• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

ललितपुर महानगरको घर ‘मेट्रिक’ ठेगाना प्रणालीमा



पाटन । ललितपुर महानगरका– ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन् । ललितपुर महानगरभित्रका सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण सम्पन्न समेत भएको छ ।

भौगोलिक सूचना प्रणाली (जिआई एस) अधिकृत उत्तम काकीले महानगरपालिकाका २९ वटै वडाका ६० हजार नौ सय ८८ घरलाई सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गरिएको जानकारी गराउनुभयो । २०७४ सालमा सम्पन्न दोस्रो नगरसभाले सडक सञ्जाल तथा मेट्रिक ठेगाना प्रणाली अनुसार घर नम्बर वितरण गर्ने निर्णय गरेको थियो ।

अब ललितपुर महानगरमा तपाईंले भेट्न चाहेको व्यक्तिको घर नम्बर र सडकको नाम थाहा पाउनुभयो भने ललितपुर महानगरभित्रको घरमा तपाई सजिलै पुग्न सक्नु हुन्छ । “महानगरभित्र एकल बसोबास, संयुक्त आवास, व्यावसायिक भवन, कार्यालय तथा संस्था, मठमन्दिर लगायत सम्पूर्ण स्थायी तथा अस्थायी संरचनासहित ९१ हजार तीन सय ९९ संरचना तथ्याङ्कमा ‘रेकर्ड’ भएका छन् । हामीले स्थायी संरचना र बसोबास भएका घरलाई मात्रै घर नम्बर वितरण गरेका छौँ । अस्थायी संरचना रेकर्डमा मात्रै छन्,“अधिकृत कार्कीले भन्नुभयो ।

महानगरका २९ वडामध्ये सबैभन्दा बढी वडा नं १४ मा तीन हजार आठ सय ९३ घरमा रहेका छन् भने सबै भन्दा कम वडा नं १ मा एक हजार एक सय ३५ घर रहेका छन् । घर नम्बर वितरणसँगै महानगरभित्रका एक हजार दुई सय ८५ मुख्य सडकको नामाकरण गरेर मेट्रिक प्रणालीमा समावेश भएको उहाँले बताउनुभयो । महानगरभित्र सबै सडक तथा खण्ड सडकको सङ्ख्या नौ हजार नौ सय २० रहेको जनाइएको छ ।

महानगरले नगरपालिकाभित्र सुशासन कायम गर्दै प्रदान गरिने सेवा सुविधालाई व्यवस्थित गर्न भौगोलिक सूचना प्रणालीमा आधारित घर नम्बर वितरण भएको बताइएको छ ।

महानगरप्रमुख चिरीबाबु महर्जनले भन्नुभयो“ यो स्मार्ट सिटीको मुख्य आधारतत्व हो । यसबाट महानगरले उठाउने राजस्व समयमै उठाउन सहज हुनेदेखि नगरवासीले पाउने सेवा सुविधासम्म समयमै प्रदान गर्न सहज हुन्छ । ”सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दा सडकको मुख्य चोकबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ विजोर नम्बर प्रदान गरिएको छ । मुख्य चोकबाट नाप्न सुरु गरी घरको मूल चोकसम्मको दुरी जति हुन्छ, त्यसकै आधारमा नम्बर वितरण गरिएको अधिकृत उत्तम कार्कीले बताउनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले यो प्रणालीलाई व्यवस्थित गर्न र कार्यान्वयनलाई प्रभावकारी बनाउँदै आउने समस्या समाधान गर्न महानगरपालिकामा छुट्टै भौगोलिक सूचना प्रणाली (जिआइएस) युनिट स्थापना गर्ने जानकारी दिनुभयो ।

महानगरले एक वर्षभित्र सम्पन्न गर्नेगरी कार्ययोजना बनाएर २०७७ पुस २३ गते जियोस्पासियल सिस्टम प्रा लि, नेष्ट प्रालि र इन्डोभेटिभ कन्सर्न प्रालिसँग सम्झौता गरेको थियो । कोरोना महामारीको कारण समयमा काम सम्पन्न हुन नसकेपछि ६/६ महिना गरेर एक वर्षको अवधि थपेको थियो ।

सम्झौता अनुसार २०७९ पुस २२ गते सम्पन्न भएको परियोजनाको उपलब्धि सहितको विवरण जियोस्पासियल सिस्टम प्रालि नेष्ट प्रालि र इन्डोभेटिभ कन्सर्न प्रालिका प्रतिनिधिले आज ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेका हुन् । रासस