• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

अफगानिस्तानमा तालिवानको नयाँ आदेशमा हजारौँ ब्यूटीपार्लर बन्द हुँदै



काबुल । अगस्ट २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबान सरकारले किशोरी र महिलाहरूलाई हाई स्कूल र विश्वविद्यालयहरूमा प्रतिबन्ध लगाएको छ । उनीहरूलाई पार्क, मनोरञ्जन स्थल र जिमहरूमा प्रतिबन्ध लगाउनुका साथै सार्वजनिक रूपमा बुर्का लगाउन आदेश दिएको छ।

तर गत महिना जारी गरिएको आदेशले महिलाहरूद्वारा सञ्चालित राष्ट्रव्यापी हजारौँ ब्यूटीपार्लरहरु बन्द गर्न बाध्य पार्दैछ । प्रायः घरपरिवारहरूको आयको एक मात्र स्रोत र उनीहरूलाई घरबाट टाढा सामाजिकीकरण गर्नका लागि बाँकी रहेका केही अवसरहरू मध्ये ब्यूटीपार्लरलाई पनि तालिबान सरकारले अवैध बनाउँदै छ।

“हामी सँगै हाम्रो भविष्यको बारेमा कुरा गर्न यहाँ आउँथ्यौँ। अहिले हामीबाट यो अधिकार पनि खोसिएको छ”, काबुल सैलुनका ग्राहक बहाराले भनिन्, “महिलाहरूलाई मनोरञ्जन स्थलहरूमा प्रवेश गर्न अनुमति छैन । त्यसोभए हामीले के गर्ने ? हामी कहाँ रमाइलो गर्न जान सक्छौँ ? हामी एक अर्कालाई भेट्न कहाँ भेला हुन सक्छौँ ?”

गत हप्ता सुरक्षा अधिकारीहरूले आदेशको विरुद्धमा प्रदर्शन गरिरहेका दर्जनौँ महिलाहरूलाई तितरबितर पार्न काबुलमा हवाई फायर गरेका थिए ।

जुनको अन्त्यमा सद्गुणको प्रवर्द्धन र दुष्टताको रोकथाम मन्त्रालयले मंगलबारसम्म ब्यूटीपार्लरहरुलाई बन्द गर्न मंगलबारसम्मको समय दिएको छ ।

मेकओभरमा खर्च भएको अत्यधिक रकमले गरिब परिवारलाई कठिनाइ भएको र ब्यूटीपार्लरमा हुने केही उपचारहरू गैर–इस्लामिक भएकोले यस्तो आदेश दिइएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयले धेरै मेकअपले महिलाहरूलाई प्रार्थनाका लागि उचित स्नान गर्न रोक्ने बताएको छ ।

आदेशको प्रतिलिपिले यो ‘सर्वोच्च नेता’ हिबतुल्लाह अखुन्दजादाको मौखिक निर्देशनमा आधारित रहेको बताएको छ।

संयुक्त राज्य अमेरिकाको नेतृत्वमा सेनाले देश कब्जा गरेको २० वर्षको अवधिमा काबुल र अफगानिस्तानका अन्य सहरहरूमा धेरै ब्यूटीपार्लरहरू खुलेका थिए ।

ब्यूटीपार्लरलाई पुरुषहरूबाट टाढा भेला हुने र सामाजिक मेलमिलाप बढाउनका लागि सुरक्षित स्थानको रूपमा हेरिएको थियो र महिलाहरूका लागि महत्त्वपूर्ण व्यापार अवसरहरू प्रदान गरिएको थियो ।

तालिबान सत्तामा आएपछि हजारौँ महिला सरकारी कर्मचारीहरूले या त आफ्नो जागिर गुमाएका छन् वा घरमै बस्न बाध्य भएका छन्।

तर अफगानिस्तान वुमेन्स चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अनुसार ब्यूटीपार्लरमा प्रतिबन्ध लगाइएपछि अन्य ६० हजार महिलाले १२ हजार सैलुनमा काम गर्ने आम्दानी गुमाउनेछन्।

अफगानिस्तानका लागि विशेष दूत रिचर्ड बेनेटले गत महिना संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई दिएको एक प्रतिवेदनले देशमा महिला र किशोरीहरूको दुर्दशा ‘विश्वमा सबैभन्दा खराब मध्ये एक’ भएको बताएको छ।

“महिला र किशोरीहरू विरुद्ध गम्भीर, व्यवस्थित र संस्थागत भेदभाव तालिवानको विचारधारा र शासनको केन्द्रविन्दु हो, जसले उनीहरूलाई लैङ्गिक रंगभेदका लागि जिम्मेवार हुनसक्ने चिन्ता पनि बढाउँछ”, बेनेटले भने।