• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छ: प्रधानमन्त्री दाहाल



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक रुपान्तरणका लागि नयाँ सोच जरुरी रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाका निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।”

उहाँले हरदम आफ्नो विचार, सोच र शैलीलाई सृजनात्मक ढङ्गले विकास गर्ने व्यक्तित्वलाई आफूले सधँै उच्च मूल्याङ्कन गर्ने गरेको बताउनुभयो । “मानव समाजको विकास पनि नवीन सोचको खोजीका क्रममा भएको हो । मानव र अरू प्राणीबीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित छ”, प्रधानमन्त्रीले भन्नुभयो, “अहिले २१औँ शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचहरुलाई अझ नवीन र तीव्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनु पर्दछ । मलाई विश्वास छ, तपाइँहरुले यो प्रतिभा डबली कार्यक्रमबाट यस्तो सृजनात्मक नवीन सोचलाई प्रोत्साहन गर्न आ–आफ्नो ठाउँबाट चिन्तनमनन गरिराख्नुभएको छ ।”

वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमीक्षा गर्ने विधि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि आफैँभित्र सबैभन्दा पहिला सुशासन सुरुआत गर्नुपर्दछ ।”

प्रधानमन्त्री दाहालले नेपालमा कर्मचारीभित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम कर्मचारीतन्त्र रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थायी सरकारका रुपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रुपले प्रभाव पार्ने बताउनुभयो ।

कर्मचारीतन्त्र भित्रबाट पनि नवीन सोचका साथ सृजनात्मक ढङ्गले आफ्नो काम अझ प्रभावकारी तवरले गर्दै परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले जुनसुकै क्षेत्रको पनि विकास र प्रगति सही विचारबाट नै हुने भएकाले त्यसमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कार्यक्रमको उपादेयताका बारेमा जानकारी गराउँदै यसलाई निरन्तर अगाडि बढाउनुपर्ने बताउनुभयो । रासस