काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली जिम्बावेले विजयी सुरुवात गरेको छ । हरारे स्पोर्टस क्लबको मैदानमा भर्खरै सम्पन्न खेलमा जिम्बावेले नेपाललाई ८ विकेटले पराजित गरेको हो ।
जिम्बावेका लागि कप्तान क्रेग एर्विन र सिन विलियम्सले शतकीय इनिङ्स खेले । एर्विन १२१ रन र विलियम्स १०२ रनमा अविजित रहे । एर्विनले १५ चौका र १ छक्का तथा विलियम्सले १३ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, जोएलर्ड गुम्बीले २९ बलमा २५ रन जोड्दा वेस्ले माधेवेरेले ३८ बलमा ३२ रन जोडे । नेपालका लागि सोमपाल कामी र गुलशन झाले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनायो ।
ओपनर ब्याटरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकटका लागि ३१ दशमलव ५ ओभरमा १७१ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि गत फेब्रुअरीमा नामिबियाविरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र आसिफ शेखले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।
कुशलले सर्वाधिक १३ चौका र २ छक्काको मद्दतमा ९९ रन बनाए भने आसिफले ६६ रन बनाए । यसैगरी कुशल मल्लले ४१ रन जोडे भने आरिफ शेखले १० रन र गुल्सन झाले १३ बनाए । दीपेन्द्र सिंह ऐरीले ६ रन र करण केसी २ रनमा अविजित रहे ।
बलिङतर्फ जिम्बावेका रिचार्ड नगर्भाले चार विकेट लिए भने विलिङ्टन मासाकाट्जाले दुई विकेट झारे । त्यस्तै ब्लेसिङ् मुजवानी र टेन्डाई चताराले समान एक/एक विकेट लिए । नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग ओडीआई खेल खेलेको हो ।