काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपक कार्की कायममुकायम प्रधानन्यायाधीश बन्ने हुनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि उहाँ वरिष्ठतम् न्यायाधीशको हैसियतमा कायममुकायम प्रधानन्यायाधीश नियुक्त हुनलाग्नुभएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सत्तारुढ गठबन्धनले महाअभियोग प्रस्ताव दर्ता गराएको हो । गठबन्धनले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय‚ विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र निष्पक्ष र जिम्मेवार न्यायलयको जगेर्ना गर्न वर्तमान प्रधानन्यायाधीश अक्षम रहेको आरोप लगाएको छ। सर्वोच्च अदालत र न्यायालयभित्रै प्रधानन्यायाधीश जबराको कार्यकालमा विकृति विसङ्गति र भ्रष्टाचार बढेको तथा विचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाइएको छ ।
यसअघि विगतमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् मा महाअभियोगको प्रस्ताव दर्ता भएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो । त्यसपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशको हैसियतले गोपाल पराजुली कायममुकायम प्रधानन्यायाधीश नियुक्त हुनुभएको थियो ।