• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी



फाईल फोटो

वीरगञ्ज । मधेस प्रदेशको शतप्रतिशत गाउँबस्तीमा विद्युत् सेवा पुगेको छ । प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको छ ।

विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख ई मुनिन्द्र ठाकुरले अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म मधेस प्रदेशका ९९ प्रतिशत बस्तीमा विद्युत् सेवा पुगेको जानकारी दिनुभयो । “बाँकी रहेको एक प्रतिशत घरमा चालु आर्थिक वर्ष २०७९/८० मा विद्युत पुर्‍याएपछि प्रदेशका शतप्रतिशत बस्तीमा विद्युतीकरण पुगेको छ”, उहाँले भन्नुभयो ।

प्रमुख ठाकुरले केही दिनमा प्रदेशलाई ‘शतप्रतिशत विद्युतीयकरण प्रदेश’घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । प्रदेशका सबै गाउँबस्तीमा विद्युतीकरण सकिएपछि सिँचाइ कार्यक्रममार्फत किसानको खेतबारीसम्म विद्युत् पुर्‍याउने अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।

विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षदेखि रू ५५ करोड बराबरको सिञ्चाइ पूर्वाधार कार्यक्रमका लागि स्थानीय सरकारसँगको सहकार्यमा सिँचाइ विद्युतीकरण सुरु गरेको छ । “उक्त कार्यक्रमअन्तर्गत स्थानीय सरकारले आफ्ना पालिकाभित्रका किसानलाई नि:शुल्क बत्ती दिने र सिँचाइ बत्ती महसुलबापतको रकम स्थानीय तहले प्राधिकरणलाई बुझाइने व्यवस्था गरेको छ”, प्रमुख ठाकुरले भन्नुभयो । हालसम्म सिँचाइ पूर्वाधार कार्यक्रमका लागि धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ८० स्थानीय तहले नि:शुल्क सिँचाइ बत्ती पुर्‍याउन निर्णय गरेर पठाएको उहाँले बताउनुभयो ।

सिँचाइ मिटर प्रयोग गर्ने किसानलाई प्रतियुनिट रू दुईका दरले मात्र महसुल तिराउने नीति लिएर विद्युत् प्राधिकरणले सिँचाइ विद्युतीकरण सुदृढीकरण कार्यक्रमका लागि रू पाँच अर्ब बजेट छुट्याएको जनाएको छ ।

प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम पश्चात् प्राधिकरण सेवा विस्तार प्रणाली सुदृढीकरण भएको र निरन्तर विद्युत् चुहावट घट्दै गएको प्रमुख ठाकुरले जानकारी दिनुभयो ।

मधेस प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०७८/७९ मा १४ दशमलव १७ प्रतिशतमा चुहावट झरेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ ।

सबैभन्दा बढी सर्लाहीको मलङ्गवा र सिमरौनगढ क्षेत्रमा ४१/४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५/३५ प्रतिशत विद्युत् चुहावट हुँदै आएको थियो ।

औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट भने शून्य दशमलव ३२ प्रतिशत रहेको जनाएको छ । चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने दुई हजार ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ ।

मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने २२ हजार छ सय ६३ ग्राहकको विद्युत लाइन काटिँदा १८ हजार आठ सय २९ ग्राहकले पुन:विद्युत् जडान गराएका प्रमुुख ई ठाकुरले बताउनुभयो । उहाँका अनुसार पुन:विद्युत् जडानबाट रू एक अर्ब ४३ लाख ४३ हजार एक सय १५ बक्यौता असुली भएको छ ।

विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन कट्टा गर्ने अभियान चलाएको प्रमुुख ई ठाकुरको भनाइ छ । चालु आर्थिक वर्ष २०७९र८० को हालसम्म मधेस प्रदेशमा रू १४ अर्ब ३३ करोड मूल्य बराबरको विद्युत् बिक्री हुँदा रू १२ अर्ब ९३ करोड महसुल सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

“मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० मा ६१ हजार सात सय ६३ नयाँ ग्राहक थपिएका छन् । योसँगै प्रदेशमा ग्राहकको सङ्ख्या दश लाख ४४ हजार सात सय ८६ रहेका छन्”, प्रमुख ठाकुरले भन्नुभयो । विसं २०७८ देखि अनलाइनबाट विद्युत् महसुल बुझाउनका लागि अनलाइन सेवा सुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कुल ग्राहकमध्ये हाल २६ प्रतिशतले अनलाइन सेवामार्फत विद्युत महसुल तिर्दै आएका छन् । रासस