । रासस