८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी

किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल

किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल
अ+ अ-

ढोरपाटन । वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो ।

त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन् । लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

अघिल्ला वर्षहरुमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन सुरु गर्थे । वर्षा नहुँदा खोलानालासमेत सुकेका छन् । खोलानाला सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र कुटाउने बेलाका मकै जोगाउन हम्मेहम्मे परेको छ ।

जेठ अन्तिम सातदेखि रोपाइँ गर्ने किसान यति बेला आकाश हेर्दै बस्न बाध्य छन् । कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवासमेत सुकेर मर्न थालेका हुन् । असार सुरु हुँदासमेत पानी नपर्दा धानको बीउ, मकै तथा अन्य तरकारीसमेत सुक्न थालेको कृषकको गुनासो छ । गएका वर्षहरुमा यति बेला धेरै ६० प्रतिशतको हाराहारीमा रोपाइँ हुने गरेकोमा यस वर्ष करिब २० प्रतिशत मात्रै रोपाइँ भएको बडिगाडका कृषक प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । लामो खडेरीका कारण धानसँगै मकै र कोदोको बीउसमेत सुकेको उहाँको भनाइ छ ।

क्षेत्री भन्नुहुन्छ, ‘जेठको २०/२२ मै रोपाइँ गर्ने भनेर बैशाख महिनामै ब्याड राखियो, अहिले धानको बीउ हुर्किएर ठूलो–ठूलो भएका छन्, पानी पर्दैन, अब कसरी रोपाइँ गर्ने, ब्याड राख्ने बेलामा त बर्खा लागेजस्तै लगातार हप्ता दिन पानी प¥यो, यसपालि छिट्टै रोपाइँ गर्न पाइने भयो भन्ने लागेको थियो, अहिले धेरै दिन भयो पानी परेको छैन, बारीमा एकोहोराउने बेलाका मकै मर्न थाले, कोदोको बीउ पनि त्यस्तै भएको छ, बढो समस्या प¥यो, बीउ जोगाउनै गाह्रो भयो ।’

स्थानीय कृषक तुलबहादुर जिसीले पहिले असार महिना सुरु हुनुपूर्वनै ढपक्क बर्खा लाग्ने हुँदा किसानलाई खेतीपाती गर्न सहज हुने गरेको भन्दै अहिले खडेरीले गर्दा आफूहरु समस्यामा परेको बताउनुभयो । खेतमा लगाएको गहुँ स्यारेलगत्तै खनजोत गरेर धान रोप्नका लागि तयार हुने गरेको भन्दै अहिले पानी नपर्दा खेत बाँझोसमेत मार्न नपाएको गुनासो पोख्नुभयो । पानी नपर्दा ठाडो खोला सुकेको हुँदा सिँचाइ गर्न नपाएको उहाँको भनाइ छ ।

‘पहिले–पहिले यस्तो समस्या त हुँदैनथ्यो, जेठको पहिलो÷दोस्रो सातादेखि बर्खा लाग्थ्यो, अहिले असार लागि सक्दा पनि बर्खाको अनुभूति हुन सकेको छैन, जताजतै सुक्खैसुक्खा छ, पानी परेर मकै छरियो, ब्याड राखियो, अहिले सुकेर भुसाजस्तो भन्न थाले’, जिसीले भन्नुभयो, ‘एक झर्का ठूलो पानी परेत मकै पानी राम्रो हुन्थ्यो, खेतमा रोपाइँ गर्न पनि सहज हुन्थ्यो, अब लगातार हप्ता दिनसम्म ठूलो पानी परेन भने रोपाइँ गर्न सम्भव छैन, खोलानाला बढे भने मात्रै रोपाइँ गर्न सकिला, अहिले गाउँका खोलामा कमिला हिँड्छन्, पानी छैन ।’

अर्का किसान निलमाया विकले वैशाख पहिलो हप्ता झरेको मकै जेठ दोस्रो साता कुटाएको भन्दै त्यसयता पानी नपर्दा बारीमा लगाएको सबै मकैको बिरुवा सुकेर नष्ट हुन थालेको बताउनुभयो । मकैसँगै लगाएको कोदोको बीउ पनि कामै नलाग्ने गरी सुकेको विकले बताउनुभयो । घर नजिक छेउमा रहेको बारीमा खानेपानीको पाइपबाट पानी लगाएर केही मकै र कोदोको बीउ हुर्काउन सफल भएको उहाँ बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले हालसम्म जिल्लाभर १२ प्रतिशत मात्रै रोपाइँ भएको बताउनुभयो । लामो समय खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार यति बेलासम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सकिनुपर्ने थियो । बैसाखको वर्षाले कृषक उत्साहित भएर धेरै बीउ उत्पादन गरेको हुँदा रोपाइँ क्षेत्रफल बढ्न सम्भावना बढेको प्रमुख भट्टराईले बताउनुभयो ।

‘गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो, अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ हुन्छ भन्ने लागेको थियो, खडेरीले गर्दा केही समस्या परेको छ’, प्रमुख भट्टराईले भन्नुभयो, ‘अब वर्षा भयो भने पनि किसानले धेरै नोक्सानी ब्यहोर्नुपर्ने थिएन, जिल्लामा अझै ७५ प्रतिशत रोपाइँ गर्न बाँकी छ ।’

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमवलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाझिँदै गएका छन् । गाउँमा प्रसस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नुपरेको कृषकको गुनासो छ ।