• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

यस वर्ष पर्याप्त मात्रामा पानी नपर्दा रोपाइँमा ढिला, साउनसम्म खेत बाँझै



डुम्रे । असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायःजसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ ।

पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको भानु नगरपालिका–२ का देवबहादुर कमली बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यस वर्ष त रोपाइँ नै ढिला भयो, विगतमा असारको २२/२३ गतेसम्ममा रोपाइँ सकिन्थ्यो, अहिले साउनको आधी समय घर्किन लागिसक्यो, रोपाइँ सकिएको छैन ।”

रोपाइँ गर्ने बेलामा पानी नपर्दा किसानलाई सास्ती नै सास्ती छ । पानीको जोहो होला र अनी धान रोपौँला भनेर किसान पर्खेर बसेका छन् । व्यास नगरपालिका–७ कलेस्तीका शिवलाल प्रधानले पानी अभावले आधा खेतमा मात्रै रोपाइँ गरिएको बताउनुभयो । “बल्लतत्ल आधी खेलमा रोपाइँ सकियो, यसपाली राम्रो उब्जनी हुँदैन भन्ने डर छ”, उहाँले भन्नुभयो ।

कुवा, पधेँरो, खोला र खोल्सीको पानीले खेती गरिने खेतमा पानीको अभावले धान रोपाइँ गर्न सकिएको छैन । “पहिला त जेठदेखि नै पर्याप्त पानी पथ्र्यो, यसपाली त न पानी पर्यो, न खेत रोप्न सकिएको छ, किसानलाई जताबाट पनि सास्ती नै सास्ती छ”, प्रधानले भन्नुभयो ।

पर्याप्त वर्षा भएपछि कुवा, पधेँरो, खोला, खोल्सीको पानीको मुहान बढेर आएपछि सबैजसो खेतमा धान रोपिने गरेको व्यास–७ का प्रदीप घिमिरे बताउनुहुन्छ । “यस वर्ष पानी नपर्दा खेतीयोग्य जमिन बाँझिदैछन्”, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले समयमा पर्याप्त वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझिने क्रम बढेको जानकारी दिनुभयो । “समयमा वर्षा भएको भए सबै खेतमा रोपाइँ हुने थियो, यस वर्ष १५ प्रतिशत खेतीयोग्य भूमि बाँझै रहने देखिन्छ”, उहाँले भन्नुभयो– “विगतका वर्षमा असार मसान्तमा अधिकांश खेतमा धान रोपाइँ सकिन्थ्यो, तर यस वर्ष किसान वर्षाको पर्खाइमा छन् ।”

यस वर्ष साउन ९ गतेसम्ममा ७५ प्रतिशतमात्रै रोपाइँ सकिएको प्रमुख तिवारीले जानकारी दिनुभयो । “केही वर्षा भएकाले यस वर्ष ८५ प्रतिशत रोपाइँ हुने देखिएको छ”, उहाँले भन्नुभयो । वर्षा नहुँदा खेती हुने फाँटमै पानी नपुगेर रोपाइँ नभएको पाइएको उहाँले बताउनुभयो । जिल्लामा कुल ११ हजार हेक्टरमा बर्खे धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त जग्गामा तनहुँमा २४ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ ।

जिल्लामा रामधान, सावित्री, हर्दिनाथ १, हर्दीनाथ हाइब्रिड १ लगायतका धान लगाउने गरिएको छ । सिँचाइ सुविधा भएका चुँदीफाँट, कलेस्ती फाँट, माझफाँट, साँगे फाँट, पुट्टार फाँट, रिस्ती फाँटलगायत फाँटमा पर्याप्त मात्रामा धान फल्छ । रासस