३० कार्तिक २०८१, शुक्रबार
,
Latest
कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कास्की प्रहरीको दुर्व्यवहार स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो हेलो रोबोट ! तिम्रो नाम के हो ? ‘कान्छाराम कन्स्ट्रक्शन’को आवद्धता दुई वर्ष अगाडि नै छाडेको होः ऊर्जाराज्यमन्त्री तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डेभिज फल्स’ को व्यवस्थापनमा महानगरको चासो



अ+ अ-

लेखनाथ । पर्यटकीय नगरी पोखराको ‘डेभिज फल्स’ले परिचित पातले छाँगो पोखरा पुग्ने अधिकांश पर्यटकका लागि ‘बकेट लिस्ट’को गन्तव्य हो । फेवाताल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये त्यहाँ नपुग्ने सायदै हुन्छन् ।

पोखरा(१७ मा अवस्थित पातले छाँगो पर्यटकका लागि पर्यटकीय गन्तव्य मात्रै भए पनि यो त्यतिमा मात्रै सीमित छैन । पर्यटकबाट हुने मुख्य आम्दानी यसको संरक्षण र विकासका साथै छोरेपाटन माध्यमिक विद्यालय सञ्चालनमा खर्च हुने गरेको छ ।

पातले छाँगाको कुल आम्दानीमध्ये ४० प्रतिशत व्यवस्थापनका लागि खर्च हुने गरेको छ भने बाँकी ६० प्रतिशत विद्यालयका शिक्षकको तलब, शैक्षिक तथा भौतिक विकासका लागि खर्च हुने गरेको छोरेपाटन मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारीको भनाइ छ ।

पातले छाँगामा प्रवेश शुल्कबाट हाल मासिक रु २५ लाख विद्यालयमा निजी स्रोतबाट नियुक्त भएका शिक्षक र कर्मचारीमा खर्च हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक डिल्लीराम भुसालका अनुसार एक सय १२ शिक्षक तथा कर्मचारी रहेको विद्यालयमा ३० जना शिक्षक मात्रै सरकारी दरबन्दीका छन् । बाँकी सबै ७० शिक्षक तथा कर्मचारी निजी स्रोतबाट राखिएको छ । जसको खर्च पातले छाँगाको आम्दानीबाट हुँदै आएको छ ।

भुसालका अनुसार पातले छाँगामा प्रवेश शुल्कवापत वार्षिक रु तीन करोडभन्दा बढी सङ्कलन हुन्छ भने सटर भाडावापत वार्षिक रु एक करोड ५० लाख आम्दानी हुने गरेको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई तलब खुवाएपछि बचत भएको रकम छाँगाको संरक्षण तथा सम्बद्र्धनका लागि विकासमा खर्च हुने गरेको छोरेपाटन मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारीको भनाइ छ ।

विसं २०३५ देखि उक्त सामुदायिक विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउँदै आएको छ । “विद्यालयमा दुई हजार तीन सयभन्दा वढी विद्यार्थी अध्ययनरत छन्”, अध्यक्ष पहारीले भन्नुभयो, “जसमध्ये उच्च माविमा करिब पाँच सय विद्यार्थी छन् ।” यहाँ कक्षा १ देखि ८ सम्म नि:शुल्क अध्यापन हुन्छ भने कक्षा ९ र १० का लागि मासिक रु एक सय लिने गरिएको अध्यक्ष पहारीले जानकारी दिनुभयो ।

गएको ४० वर्षदेखि यसैगरी विद्यालयको व्यवस्थापनमा सघाउँदै आएको पातले छाँगाको आम्दानीमा अहिले आएर पोखरा महानरपालिकाको आँखा लागेको छ । “महानगरले आफ्नो मातहतमा ल्याएर निजी क्षेत्रलाई पातले छाँगो ठेक्का दिने योजना बनाएकाले विद्यालय व्यवस्थापनलाई पातले छाँगाको व्यवस्थापन छाड्न दबाब दिँदै आएको छ”, अध्यक्ष पहारीले भन्नुभयो ।

कूल १२ रोपनी क्षेत्रफलमा फैलिएको यस पर्यटकीयस्थलमा आन्तरिकका साथै भारतीय र चिनियाँ पर्यटकको अत्यधिक चाप हुने गरेको पातले छाँगोमा टिकट काउन्टरका प्रमुख सुरेन्द्र सापकोटाले बताउनुभयो । उहाँका अनुसार असोज र कात्तिकमा पर्यटकको चाप बढी हुन्छ । यहाँ पर्यटकका लागि विद्यार्थीका लागि छुटसहित रु २०, नेपाली नागरिकका लागि रु ४०, भारतीयलाई रु ८० र तेस्रो मुलुकका नागरिकलाई एक सय प्रवेश शुल्क लिने गरिएको छ ।

पोखरा –१७ छोरेपाटनस्थित पातले छाँगोले वर्षादको समयमा पर्यटकलाई झनै लोभ्याउने गर्छ । जमिनको सतहभन्दा तल अर्को पर्यटकीय स्थल गुप्तेश्वर गुफातर्फ झर्ने यो छाँगोलाई गुफाको भित्री भागबाट समेत देख्न सकिन्छ ।

हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हो । पातले छाँगो र गुप्तेश्वर गुफा नजिकै पुम्दीमा शान्ति स्तुप र हालै ठूलो आकारको शिव मूर्ति निर्माणसँगै त्यस क्षेत्रमा पुग्ने पर्यटक पनि यहाँ आउने गरेका छन् ।

कोरोना महामारीपछि छाँगो अवलोकन गर्नेको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको जानकारी पातले छाँगो स्थित टिकट काउन्टरका कर्मचारी रेशम खड्काले दिनुभयो । यतिबेला छाँगो अवलोकन गर्न आउने नेपाली र भारतीय पर्यटक बढी हुने गरेको उहाँको भनाइ छ ।

डेभी नाम गरेकी एक स्वीस पर्यटक सन् १९६१ मा यस छाँगोबाट खसेर बेपत्ता भएपछि उनको नाममा यसको नाम ‘डेभिज फल्स’ रहन गएको हो । पाँच सय मिटर भूमिगत जल प्रवाह र एक सय फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ । विशेष गरी जेठदेखि असोज महिनासम्म छाँगो हेर्न आकर्षक मानिन्छ । छाँगो वरपरका फूलका बगैँचा, परम्परागत घर, हिमालका कृत्रिम दृश्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोषाकसहितका तस्बिर खिच्ने ठाउँहरुले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । रासस