• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

मुग्लिन-मलेखु सडकखण्ड स्तरोन्नति



भरतपुर । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो ।

उनान्चालीस किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । पहिलो चरणमा पाँच किलोमिटरमा काम भइरहेको छ ।

चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने चारदेखि छ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिनुभयो । बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोलसमेत निर्माण गरिने छ ।

यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै सुरु भइसकेको छ । मलेखुसम्म छ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् । खटौटीमा पुल निर्माण अघि बढेको छ । यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन् ।

आयोजनाको यो खण्ड रु चार अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन् । ‘यो सडकखण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौँ’, उहाँले भन्नुभयो, ‘पहाड काट्दा सधैँ पहिराले दुःख दिने सम्भावना हुन्छ ।’ सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग भएका कारण पनि यसलाई निर्धारित समयमै सम्पन्न गर्नका लागि आयोजनाले तीव्रगतिमा काम अघि बढाएको छ । विश्व बैंकको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो । यसका लागि सरकार र विश्व बैंकबीच सन् २०२० मा सम्झौता भएको थियो । नागढुंगा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ ।