७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई बाबुरामको कटाक्ष- बुढीगण्डकीको महत्व नबुझ्नेले विकासको गफ दिनु हास्यास्पद



फाईल फोटो
अ+ अ-

काठमाडौँ । तीन दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी नै स्थापना भइसकेकाले असारभित्रै उद्घाटन गर्ने तयारी गरेको बताएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यसबारे कडा प्रतिक्रिया दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् भट्टराईले बुढीगण्डकी परियोजनालाई हलो काटेर मुंग्रो बनाउन खोजेको टिप्पणी गर्नुभएको छ । ‘बुढीगण्डकी परियोजनालाई हलो काटेर मुंग्रो बनाउनु भनेझैँ यसको बहुआयामिक विकास अवधारणाको हत्या गरेर सामान्य जलविद्युत योजनाको रूपमा खुम्च्याउनु र यसलाई विद्यमान विद्युत प्राधिकरण मातहतको एउटा कम्पनी अन्तर्गत राख्नु ज्यादै आपत्तिजनक छ१ यो त एउटा बाघलाई सुगाको पिंजडामा राख्न खोज्नु जस्तै हास्यास्पद कुरा हो’, उहाँले भन्नुभयाे ।

उहाँले राजनीतिक नेतृत्वले देशको दीर्घकालीन विकास नीति नै नबुझ्नु वा बुझ्न नचाहनु चिन्ताको विषय भएको बताउनुभयो । ‘भौगोलिक विविधता,जटील भूराजनीति र नदीनाला नै सबभन्दा ठूलो सम्पत्ति भएको मुलुकमा नदी-उपत्यकाहरूको एकीकृत विकास गरेर मात्र समग्र देशको सन्तुलित,दिगो र हरित विकास गर्न सकिन्छ भन्ने सत्ताधारीहरूले किन नबुझेकोरुअमेरिकाको टेनेस्सी भ्याली,चीनको थ्री-गोर्जेज परियोजनाहरूले ती देशको अग्रगामी रूपान्तरणमा खेलेको ऐतिहासिक भूमिकाबाट किन सिक्न नचाहेकोरु’, उहाँले भन्नुभयो ।

उहाँले आफू प्रधानमन्त्री हुँदा गठन भएको बुढीगण्डकी विकास समितिले अघि सारेको र आफूले भन्दै आएको अवधारणा अन्तर्गत गुरुयोजना किन नबनाएको भन्दै प्रश्न समेत गर्नुभएको छ ।

‘आफुले नबुझे/नजाने पनि मेरो प्रमकालमा गठन भएको ‘बुढीगण्डकी विकास समिति’ले अघि सारेको र मैले बारम्बार कराउॅदै आएको ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’को अवधारणा र त्यसअन्तर्गत प्रस्तावित एकीकृत विकासको गुरूयोजनालाई किन लत्याएको ? कमसेकम आगामी ५० बर्षसम्म देशको विकासको प्रमुख इञ्जिन हुने काठमाण्डौ-पोखरा-लुम्बिनी-हेटौंडा र वीरगंज चौकोणको बीचमा पानी, विजुली, माछापालन, पर्यटन, पर्यावरण संरक्षणको प्रमुख श्रोत हुने यो जलाशययुक्त परियोजनाको बहुआयामिक महत्व नबुझ्नेले विकास र समृद्धिको गफ दिनु कति हास्यास्पद होला ? बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड भनेको यही हो कि ?’, उहाँले भन्नुभयाे ।

उहाँले सही मोडालिटी बनाएर छिटो कार्यान्वयन गर्ने अझै समय भएको समेत बताउनुभयो । नत्र इतिहासले धिक्कार्ने भन्दै उहाँले आयोजनाको संस्थागत संरचना समेत उल्लेख गर्नुभएको छ ।

केही दिन अघि धादिङको एउटा विद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले असारभित्रै बुढीगण्डकी जलविद्युत् आयोजनाको उद्घाटन गर्ने बताउनुभएको थियो । यसका लागि सरकारले कम्पनी समेत स्थापना गरिसकेको छ । स्थानीयहरुले समय समयमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि प्रधानमन्त्री समक्ष भेट गरी दबाब दिँदै आएका छन् ।