• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध

लम्पी स्किनको प्रभाव: सुदूरपश्चिममा २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित



फाईल फोटो

महेन्द्रनगर । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि एको छ ।

तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा छ सय ३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगायएको छ ।

“तीन वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया सङ्क्रमित हुँदै आएका छन्”, डा अवस्थीले भन्नुभयो, “यस वर्ष पहाडी जिल्लामा कडा खालको सङ्क्रमण देखियो ।”

‘पोक्स’ भाइरसको सङ्क्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार पाँच सय पशुचौपाया सङ्क्रमित भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका अधिकृत पुष्करराज नाथले जानकारी दिनुभयो । कैलालीमा १५ हजार बाच्छाबाच्छी, ८३ हजार तीन सय ९३ गाई, २१ हजार तीन सय ५१ गोरु र एक लाख १३ हजार तीन सय २७ भैँसी यसबाट सङ्क्रमित भएका छन् । कैलालीमा लम्पी स्किनबाट हालसम्म छ सय ५७ पशुचौपाया मरेको तथ्याङ्क छ ।

यसैगरी लम्पी स्किनबाट बझाङमा चार हजार छ सय २३ पशुचौपाया मरेका छन् । सबैभन्दा कम कञ्चनपुरमा १८ पशुचौपाया सो रोगबाट मरेको तथ्याङ्क छ ।

यस्तै अछाममा एक हजार छ सय ७८, डोटीमा तीन हजार छ सय ७९, बाजुरामा सात सय ५३ र दार्चुलामा एक हजार छ सय ६९ र डडेल्धुरामा दुई हजार तीन सय ९६ पशुचौपाया लम्पी स्किनबाट मरेको तथ्याङ्क छ ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीमा प्रमुख गुमानीदत्त पन्तले रोगको नियन्त्रणका लागि पहल भइरहेको जानकारी दिनुभयो । “मन्त्रालय र स्थानीय तहको पहलमा औषधि वितरण गर्ने काम भइरहेको छ । पालिकामार्फत पशुपालक किसानलाई औषधि वितरण गरिँदै छ”, उहाँले भन्नुभयो । औषधि र खोप अभाव भएको पन्तले बताउनुभयो । रासस