२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्व राष्ट्रपति बिद्यादेबी भण्डारीले बाघको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटनामा समेत वृद्धि हुनु चिन्ता र चुनौतिको विषय भएको जनाउनु भएको छ ।

विश्व बाघ दिवस, २०८० को अबसरमा शुभकामना सन्देश जारी गर्नुहुदै पूर्वराष्ट्रपति भण्डारीले वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार‚ बाघका लागि आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि गर्न घाँसे मैदानको विस्तार र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायहरूको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्‍याउनु आग्रह गर्नुभएको छ ।

उहाँले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन एवम् आर्थिक विकासका लागि समेत महत्त्वपूर्ण हुने भएकाले संरक्षणका उचित उपायहरू अवलम्बन गर्दै यसलाई निरन्तरता दिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीहरूलाई आव्हान गर्नुभएको छ ।

सन्देशमा भनिएको छ सन् २०१० मा रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्‍व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या १२१ बाट दोब्बर बनाएर सन् २०२२ सम्म २५० पुर्‍याउने प्रतिवद्धता जाहेर गरेको थियो । जसअनुसार नेपालले लक्ष्यभन्दा बढी बाघको सङ्ख्या वृद्धि गरी हाल ३५५ पुर्‍याउन सफल भएको छ । यसबाट विश्वका १३ देशमा मात्र पाइने पाटे बाघ लगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले सकारात्मक पहिचान निर्माण गरेको छ । यो हाम्रो लागि गौरबको विषय हो । यस अवसरमा म वन्यजन्तु संरक्षणसँग सम्बद्ध निकाय, संघ संस्था, समुदाय र संरक्षणकर्मीहरूलाई हार्दिक बधाई दिन चाहन्छु ।

उहाँले जैविक विविधताको संरक्षण एवम् स्वस्थ पारिस्थितिक प्रणालीको निर्माणमा समेत योगदान गर्ने दुर्लभ वन्यजन्तु पाटे बाघको संरक्षणमा अझ ऊर्जाशील भई लागिरहन विश्‍व बाघ दिवसले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । जुलाई २९ का दिन प्रकृतिको सुन्दर प्राणी पाटे बाघको संरक्षणका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्वभर ‘अन्तर्राष्ट्रिय बाघ दिवस’ मनाउने गरिन्छ ।