२१ मंसिर २०८२, आईतवार
,
Latest
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार लाग्यो, भक्तपुरमा सुरु भयो रोपाइँ



अ+ अ-

भक्तपुर। यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।

गत जेठ ३२ गतेदेखि परेको ठूलो वर्षका कारण खेतमा पानी भरिएपछि किसानलाई यतिखेर धान रोप्ने चटारो परेको छ । जेठ महिनामा वर्षा नभएर धानको बीउ ब्याडमै मरेको र डढेपछि धानको बीउको अभाव भने भएको किसानको भनाइ छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलका किसान सानुकाजी कार्कीले घामले धानको बीउ डढेर कम भए पनि रोपाई भने नरोकिएको बताउनुभयो । उहाँले ब्याडमा रहेका छोटा बीउसमेत रोपेर धान रोपाइँलाई किसानले तीव्रता दिएको बताउनुभयो ।

धानखेतीका लागि नभई नहुने रासायनिक मलकोसमेत किसानले अभाव खेपिरहनुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेर खेतका गरा भरिएपछि किसानलाई धान रोपाइको चटारो परेको छ, यतिखेर रासायनिक मल भने आवश्यकताअनुसार पाइएको छैन, धानको बीउको अभाव रहे पनि धान रोपाइँको चटारो चलेको बताउनुभयो ।

चाँगुनारायण नगरपालिका–४ छालिङमा खेतमा रोपाइँ गरिरहेका भक्तपुर नगरपालिकाका किसान कल्पना वासीले खेतका आली भरिएपछि रोपाइँमा किसान व्यस्त भएको बताउनुभयो । उहाँले धान रोपाइँमा आवश्यकपर्ने मल मात्र नभई जनशक्ति पनि कम भएको उहाँले बताउनुभयो ।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष जेठ अन्तिममा पर्याप्त पानी परेपछि असार १५ सम्ममा भक्तपुरका सबै क्षेत्रमा रोपाइँ सम्पन्न हुने अवस्था रहेको चाँगुनारायण नगरपालिका–९ का किसान सानुभाई गिरीले बताउनुहुन्छ ।

कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यस वर्ष आकाशे पानीले नै असार सुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन् । उहाँले धान रोपाइँमा आवश्यक पुरुष र महिला जनशक्ति कम भएपछि समस्या आएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका–८ नँखेलका किसान सम्पूर्ण थापाले खेतमा काम गर्ने ज्यामी नपाइँदा समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो, “खेतमा हाल्ने मल पर्याप्त छैन, काम गर्ने जनशक्ति छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नै प¥यो ।”

खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ ।

धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने बताउनु हुन्छ, कृषि प्राविधिक हरिकृष्ण नेपाल । उहाँले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको बताउँदै सरकारले धान रोप्न तथा हिलो सम्याउने प्रबिधि सहुलियतमा ल्याउनसके किसानलई सहज हुने र समयमै धान रोप्न सहज हुने बताउनुभयो ।

भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेका किसान धनकुमारी श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो धान रोपाइँ गरिएको बताउनुभयो । धान रोपाइँ छिटो भएपछि किसान भने खुसीमा रहेका छन् । रासस