• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ? ★   बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ? ★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा

पाँच वर्षपछि युनेस्कोमा फेरि फहराउँदै अमेरिकी झण्डा



वासिङ्टन: पेरिसस्थित राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को)को प्रधानकार्यालयमा अमेरिकाको राष्ट्रिय झण्डा भोलिदेखि पुनः फहराउने भएको छ ।

प्रथम महिला जिल बाइडेनले देशको झण्डा फहराउँदै आफ्ना पतिका तर्फबाट विशिष्ट व्यक्तिमाझ अमेरिकी धारणा प्रस्तुत गर्नुहुनेछ । युनेस्कोमा अमेरिकाको पुनःफिर्ती कार्यक्रमलाई सम्बोधन गर्न छोरी आस्लेका साथ राष्ट्रपति जो बाइडेनको दूत बनेर प्रथम महिला जिल सोमबार अपराह्न पेरिस पुगिसक्नुभएको छ । भर्जिनिया सामुदायिक कलेजकी अङ्ग्रेजीकी अध्यापिका जिल युनेस्कोका लागि उपयुक्त पात्र भएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपतिको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकबाट प्रारम्भ भएको उहाँको अन्तरराष्ट्रिय भ्रमण बेलायतका राजारानीको शुभराज्याभिषेक, जोर्डनका युवराजको विवाहपछि युनेस्कोमा पुगेको छ । शिक्षा, विज्ञान र संस्कृतिका क्षेत्रमा विश्वव्यापी साझेदारी र सहकार्य गर्ने युनेस्कोले विश्वका पुरातात्विक एवम् ऐतिहासिक सम्पदालाई अनन्तकालसम्म संरक्षण गर्नुपर्ने स्मारक एवम् सम्पदास्थललाई विश्व सम्पदा सूचीमा समावेशसमेत गर्दै आएको छ ।

हालै ओडेसाको गिर्जाघर र युक्रेनका अन्य सम्पदास्थलमा रुसले गरेको आक्रमणको निन्दा गरेको उक्त राष्ट्रसङ्घीय निकायले क्षतिको अनुगमन गर्न चाँडै नै विज्ञहरूको टोली परिचालन गर्ने बताएको छ । गत वर्ष ओडेसाको क्याथेड्रललाई विश्वसम्पदा सूचीमा समावेश गरिएको थियो । रुसले विश्वसम्पदा सूचीमा रहेका स्थानमा आक्रमण नगर्ने प्रतिबद्धता पालना नगरेकामा युनेस्कोले मस्कोको ध्यानाकर्षण गराएको छ ।

बुधबार वासिङ्टन फर्कनुअघि प्रथम महिलाले विश्व सम्पदा सूचीमा रहेको एक हजार वर्ष पुरानो बेनिडिक्टिन विहारको भ्रमण गर्नुहुनेछ । उक्त विहार सन् १९७९ मा विश्वसम्पदा घोषित भएको हो ।

युनेस्को इजरायलविरुद्ध पक्षपाती रहेको दाबी गर्दै रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिका युनेस्कोबाट बाहिरिएको हो । एक सय ९३ सदस्यीय युनेस्कोमा अमेरिकी अनुपस्थितिले चिनियाँ चासो प्रवद्र्धनमा बल पुग्ने ठानेर उसलाई सन्तुलनमा राख्न त्यस संस्थामा पुनः सम्मिलित हुने निर्णय बाइडेन प्रशासनले गत महिना गरेको हो ।

यसै महिनाको प्रारम्भमा युनेस्कोको कार्यकारी परिषद्ले सङ्गठनमा पुनः सामेल हुन अमेरिकाले गरेको आवेदन एक सय ३२ मतले पारित गरेको थियो । एपी, रासस