काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच टेलिफोन संबाद भएको छ । बुधबार दिउसो करिब ४० मिनेट भएको छलफलमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रियामा सहजीकरण गरिदिन राष्ट्रपति सीलाई आग्रह गर्नुभएको थियो ।
‘कोभिड १९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व बनेको छ त्यसैले नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न हामी इच्छुक छौं, यस प्रक्रियामा सहजीकरण गरिदिन म महामहिम राष्ट्रपतिलाई आग्रह गर्दछु’ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसँग भन्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले न्युजपोलारलाई जानकारी दिनुभयो ।
उच्च स्रोतका अनुसार चीन सरकारले कोरोना भाइरसका विरुद्धमा खोप किन्न पनि नपाएको नेपाललाई ठूलो मात्रामा खोप दिने भएको तयारी गरेको छ । नेपाल सरकारको प्रस्ताव अनुसार चीनले नेपाललाई लगभग एक करोड डोज नै खोप दिने तयारी गरेको बेइजिङस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।
सो समाचार स्रोतले भन्यो– नेपालको प्रस्ताव अनुरुप नै चीनले अनुदान तथा खरिद पनि निकै सस्तो मूल्यमा नेपाललाई कोरोनाको खोप दिने भएको छ, अब छिट्टै नै यो प्रक्रिया शुरु हुनेछ । एक करोड जति मात्रा खोप चीनले नेपाललाई दिने विषयमा नेपाल र चिनियाँ अधिकारीहरुबीच सूचना भने आदानप्रदान भइसकेको छ ।
यो पनि पढ्नुस् :











