४ श्रावण २०८३, सोमबार
,
Latest
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी थोर्गाका कृषक व्यावसायिक लिची उत्पादनमा



अ+ अ-

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले आजभोलि परम्परागत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर मकै लगाउने बारीमा लिचीका बोट लगाउँदै आएका छन् ।

बारीका डिल र छेउछाउका बगैँचामा बोटैभरि राताराता दाना लिची लटरम्म फलेका देखिन्छन् । बोटमा पाकेका राता दानाले सिङ्गो गाउँ नै यतिबेला राताम्य देखिएको छ । कृषकलाई बोटमा भर्‍याङ ठड्याएर पाकेका लिचीका दाना टिप्न भ्याइनभ्याइ छ ।

आजभोलि थोर्गा गाउँमा पुग्ने व्यक्ति बगैँचा वरिपरि घुम्ने, तस्बिर खिच्ने र टिकटक बनाउनमा व्यस्त देखिन्छन् । लिची खेती गर्न थालेपछि आम्दानी मनग्य हुन थालेको र जीविकोपार्जनमा सहज भएको यहाँका किसान बताउँछन् ।

गाउँमा एक घरमा न्यूनतम दशदेखि एक सयसम्म लिचीका बोट रहेको स्थानीय सामाजिक अगुवा घनश्याम ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार यहाँका कृषकलाई जीविकोपार्जनका लागि लिची मुख्य आम्दानीको स्रोत बनेको छ ।

“व्यापारी लिची लिन कृषकको बारीमै पुग्छन् । यहाँको लिची गुलियो र स्वादिलो भएका कारण बजारमा थोर्गा र च्युरेकको लिची भनेपछि उपभोक्ताले पनि खोजी खोजी किन्ने गरेका छन्”, उहाँले भन्न्ुभयो । ज्ञवालीका अनुसार यहाँ उत्पादन गरिएका लिची गुल्मीको सदरमुकाम तम्घासदेखि रिडी, पाल्पा र बुटवलको बजारसम्म पुग्ने गर्दछ । यस क्षेत्रका एक सयभन्दा बढी कृषक व्यावसायिक लिची उत्पादनमा लागेका उहाँले जानकारी दिनुभयो ।

स्थानीय कमल ज्ञवाली, ओम ज्ञवाली, मोतीराज ज्ञवाली, परमानन्द ज्ञवाली, कृष्ण विक, युवराज ज्ञवाली लिचीका व्यावसायिक कृषक हुन् । कृषक कृष्ण विकले लिचीबाट सबैभन्दा बढी आम्दानी गरिरहनुभएको छ । उहाँले वार्षिक रू दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

विगत चार वर्षको तुलनामा यस पटक धेरै लिची फलेको स्थानीय परमानन्द ज्ञवालीले बताउनुभयो । “पछिल्लो समयमा लिचीमा समस्या देखिएको छ । बोटमा पात डल्लो पर्ने, दानाको भेट्नामा किरा लाग्ने, पाक्ने बेला दाना फुट्नेजस्ता समस्या देखिएको छ”, उहाँले भन्नुभयो । बाँदर र अरिङ्गालबाट लिची जोगाउन समस्या भइरहेको स्थानीय राधिका ज्ञवालीले बताउनुभयो ।

गाउँबाट लिची बिक्री वितरण गरी यहाँका किसानले वार्षिक रू एक करोड ५० लाखसम्म कारोबार गरिरहेका कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । व्यावसायिकरुपमा लिची उत्पादनलाई थप व्यवस्थित र आकर्षित गराउन केन्द्रले बगँैचाको व्यवस्थापनमा जोड दिएको उहाँले बताउनुभयो । आगामी वर्षदेखि ज्ञान केन्द्रले अभियानको रुपमा बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भण्डारीले जानकारी दिनुभयो ।

सन् १९९१ मा समाजसेवी स्व पण्डित डिल्लीराम ज्ञवालीले भारतको कलकत्ताबाट बोकेर ल्याएको लिचीको बोट लगाएर च्युरेकमा उहाँले लिची खेतीको सुरुआत गर्नुभएको थियो । उहाँकै प्रेरणाले सुरुमा खानको लागि बोट रोप्दै जाने क्रममा अहिले च्युरेक क्षेत्र सिङ्गो लिची गाउँमा परिणत भएको छ । बगैँचाबाट प्रतिकिलो रू ७० मा लिची बिक्री हुँदै आएको छ । बोटमा लिची हरिया छँदै व्यापारी घरघरमा पुगेर थोक मूल्यमा किनेर राख्ने गरेका किसान बताउँछन् ।

तत्कालीन अवस्थामा जिल्ला कृषि विकास कार्यालय गुल्मीले थोर्गाको च्युरेकमा लिची गाउँ घोषणा गरी लिची महोत्सवसमेत गरेको थियो । कार्यालयका तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत नरहरि शर्मा घिमिरेले पहिलोपटक गाउँमा लटरम्म फलेका लिचीका राता बोट देखेपछि उक्त गाउँलाई लिची गाउँ घोषणा गर्नुभएको थियो ।

कार्यालयले लिची गाउँ घोषणा गरेर व्यावसायिक लिची खेती गर्न सहयोग गरेपछि यहाँका कृषक लिची उत्पादनतर्फ थप आकर्षित बनेका हुन् । हाल जिल्लामा एक सय ७० हेक्टर क्षेत्रफलमा लिची उत्पादन गरिँदै आएकोमा यस वर्ष सात सय २० मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । रासस